News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले आगामी आयरल्यान्ड र इंग्ल्यान्ड भ्रमणका लागि श्रेयस अय्यरलाई टी–२० टोलीको नयाँ कप्तान बनाउने तयारी गरेको छ ।
- आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी पहिलो पटक भारतीय राष्ट्रिय टोलीमा छनोट हुने चर्चा चलेको छ ।
- विश्वकप विजेता कप्तान सूर्यकुमार यादव टोलीबाट बाहिरिन सक्ने र भारतले जुन २६ देखि आयरल्यान्डसँग टी–२० शृंखला खेल्ने जनाइएको छ ।
२२ जेठ, काठमाडौं । भारतले आगामी आयरल्यान्ड र इंग्ल्यान्ड भ्रमणका लागि टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी परिवर्तन गर्ने तयारी गरेको छ ।
भारतीय समाचार संस्था क्रिकइन्फोका अनुसार श्रेयस अय्यर टी–२०आई टोलीको नयाँ कप्तान बन्ने सम्भावना छ भने १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सक्ने चर्चा छ ।
भारतले सन् २०२८ को लस एन्जलस ओलम्पिक्स र अस्ट्रेलिया–न्युजिल्यान्डमा हुने २०२८ को टी–२० विश्वकपलाई लक्षित गर्दै टोली निर्माणको प्रक्रिया अघि बढाएको हो । टी–२० विश्वकप २०२६ जितेपछि भारतको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय शृंखला हुनेछ ।
विश्वकप उपाधि जिताएका कप्तान सूर्यकुमार यादव भने टोलीबाटै बाहिरिन सक्ने सम्भावना देखिएको छ । ३५ वर्षीय सूर्यकुमारले विश्वकपमा ९ इनिङ्समा २४२ रन बनाएका थिए भने आईपीएल २०२६ मा १३ खेलबाट २७० रन मात्र जोड्न सकेका थिए ।
यता अय्यरले पछिल्ला वर्षहरूमा कप्तान र ब्याटर दुवै भूमिकामा प्रभावशाली प्रदर्शन गरेका छन् । उनले २०२४ मा कोलकाता नाइट राइडर्सलाई आईपीएलको उपाधि दिलाएका थिए भने दिल्ली क्यापिटल्स र पन्जाब किङ्सलाई पनि फाइनलसम्म पुर्याएका थिए ।
सन् २०२५ को आईपीएलमा पन्जाबमा अनुबन्ध भएर कप्तान चुनिएका श्रेयसले उक्त सिजनमै टोलीलाई फाइनलमा पुर्याएका थिए । यस सिजन भने सुरुवाती ७ खेलमा अपराजित रहेपनि प्लेअफ भने पुग्न सकेन । उनले आईपीएल २०२५ मा ६०४ रन बनाएका थिए भने आईपीएल २०२६ मा १६९ नजिकको स्ट्राइकरेटमा ४९८ रन जोडेका थिए ।
यद्यपी सबैभन्दा बढी चर्चा १५ वर्षीय सूर्यवंशीको सम्भावित चयनलाई लिएर भइरहेको छ । उनले आईपीएल २०२६ मा २३७.३० को विस्फोटक स्ट्राइकरेटमा ७७६ रन बनाएर सनसनी मच्चाएका थिए । टोलीमा परेमा उनी सचिन तेन्दुलकरपछि भारतको पुरुष राष्ट्रिय टोलीमा छनोट हुने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन् ।
राष्ट्रिय टोलीमा सामेल हुनुअघि सूर्यवंशीले श्रीलंकामा हुने त्रिकोणात्मक शृंखलामा भारत ‘ए’ टोलीबाट खेल्ने कार्यक्रम छ, जहाँ अफगानिस्तान पनि सहभागी हुनेछ ।
भारतले जुन २६ र २८ मा बेलफास्टमा आयरल्यान्डसँग दुई टी–२० खेल खेल्नेछ। त्यसपछि जुलाई १ देखि ११ सम्म इंग्ल्यान्ड विरुद्ध पाँच खेलको टी–२० शृंखला खेल्ने तालिका छ ।
प्रतिक्रिया 4