+
+
Shares

रोमानिया सपना : उद्धव पाठकको ठगी धन्दाले बोकाएको ऋण

पाठक रोमानिया बसेर नेपालमा ठगी धन्दा चलाउँथे । उनकी श्रीमती लेखामाया पाण्डेसमेत रोमानियामै लुकेर बसेकी छिन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ जेठ २२ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले मोरङका उद्धव पाठक र लेखापाल अभि भण्डारीलाई पक्राउ गरेको छ ।
  • पाठकविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवामा हालसम्म १५० जना पीडितले ३ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी भएको दाबीसहित निवेदन दिएका छन् ।
  • आरोपी पाठकले रोमानियामा बसेर नेपालमा ठगी धन्दा चलाएको र नेपाल फर्किएपछि उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

२२ जेठ, विराटनगर । झापा कमल गाउँपालिका–१ का पवन कार्कीको सपना थियो, रोमानिया पुगेर पैसा कमाउने र परिवारको आर्थिक अवस्था सुधार्ने । त्यसका लागि उनले साढे ७ लाख रुपैयाँ ऋण खोजेर एजेन्टलाई बुझाए ।

२१ फागुनमा देशमा आमचुनाव थियो, पवन भने रोमानिया जानका लागि दिल्ली पुगे । तर विमानस्थलमा पुगेपछि थाहा पाए, आफ्नो हातमा भएको हवाई टिकट नै नक्कली रहेछ ।

पवन मात्र होइन, मोरङका जीवन लिम्बू र झापाका उमेश खत्रीले पनि उस्तै नियति भोगे ।

‘विदेश जान भनेर महिना दिनअघि सबैलाई बिदाइ गरेर हिँडेको मान्छे, विमानस्थलबाटै फर्किनु पर्‍यो,’ इलाका प्रहरी कार्यालय सिजुवामा भेटिएका पवनले मलिन मुद्रामा भने, ‘घरमा लगेज जस्ताको तस्तै छ, ऋणको भारी थपियो ।’

आमा रुक्मिणीसँगै प्रहरी कार्यालय पुगेका उनलाई उद्धव पाठकले ठगी गरेका हुन् । ‘मैले त भिसा र टिकट आएपछि ७ लाख ६० हजार रुपैयाँ बुझाएको छु,’ उनले भने, ‘घर फर्किएपछि एजेन्ट सम्पर्कमै आउन मानेनन्, पैसा फिर्ता पनि दिएनन् ।’ पवनलाई अहिले विदेश जान लिएको ऋण कसरी तिर्ने भन्ने समस्या छ ।

०००

रतुवामाई नगरपालिका-८ का दिलिप खड्का रोमानिया पुगेको ४ वर्ष भयो । उनलाई उद्धवले नै रोमानिया पठाएका थिए । रोमानिया पुगेपछि विदेश आउने साथीलाई दिलिपले उद्धवसँग जोडिदिए । उद्धवले रोमानिया लैजाने भन्दै पैसा उठाउँदा दिलिप साक्षी बसे । उद्धवले उनका साथीलाई विदेश उडाएनन् । तर उद्धवलाई साथीले बुझाएको पैसा दिलिपले नै फिर्ता गर्नु पर्‍यो ।

दिलिपले उद्धवबाट ३३ लाख १९ हजार रुपैयाँ ठगिएको बैंक भौचरसहित आमा विष्णुमायामार्फत निवेदन दिएका छन् । ‘विदेश गएदेखि छोराले पैसा पठाएन, माखो मुन्द्रा बेचेर ऋण तिरें,’ विष्णुमायाले भनिन्, ‘बुझ्दै जाँदा छोरालाई उद्धवले फसाएको रहेछ ।’

०००

उर्लाबारी-८ का आशिष कार्कीसँग पनि उद्धवले रोमानिया पठाउने भन्दै चार वर्षअघि २ लाख रुपैयाँ लिएका थिए । तर उनी न रोमानिया जान पाए, न त चार वर्षमा आफ्नो पैसा फिर्ता नै पाए । म्यानपावर कम्पनीबाट ठगिएको थाहा पाएपछि उनी पनि पैसा फिर्ताको निवेदनसहित सरकारी निकाय धाइरहेका छन् ।

पवन, दिलिप र आशिषलाई कुनै एउटा व्यक्तिले गरेको सानो ठगी होइन, मोरङको रतुवामाई नगरपालिका–८ का ३७ वर्षीय उद्धव पाठकले चलाएको ‘ठगी साम्राज्य’को हिस्सा हुन् । पाठकले विदेश लैजाने भन्दै सयौंलाई ठगी गरेका छन् ।

मोरङको रतुवामाई नगरपालिका–८ दाम्राभिट्टामा के एस ए नामक म्यानपावर सञ्चालन गर्ने पाठकले ४०० बढीलाई ठगी गरेका छन् । आकर्षक रोजगारीको आशमा ठगिएका युवाहरू सबै अति सामान्य र सामान्य परिवारका छन् । विदेश जान नपाएपछि उनीहरू अहिले ऋणको भारमा परेका छन् ।

इलाका प्रहरी कार्यालय सिजुवाका अनुसार बिहीबारसम्म १५० जनाले निवेदन दिएका छन् । प्रहरीले पाठक र सोही म्यानपावरका लेखापाल २५ वर्षीय अभि भण्डारी पक्राउ परेपछि पीडितले निवेदन दिएका हुन् । यो निवेदनमा ३ करोड ५० लाखभन्दा बढी ठगिएको दाबी छ । निवेदनमा दलालको व्यक्तिगत खातामा रकम जम्मा गरेको भौचर पेस गरिएको छ । नगद दिएकाहरू भने समस्यामा छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पाठकविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनका अनुसार म्यानपावरको लेनदेन व्यक्तिको खातामा भएको देखिन्छ । नगद कारोबार पनि भएको देखिएको बताउँदै उनले पीडितले न्याय पाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

रोमानिया बसेर नेपालमा ठगी धन्दा

प्रहरीका अनुसार पाठकबाट ठगी ठगिएको गुनासो पहिलेदेखि नै आए पनि नेपालमा नभएकाले उनी पक्राउ परेका थिएनन् । रोमानिया बसेर उनले नेपालमा ठगी धन्दा चलाएका थिए ।

आकर्षक रोजगारी दिने भन्दै उनले रोमानिया पुर्‍याएकाहरू पनि ठगिएका छन् । उनले रोमानियालाई नै आफ्नो मुख्य अखडा बनाएका थिए । त्यहाँ उनले ‘नेपाली होस्टल’ खोलेका छन्, जहाँ नेपालबाट लगेका युवाहरूलाई चर्को शुल्क लिएर राख्ने गर्थे ।

रोमानियामा पनि ठगी धन्दा चलाउँदै आएका उनी एक महिनाअघि भागेर नेपाल आए । नेपालबाट लैजाँदा भने अनुसारको काम र पारिश्रमिक नपाएको भन्दै रोमानिया पुगेकाहरू आक्रोशित भएपछि पाठक भागेर नेपाल आएका हुन् ।

उनकी श्रीमती लेखामाया पाण्डे रोमानियामै लुकेर बसेकी छिन् । नेपालमा आएर लुकिछिपी बसेको अवस्थामा सोमबार पीडितले उनलाई घेरेका थिए । पीडितकै सूचनाका आधारमा प्रहरीले पाठक र उनका कर्मचारी सुवेदीलाई पक्राउ गरेको थियो ।

पाठकसँग निकटस्थहरूका अनुसार एक दशकअघि रोमानिया पुगेका उनले श्रीमती लेखामायासँग मिलेर ठगी धन्दा चलाएका थिए । रोमानियाबाट उनले कमिसन दिने भन्दै नेपालमा एजेन्ट खटाए ।

सामान्य परिवारका पाठकको रोमानियामा जीवनशैली निकै विलासी थियो । ‘इजी मनी कमाएर होला उद्धव दैनिक क्यासिनो जान्थे, खर्चको सीमा थिएन,’ रोमानियामा पाठकबारे जानकार एक युवकले भने, ‘धेरै पैसा उसले क्यासिनो र रक्सीमा उडाएको छ ।’

रोमानियामा उनले रतुवामाईबाट धेरै युवाहरू लगेका छन् । रोमानियामा मिनी रतुवामाइ बनाएको उनले बताउने गरेका थिए ।

प्रहरी हिरासतमा रहेका पाठकले उठाएको पैसा सम्पत्ति बेचेर तिर्ने बताउँदै आएका छन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा, उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र काठमाडौंमा उजुरी परेको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?