+
+
Shares

अस्ट्रेलियालाई पछि पार्दै इटाली बन्यो नेपाली अचारको ठूलो बजार

निर्यात १७४ प्रतिशत वृद्धि

यस वर्ष नेपाली अचार बजारमा ठूलो फेरबदल देखिएको छ । मूल्यका आधारमा इटाली नेपाली अचारको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट १९ करोड ६४ लाख ४५ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ ।
  • नेपाली अचारको निर्यात मूल्यका आधारमा इटाली र परिमाणका आधारमा बेलायत सबैभन्दा ठूलो खरिदकर्ता बनेका छन् ।
  • नेपालले यस वर्ष मरिसस र भारतजस्ता नयाँ बजारमा समेत अचार निर्यात गर्न सफल भएको छ ।

२२ जेठ, काठमाडौं । नेपाली जिब्रोको मौलिक स्वाद ‘अचार’ निर्यातमा यस वर्ष अप्रत्याशित वृद्धि भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउनदेखि वैशाखसम्म) नेपालबाट हुने अचार निर्यातमा गत वर्ष सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको हो ।

चालु आव साउनदेखि वैशाखसम्म नेपालले कुल ३ लाख ९० हजार ५ सय ८४ किलो (३ सय ९० टन) अचार निर्यात गरी १९ करोड ६४ लाख ४५ हजार रुपैयाँ बराबर वैदेशिक मुद्रा आर्जन गरेको छ ।

गत आव सोही अवधिमा नेपालबाट जम्मा १ लाख ४२ हजार ३ सय २९ किलो (१ सय ४२ टन) अचार निर्यात भएको थियो, जसको कुल मूल्य १२ करोड ५९ लाख ३१ हजार रुपैयाँ थियो ।

यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष अचार निर्यात परिमाण २ लाख ४८ हजार २ सय ५५ किलो (२ सय ४८ टन) ले बढेको छ भने आम्दानीमा पनि ७ करोड ५ लाख १४ हजार रुपैयाँ वृद्धि भएको छ ।

गत वर्षको तुलनामा कुल निर्यात परिमाणमा १७४.४२ प्रतिशतको वृद्धि भएको तथ्यांकले देखाउँछ ।

यस वर्ष नेपाली अचार बजारमा ठूलो फेरबदल देखिएको छ । मूल्यका आधारमा इटाली नेपाली अचारको सबैभन्दा ठूलो खरिदकर्ता बनेको छ ।

चालु आव १० महिनामा इटालीतर्फ ३ करोड ७३ लाख ८७ हजार रुपैयाँ बराबरको ५७ हजार २ सय ६७ किलो (५७ टन) अचार निर्यात भएको छ, जबकि गत वर्ष इटालीमा १ करोड ८३ लाख ८९ हजार रुपैयाँको १७ हजार १ सय ७५ किलो (१७ टन) मात्र अचार गएको थियो ।

इटालीमा मात्रै अचार निर्यात परिमाण गत वर्षको तुलनामा २३३.४३ प्रतिशतले बढेको देखिन्छ ।

परिमाणका आधारमा भने यस वर्ष बेलायतले सबैलाई उछिनेको छ । बेलायतमा यस वर्ष ९५ हजार १ सय ११ किलो (९५ टन) अचार निर्यात भएको छ, जसको मूल्य ३ करोड २८ लाख ४३ हजार रुपैयाँ रहेको छ । गत वर्ष बेलायतमा जम्मा ८ हजार ४ सय ९९ किलो (८ टन) अचार निर्यात भएको थियो ।

अघिल्लो वर्ष नेपाली अचारको सबैभन्दा ठूलो बजार रहेको अस्ट्रेलियामा यस वर्ष पनि निर्यात अवस्था बलियो नै देखिएको छ । यस वर्ष अस्ट्रेलियामा ३ करोड ५० लाख २३ हजार रुपैयाँको ७३ हजार ४ किलो (७३ टन) अचार निर्यात भएको छ ।

गत वर्ष सोही अवधिमा अस्ट्रेलियामा ३ करोड ४४ लाख ९२ हजार रुपैयाँको ४१ हजार ४ सय ९७ किलो (४१ टन) अचार गएको थियो ।

यस्तै, क्यानडा र जापानमा पनि यस वर्ष निर्यातमा उल्लेख्य सुधार आएको छ । क्यानडामा यस वर्ष ३ करोड २६ लाख ५९ हजार रुपैयाँको ७१ हजार ५ सय ६२ किलो (७१ टन) अचार निर्यात भएको छ, जुन गत वर्ष ४० लाख ८८ हजार रुपैयाँमा खुम्चिएको थियो ।

जापानतर्फ पनि गत वर्ष ६९ लाख ४६ हजारको निर्यात भएकोमा यस वर्ष बढेर २ करोड ९७ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

तथ्यांकले दक्षिण कोरिया र अमेरिका जस्ता देशमा भने निर्यात केही घटेको देखाएको छ । दक्षिण कोरियामा यस वर्ष १ करोड २५ लाख ३६ हजार रुपैयाँको अचार निर्यात भएको छ, जबकि गत वर्ष त्यहाँ १ करोड ५८ लाख ६७ हजार रुपैयाँको अचार गएको थियो ।

अमेरिकातर्फको निर्यातमा पनि गिरावट आएको छ । गत वर्ष २ करोड २६ लाख ८ हजार रुपैयाँको निर्यात भएकोमा यस वर्ष जम्मा ८४ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यसैगरी बेल्जियममा पनि गत वर्ष १ करोड ३ लाख ५२ हजारको निर्यात भएकोमा यस वर्ष ५५ लाख ९३ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।

यस वर्ष नेपालले मरिसस र भारतजस्ता नयाँ बजारमा पनि अचार पुर्‍याउन सफल भएको छ । मरिससमा पहिलो पटक १४ लाख २२ हजार रुपैयाँको १ हजार ८ सय ३८ किलो अचार निर्यात भएको छ भने छिमेकी भारतमा १० किलो अचार नमुनाका रूपमा पठाइएको छ ।

यसैगरी डेनमार्कमा ४ लाख ८८ हजार र मलेसियामा ३ लाख ५५ हजार रुपैयाँको अचार निर्यात भएको छ, जुन गत वर्षको तुलनामा केही कम हो ।

समग्रमा केही देशमा निर्यात घटे पनि युरोपेली र उत्तर अमेरिकी देशहरूमा नेपाली अचार व्यापारले नयाँ उचाइ लिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?