+
+
Shares

जुम्ली मार्सीको रोपाइँमा व्यस्त छन् किसान

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते २१:०९

२२ जेठ, जुम्ला । यहाँका किसान यो यामका लागि कालिमार्सी धान रोपाइँमा व्यस्त हुन थालेका छन् । यहाँका आठ वटै स्थानीय तहका किसानलाई यतिबेला मार्सी धान रोपाइँ गर्न भ्याइनभ्याइ छ।

चन्दननाथ नगरपालिकाकी लक्ष्मी कुमाइँले बजारमा माग अत्यधिक बढेकाले मार्सीधान खेतीमा आकर्षण बढेको बताइन् ।

मार्सीधान जुम्लामा मात्र उत्पादन हुन्छ । विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातोमार्सी धानको रोपाइँ सकिएको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

जिल्लाका प्रसिद्ध चन्दननाथ, भैरवनाथ मन्दिरका नाममा रहेका शेरा ज्युलोमा मार्सी रोपाइँ सम्पन्न भएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लामा दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर क्षेत्रफलमा जुम्ली मार्सी उत्पादन हुने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले बताए ।

गत वर्षको कात्तिकदेखि फागुन मसान्तसम्ममा जिल्ला बाहिर करिब १७५ मेट्रिक टन जुम्ली मार्सीधानको चामल बिक्री गरी तीन करोड ५० लाख रुपैयाँ आम्दानी भएको उनले बताए ।

परम्परागत रूपमा खेती गरिँदै आइएको जुम्ली मार्सीधान उत्पादनमा प्रविधिको उपयोगिता बढाउनसके उपलब्धिमूलक हुने प्रमुख अधिकारीले विश्वास व्यक्त गरे ।

पछिल्लो समय कृषि अनुसन्धान केन्द्रले जुम्ली मार्सीमा अनुसन्धान पनि गरिरहेको छ । केन्द्रले चन्दननाथ–१ र ३ जातको धान लगाउन किसानलाई सिफारिस गरेको छ ।

यसबाहेक अनुसन्धानबाटै मार्सी–१८, २० र २२ जातका धान सिफारिस गर्ने तयारी भइरहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?