News Summary
Generated by OK AI. Editorially reviewed.- टान गण्डकीले लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ३ श्रीमञ्ज्याङ लामागाउँमा ७६औं अन्नपूर्ण आरोहण दिवस मनाएको छ ।
- सो अवसरमा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले पर्वतारोही पूर्णिमा श्रेष्ठ, नरेन्द्र शाही र मानराज गुरूङलाई सम्मान गर्नुभयो ।
- कार्यक्रममा जलवायु परिवर्तनका असरबारे चिन्ता व्यक्त गर्दै दोर्दी पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाइयो ।
२३ जेठ, पोखरा । लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ३ को श्रीमञ्ज्याङ लामागाउँ । अन्नपूर्ण फेरोसँगै जोडिएको गुरुङहरुको बाहुल्य भएको मौलिक गाउँ । तस्करै मिलेर बनेका घर । ढुंगा छापेर चिरिच्याट्ट परेका आँगन । ढुंगै छापेर बनाइएको गोरेटो, उसैगरी ढुंगा चिरेर बनाइएका पर्खालहरु ।
गोरेटैभरि फर्फराइरहेका बौद्ध धर्मावलम्बीहरुले विशेष महत्वका साथ प्रयोग गर्ने फेता । मुख्य ४ वटा टोलमा बाँडिएर बसेको यो गाउँमा बुधबार र बिहीबार दिउँसोसम्मै छुट्टै उत्सव थियो ।
गाउँभरिका मानिस बिहीबार दिउँसैदेखि समाजघरमा जम्मा भएका थिए । उनीहरु पाहुना पर्खिँदै उनीहरुको स्वागतमा विभिन्न परिकार बनाइरहेका थिए । फूलमाला तयार थिए । पञ्चेबाजा घन्किन तम्तयार थियो । जब गाउँमा झण्डै डेढ सय जना पाहुना एक साथ भित्रिए, तब घन्कियो पञ्चेबाजा ।
लामबद्ध भई पाहुनाको स्वागतमा थिए, गाउँका आमाहरु । गाउँका युवा र बा समूह परिकार तयार गर्दै पाहुनालाई समेत स्वागत गर्न उभिए । गाउँ नै एकै ठाउँमा जम्मा भएर साँझ पर्नु अगाडि नै बिहीबारदेखि उत्सवमा सहभागी भए, खुसी साटे । सामाजिक कार्यबाहेक बाहिरबाट पाहुनाका रुपमा एकैपटक गाउँमा पर्यटक भित्रिएको गाउँलेलाई याद भएको यो पहिलो पटक नै हो ।
सन्दर्भ थियो, अन्नपूर्ण आरोहण दिवस । अर्थात विश्वमै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको आरम्भ भएको विशेष दिन । जुन दिन सन् १९५० जुन ३ अर्थात वि.सं. २००७ जेठ २१ गते फ्रान्सका पर्वतारोही मौरिस हर्जोग र लुई लासेनालले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेका थिए ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण हुनुभन्दा ३ वर्षअगाडि नै आरोहण भएर पर्वतारोहणको इतिहास कायम भएको दिनमा यसपटक श्रीमञ्ज्याङ उत्सवमय भयो । गाउँभरिका मानिसहरु रातिअबेरसम्मै मादलको तालमा वारी–पारी बसेर गाइएको दोहोरीमा झुमे, नाचे । हिमालको चर्चासँगै उनीहरुले भेँडीगोठ र लेकको खर्कमात्रै सम्झिएनन्, गीतका भाकाहरुले हराउँदै गएको आफ्नो पुरानो रोधीलाई सम्झिए ।

यसको चाँजो मिलाएको थियो, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले । अघिल्लो वर्ष मौरिज हर्जोगकै छोरासहित परिवारलाई समेत डाकेर अन्नपूर्ण प्रथमको उत्तरी आधार शिविरमै भव्य रुपमा अन्नपूर्ण दिवस मनाएको टान गण्डकीले यसपटक श्रीमञ्ज्याङ लामागाउँ रोजेको थियो ।
पर्याप्त पर्यटकीय सम्भावना बोकेको तर गतिविधि नभइरहेको, ठूलो सांस्कृतिक गाउँ तर पछिल्लो पुस्ताले छाड्दै गएको यो गाउँ अन्नपूर्ण पदमार्ग, मनास्लु पदमार्गसँग पनि जोडिएको छ ।
नौथर सेराबाट श्रीमञ्ज्याङ, जोर्ने, इलमपोखरी, लिपेलेक र दाम्राङ हुँदै पुन: नौथर सेरा पुग्ने तीनदिने पदमार्गको विस्तार पनि अहिले भइरहेको छ । त्यस्तै लिपेलेकबाट दाम्राङ, नोटाचे, उखण्ड, मेमेपोखरी, कोम्रोडाँडा र बाह्रपोखरी हुँदै हिलेटक्सार पुग्ने १० दिने पदमार्ग तथा पिसहिल हुँदै भुलभुले निस्कने आठदिने पदमार्ग पनि पहिचान भएको छ ।
यसैगरी गोरखाको बारपाक–सुलिकोट, अजिरकोट, दुधपोखरी, दोर्दी र ठुलागी हुँदै लमजुङको घेर्मुसम्म जोडिने नयाँ पदमार्गसमेत पहिचान गरिएको छ । अहिले नेपाली सरकारले आगामी बजेटमा पनि दोर्दी पदमार्गलाई समेटेको छ तर पनि गाउँमा पर्यटकीय गतिविधिसमेत नभइरहेको अवस्थामा टानले दोर्दी गाउँपालिकाको सहकार्यमा श्रीमञ्ज्याङ लामागाउँमा अन्नपूर्ण दिवसलाई उत्सवका रुपमा मनाउने चाँजोपाँजो मिलाएका हुन् ।
७६ औं अन्नपूर्ण दिवसको सन्दर्भमा श्रीमञ्ज्याङवासी उत्साहका साथ जम्मा भएका थिए । गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालय, दोर्दीसँगै दूधपोखरी गाउँपालिका, मर्स्याङ्दी गाउँपालिकाका प्रमुख एंव प्रतिनिधि, पोखरादेखि पर्यटन व्यवसायी, अभियान्ता र पर्यटनमा चासो राख्ने व्यक्तिहरु उपस्थित थिए भने अन्नपूर्णदेखि सगरमाथासम्म हिमाल आरोहण गर्ने आरोहीहरु लामागाउँमा थिए ।

यसपटकको अन्नपूर्ण दिवसलाई जलवायु परिवर्तनसँग जोडिएको थियो । जल र वायु परिवर्तन हुँदा हाम्रा हिमालदेखि हिमाली जीवन र मानव जीविका, देशको अर्थतन्त्र र भूगोलमा कस्तो परिवर्तन आइरहेको भन्ने चिन्ता र विमर्श कार्यक्रममा थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका डा. राजन पौडेलले हिमाल रहेमात्र सभ्यता रहने बताउँदै पछिल्लो समय जलवायु परिवर्तनले यसैमा ठूलो असर गरिरहेको बताए । जलवायु परिवर्तनलाई बुझेर हाम्रो पर्वतारोहण क्षेत्रलाई पनि व्यवस्थित गर्दै अन्नपूर्ण, मनास्लुजस्ता हिमालबाट गण्डकीले फाइदा लिनुपर्ने उनको भनाइ थियो ।
अन्नपूर्ण दिवसकै अवसरमा ३ पर्यतारोही पनि सम्मानित भए । सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ, नरेन्द्र शाही र मानराज गुरूङलाई टान गण्डकीले सम्मान गरेको हो । गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले सम्मान पत्र हस्तान्तरण गरिन् ।
पूर्णिमा लमजुङको छिमेकी जिल्ला गोरखाकी हुन् र जो भर्खरैमात्र छैटौं पटक सगरमाथा आरोहण गरेर फर्किएकी थिइन् । पूर्णिमाले नेपालका ७ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल चढिसकेकी छन् भने पाकिस्तानको केटु पनि आरोहण गरिसकेकी छन् ।
आरोहीलाई सम्मान गरेपछि सोही क्षेत्रबाट पर्यटनमन्त्री बनेकी रिमालले पर्यटनबाटै नेपालले फाइदा लिन सक्ने र जति पर्वतारोहणसँग नागरिकलाई जोड्नुपर्ने हो, त्यति जोड्न नसकिएको बताइन् । श्रीमञ्ज्याङजस्ता गाउँ पर्यटनका निम्ति नयाँ गन्तव्य र पदमार्गका निम्ति नयाँ ढोका बन्न सक्ने उनको भनाइ थियो ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले दोर्दीलाई पर्यटनको नयाँ गन्तव्यको रुपमा विकास गर्न आफूहरु लागिपरेको र अहिले संघीय सरकारको बजेटमासमेत परेको बताए । पर्वतारोहणमा जाने र पदमार्गमा रमाउनेका निम्ति लामागाउँजस्ता अर्गानिक गाउँलाई नयाँ गन्तव्य बनाउन पनि उनले आग्रह गरे । अधिकारीले छिमेकी पालिकाहरुसँग पनि आफूले मिलेर काम गरिरहेको बताए ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पनि दोर्दी श्रीमञ्ज्याङमा अन्नपूर्ण आरोहण दिवसको कार्यक्रम राखिएकोमा आफूहरु पनि सहभागी भएर हातेमालो गरेको बताए । उनले पालिकाहरुले मिलेर नयाँ पदमार्गहरु र पर्यटनको विकासमा काम गर्ने पनि बताए ।
दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले दोर्दी र दूधपोखरी मिलेर अन्नपूर्ण र मनास्लु पदमार्गमा काम गर्ने योजना बुनिरहेको बताए । दूधपोखरी पदमार्गमा जाने रुट पनि दोर्दी हुँदै विकास भइरहेको उनको भनाइ थियो । पर्वतारोण तथा पदमार्गको विकासले मात्र हिमाली संस्कृति, सभ्यताको विकास हुने र देशले समृद्धि पनि प्राप्त गर्ने दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसादले बताए ।
गाउँबाट रोजगारी, व्यवसाय र अवसरको खोजी गर्दै नेपालकै विभिन्न सहर र विदेशमा हुनेहरुको माया तथा प्रेमले गाउँमा केही न केही सहयोग र विकाससमेत भइरहेको छ । जो तत्काल गाउँमै बस्न सक्दैनन् तर गाउँको विकास र सेवामा लागिरहनेहरुले गाउँको माया बचाइराखेका छन् । पोखरामा रिसोर्ट चलाइरहेका र गाउँ, समाजदेखि विद्यालयसम्म सहयोग गरिरहेका अमरजंग गुरुङ ‘जितु’को कै सहकार्यमा टानले लामागाउँ रोजेको थियो ।
‘यही माटोमा जन्मियो, हुर्कियो तर सधैं यही बस्न नसकिने रहेछ । व्यवसायका क्रममा सधैं गाउँमा बस्न नसके पनि गाउँका निम्ति के गर्न सकिन्छ भनेर लागिरहेकै हुन्छौं र गाउँको मौलिकता बचाउन पनि भूमिका खेलिरहेका हुन्छौं,’ जितुले भने, ‘श्रीमञ्ज्याङले होमस्टे चलाउन सक्छ, पदमार्गको विकास भइरहेको छ र क्याम्पिङ गरेर बस्ने थलोका रुपमा पनि विकास हुन सक्छ, अब यस्ता गाउँमा पर्यटकीय गतिविधि पुग्नुपर्छ भनेर हामी पनि लागिरहेका छौं ।’
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले लोकप्रिय पदमार्गहरूमा वैकल्पिक मार्गहरुको खोजी भइरहेको र अब दोर्दी पदमार्ग उपयुक्त विकल्प हुन सक्ने बताए । दोर्दी पदमार्गलाई क्याम्पिङ ट्रेलका रुपमा पनि विकास गर्न सकिने उनको भनाइ थियो । टानले बर्सेनि अन्नपूर्ण आरोहण दिवस मनाउँदै आइरहेको र यसपटक श्रीमञ्ज्याङ जस्ता गाउँलाई प्रवर्द्धन गर्नुपर्छ भनेर रोजिएको आचार्यले खुलाए ।

पोखरा पर्यटन भ्रमण वर्षका संयोजक गोपी भट्टराईले जनवायु परिवर्तनको सबैभन्दा ठूलो असर पर्यटन र पर्यटन क्षेत्रका मजदुरमा परेको बताए । यसप्रति पर्यटन क्षेत्रसँगै राज्य नै गम्भीर हुनुपर्ने उनको भनाइ थियो । लामागाउँले देखाएको आतिथ्यताले जोकोहीलाई पनि मोहित बनाएको बताए । अबको पर्यटकीय गन्तव्य नै यस्ता अर्गानिक गाउँहरु पर्ने उनको भनाइ थियो ।
टानका पूर्वअध्यक्ष डम्मर केसीले आजभन्दा ७६ वर्ष अगाडि प्रविधि, पर्याप्त जनशक्ति। पदमार्ग केही पनि पहिचान नभएको बेलामा कसरी अन्नपूर्ण हिमाल आरोहण भएर, कसरी इतिहास कायम भयो होला भनेर सोचमग्न भएको बताए । नेपालबाटै सर्वोच्च शिखरहरुको आरोहण आरम्भ भएको र त्यसलाई नेपालले अझै समुचित फाइदा लिन नसकेको केसीको भनाइ थियो ।
दोर्दी–३ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ अब श्रीमञ्ज्याङ गाउँमा पनि आतिथ्यताको ढोका खुलेको बताउँछन् । ‘सम्भवत बाहिरबाट यति धेरै एकैपटक गाउँमा पर्यटक पाहुना आएको पहिलो पटक होला । गाउँमा सबैखालको व्यवस्थापन भयो । गाउँले खुलेर स्वागत पनि गर्यो,’ उनले भने, ‘अहिलेसम्म खासै होमस्टे भनेर चलाएका थिएनौं । २–४ मात्र थिए । अब होमस्टे चलाउन पनि सक्ने भयौं ।’ श्रीमञ्ज्याङ लामागाउँमा पर्यटनको अब नयाँ ढोका खोल्नेमा उनले विश्वास व्यक्त गरे । तर, गाउँमा धेरै मानिसहरु नै नभएकाले चिन्ता पनि बढेको उनले सुनाए ।
८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये सबैभन्दा पहिले सफल आरोहण भएकाले पनि यसलाई ‘आरोहणको जेठो हिमाल’ पनि भन्ने गरिएको छ ।
अन्नपूर्णलाई विश्व पर्वतारोहणको ढोका खोल्ने हिमालका रूपमा पनि लिने गरिन्छ । अन्नपूर्ण हिमश्रृंखला गण्डकी प्रदेशका कास्की, म्याग्दी, मनाङ र मुस्ताङ जिल्लामा फैलिएको छ ।
प्रतिक्रिया 4