+
+
Shares

उफ् गर्मी ! फेवातालमा कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङ (तस्वीरहरू)

विशेषगरी युवा–युवतीहरू माझ कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङ (एसयूपी) लोकप्रिय बन्दै गएका गतिविधि हुन् ।

प्रदीपराज वन्त/रासस प्रदीपराज वन्त/रासस
२०८३ जेठ २३ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्मी बढेसँगै पोखराको फेवातालमा शीतल वातावरण र साहसिक जलक्रीडाका लागि पर्यटकहरूको चहलपहल निकै बढेको छ ।
  • फेवातालमा आउने युवाहरूमाझ पछिल्लो समय कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङ लोकप्रिय बन्दै गएका छन् ।
  • जलक्रीडामा सहभागी हुने पर्यटकको सुरक्षाका लागि सञ्चालकहरूले लाइफ ज्याकेटको प्रयोग अनिवार्य रूपमा गर्न आग्रह गरेका छन् ।

२३ जेठ, पोखरा । पछिल्लो समय बढ्दो गर्मीसँगै पर्यटकहरू शीतलता, मनोरञ्जन र साहसिक अनुभवको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण फेवातालमा आन्तरिक तथा विदेशी पर्यटकहरूको चहलपहल बढेसँगै विभिन्न जलक्रीडाप्रतिको आकर्षण पनि उल्लेख्य रूपमा बढ्दै गएको छ ।

विशेषगरी युवा–युवतीहरू माझ कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङ (एसयूपी) लोकप्रिय बन्दै गएका गतिविधि हुन् ।

तालको शान्त पानीमा आफैंले प्याडल चलाउँदै रमाइलो अनुभव लिन सकिने भएकाले यी खेलहरू साहसिक पर्यटनका नयाँ आकर्षणका रूपमा स्थापित हुँदै गएका छन् ।

फेवातालको लेकसाइड क्षेत्रमा सञ्चालित विभिन्न वाटर स्पोर्ट्स सेन्टरहरूले पर्यटकहरूलाई कायाकिङ्ग तथा एसयूपीको सुविधा उपलब्ध गराउँदै आएका छन् ।

तालको किनारबाट आवश्यक सुरक्षा सामग्रीसहित सेवा प्रदान गरिने भएकाले पर्यटकहरू निर्धक्क रूपमा जलक्रीडामा सहभागी हुने गरेका छन् ।

कायाकिङ्गका लागि सामान्यतया प्रतिघण्टा रु. २०० देखि रु. १,००० सम्म शुल्क लाग्ने व्यवसायीहरू बताउँछन् ।  बिहानको शान्त वातावरण वा दिउँसोको समयमा तालमा कायाकिङ्ग गर्न उपयुक्त मानिन्छ । लेकसाइडका बाराही घाट, ड्यामसाइडलगायतका स्थानबाट यसको सुविधा सहज रूपमा उपलब्ध छ ।

फेवातालमा पछिल्ला वर्षहरूमा स्ट्याण्ड अप प्याडल बोर्डिङप्रति विशेष आकर्षण देखिएको छ । विशेष बोर्डमाथि उभिएर सन्तुलन कायम गर्दै प्याडल चलाउने यो गतिविधिले मनोरञ्जनसँगै शारीरिक व्यायामको अवसर पनि प्रदान गर्छ । शरीरको सन्तुलन क्षमता विकास हुने र प्रकृतिसँग नजिकबाट रमाउन पाइने भएकाले युवापुस्तामाझ यसको लोकप्रियता बढ्दै गएको व्यवसायीहरूको भनाइ छ ।

जलक्रीडासँगै पर्यटकहरूले डुङ्गा सयरको पनि मजा लिइरहेका छन्। फेवातालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर पुग्ने डुङ्गा यात्रादेखि तालको मनोरम दृश्य अवलोकनसम्मका गतिविधिले पोखरा आउने पर्यटकहरूको बसाइलाई थप आकर्षक बनाएको छ ।

जलक्रीडामा सहभागी हुनेहरूका लागि सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ । वाटर स्पोर्ट्स सञ्चालन गर्ने संस्थाहरूले लाइफ ज्याकेट अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गर्ने गरेका छन् । मौसम प्रतिकूल भएको अवस्थामा वा हावाहुरी चल्दा तालको बीच भागमा जान नहुने सुझावसमेत दिइन्छ ।

पोखरामा तापक्रम वृद्धि भएसँगै फेवाताल क्षेत्रमा दैनिक रूपमा पुग्ने पर्यटकहरूको संख्या बढिरहेको छ । प्राकृतिक सौन्दर्य, शीतल वातावरण र साहसिक गतिविधिको संगम बनेको फेवाताल अहिले गर्मी छल्न चाहने पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ । कायाकिङ्ग, स्ट्याण्ड अप प्याडल बोर्डिङ र डुङ्गा सयरजस्ता गतिविधिले पोखराको पर्यटनलाई थप जीवन्त बनाउँदै स्थानीय पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव पारिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?