News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको जेठ २४ गते हुने निर्वाचनका लागि ३ वटा प्यानलका ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
- निर्वाचनमा संघका पूर्वअध्यक्ष मेघनाथ भुर्तेल तथा पूर्वप्रथम उपाध्यक्षद्वय डिक बहादुर खत्री र हरिबहादुर पाण्डे प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
- निवर्तमान अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यसमिति विघटन गरी विशेष साधारणसभा र निर्वाचन गर्न निर्देशन दिएको थियो ।
२३ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि ३ वटा प्यानलको घोषणा भएको छ । जिल्ला प्रशासन कार्यालय कार्यसमिति विघटन गरेपछि भोली (जेठ २४) गते हुन लागेको विशेष साधारणसभा तथा निर्वाचनका लागि ३ वटा प्यानल भिड्न लागेका हुन् ।
नेपाली कांग्रेस नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्थावानसहित ३ वटा प्यानल चुनावमा होमिएका हुन् ।
जसमा संघका पूर्व अध्यक्ष मेघनाथ भुर्तेल, पूर्व प्रथम उपाध्यक्षहरू डिक बहादुर खत्री (कुमार) र हरिबहादुर पाण्डे प्यानलसहित निर्वाचनमा होमिएका हुन् ।
भुर्तेलले नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन संघको तर्फबाट प्यानलसहित उम्मेदवारी दिएका छन् ।
त्यस्तै पूर्व प्रथम उपाध्यक्ष खत्रीले नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । उनको प्यानलमा कांग्रेस निकटको लोकतान्त्रिकको असन्तुष्ट पक्षहरू समेत सहभागी छन् ।
त्यस्तै नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी निकटका व्यवसायीहरूलाई समेटेर प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
संघको ७ जना पदाधिकारी र १० जना सदस्यगरी १७ जनाका लागि तिन वटै प्यानलबाट ५१ जनाको उम्मेदवारी दर्ता भएको छ ।
२०८१ को चैत २९ गते भएको ३१ औं साधारणसभाबाट भुवनसिंह गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए । उनको कार्यशैलीप्रति कार्यसमितिभित्र नै तिब्र असन्तुष्टी व्यक्त हुँदै आएको थियो । अध्यक्षले मनपरी ढंगबाट अगाडि बढ्ने खोजेको, संघलाई आफ्नो व्यक्तिगत कम्पनी बनाएको जस्ता आरोप लगाउँदै महासचिव महेश कुमार बस्नेतसहितका दुई तिहाई पदाधिकारीसहित सदस्यहरूले राजीनामा दिएका थिए ।
राजीनामापछि कार्यसमिति विघटन भई संघको विधान अनुसार प्रबन्ध समिति बनेको थियो । उक्त समितिले जेठ २४ गतेका लागि विशेषसाधारणसभा तथा निर्वाचनको मिति तय गरेको थियो ।
तर, गुरुङले आफु नै अध्यक्ष भएको दाबी पेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गर्दै कार्यसमिति विघटन गर्दै २४ गते नै विशेषसाधारणसभा गर्न निर्देशन दिएको थियो । सोही अनुसार भोली विशेष साधारणसभा तथा निर्वाचन हुन लागेको हो ।
प्रबन्ध समिति सदस्य तथा संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले तीन वटा प्यानलबाट नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता भएको बताए ।
प्रतिक्रिया 4