News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले अमेरिकामाथि युद्धविराम तोडेको आरोप लगाएको छ भने अमेरिकाले चारवटा इरानी ड्रोन खसालेको दाबी गरेको छ ।
- इजरायली आक्रमणका कारण लेबनानमा मृतकको सङ्ख्या ३,५९३ पुगेको छ र सैनिक जनरलसहित थप व्यक्ति मारिएका छन् ।
- संयुक्त राष्ट्रसङ्घमा पूर्वाग्रह रहेको भन्दै अमेरिकाले बजेटमा ५७ करोड डलर कटौती र तीन हजार कर्मचारी दरबन्दी खारेज गरेको छ ।
२४ वैशाख, काठमाडौं । इरानको विदेश मन्त्रालयले अमेरिकामाथि युद्धविराम तोडेको आरोप लगाएको छ । इरानी विदेश मन्त्रालयका अनुसार अमेरिकाले तनाव कम गर्नुको सट्टा आफ्नो सैन्य कारबाहीमार्फत सम्पूर्ण मध्यपूर्व क्षेत्रको सुरक्षालाई खतरामा पारिरहेको छ ।
सामाजिक सञ्जाल एक्समा जारी गरिएको विज्ञप्तिमा इरानले भनेको छ, ‘अमेरिकाले सिरिक क्षेत्र र केश्म टापुमा रहेको इरानको तटीय राडार र निगरानी केन्द्रहरूमा आक्रमण गरेको छ, जुन युद्धविरामको स्पष्ट उल्लङ्घन हो ।’
यस आक्रमणपछि उत्पन्न हुने परिस्थिति र परिणामको सम्पूर्ण जिम्मेवारी अमेरिकाको हुने इरानले चेतावनी दिएको छ । वासिङ्टनले तनाव कम गर्ने इच्छाशक्ति नदेखाएको इरानको भनाइ छ ।
लेबनानमा मृतकको संख्या ३,५९३ पुग्यो
गत मार्च २ देखि जारी इजरायली आक्रमणमा अहिलेसम्म ३ हजार ५९३ जनाको ज्यान गइसकेको छ भने १० हजार ९९० जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ३५ जनाको मृत्यु र १२० जना घाइते भएका छन् ।
शनिबार इजरायली आक्रमणमा लेबनानी सेनाका ब्रिगेडियर जनरलसहित १० जनाको मृत्यु भएको छ । आक्रमणपछि धेरै इलाकाहरूमा मानिसहरूलाई घर खाली गर्न आदेश दिइएको छ ।

दक्षिणी लेबनानमा भएको इजरायली हवाई हमलामा लेबनानी सेनाका ५४ वर्षीय ब्रिगेडियर जनरल विसाम साबरा, क्याप्टेन एली खौरी र सैनिक हुसेन गोजाल मारिएका छन् ।
लेबनानी प्रधानमन्त्री नवाब सलामले यसलाई जघन्य अपराध भनेका छन् भने राष्ट्रपति जोसेफ आउनले यसले शान्तिका प्रयासहरूलाई विफल पार्ने बताएका छन् ।
पत्रकार नुर ओदेहका अनुसार लेबनानको करिब २० प्रतिशत भूभागलाई ‘येलो लाइन’ भन्दै लेबनानको गाजाकरण गरिँदैछ । यसैबीच, हेजबुल्लाहले शनिबार कम्तीमा २५ वटा सैन्य कारबाही गर्दै दक्षिणी लेबनानमा इजरायली मर्काभा ट्यांक र सैनिकहरूलाई निसाना बनाएको दाबी गरेको छ ।
स्वतन्त्र लेबनानी सांसद नजात आउन सलिबाले युद्धको विकल्प नभएको र वार्ताबाटै समाधान खोज्नुपर्ने बताएकी छन् ।
इरानी ड्रोन खसालेको अमेरिकी दाबी
अमेरिकाले स्ट्रेट अफ होर्मुजतर्फ अघि बढिरहेका ४ वटा इरानी ड्रोन खसालेको र केश्म टापुका राडार साइटहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
यसको जवाफमा इरानले कुवेत र बहराइनतर्फ ७ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसलाई बीचमै इन्टरसेप्ट गरिएको दाबी गरिएको छ ।
कूटनीतिक प्रतिक्रिया र निन्दा
यमन, इजिप्ट, जोर्डन, कतार र साउदी अरबले कुवेत र बहराइनमा इरानले गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इरानका सर्वोच्च नेता मुजतबा खामेनेईलाई पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको तर्फबाट महत्त्वपूर्ण सन्देश पुर्याउँदै अमेरिका–इजरायल युद्ध अन्त्य गर्न आग्रह गरेका छन् ।
२४ अर्ब डलरमा अड्कियो इरान–अमेरिका सम्झौता
सीएनएनको रिपोर्टअनुसार, अमेरिकासँगको सम्भावित शान्ति सम्झौता इरानको रोक्का (फ्रीज) गरिएको २४ अर्ब डलर सम्पत्ति फुकुवा गर्ने विषयमा अड्किएको छ । इरान सम्झौतासँगै तत्काल १२ अर्ब डलर फुकुवा होस् भन्ने चाहन्छ, तर अमेरिका यसमा सहमत भइसकेको छैन ।
अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले इरानको रोक्का गरिएको सम्पत्ति खाडी देशहरू (कुवेत, बहराइन आदि) को पुनर्निर्माण र इरानका कारण भएको वा भविष्यमा हुन सक्ने क्षतिको भरपाइ गर्न प्रयोग गर्नेबारे विचार गरिरहेको रोयटर्सले जनाएको छ ।
अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले इजरायललाई सैन्य सहायता बढाउने प्रस्तावको कडा विरोध गरेका छन् । नेसनल डिफेन्स अथोराइजेसन एक्टको संयुक्त उत्पादन सम्झौताअन्तर्गत लुकाएर इजरायललाई थप फन्डिङ गर्न लागिएको भन्दै उनले अमेरिकी जनता इजरायलको युद्ध खर्चबाट रुष्ट रहेको बताए ।
डेमोक्रेटिक सांसद रो खन्ना र रिपब्लिकन सांसद थोमस मासीले पनि यसको विरोध गरेका छन् । युद्ध सुरु भएको १०० दिन पुग्दासमेत अमेरिकी जनतामाझ युद्ध अलोकप्रिय रहेको र यसले राष्ट्रपति ट्रम्पलाई राजनीतिक नोक्सान पुर्याइरहेको विश्लेषक शिब्ले तेल्हामीले बताएका छन् ।
पेन्टागनको चेतावनी
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को डिफेन्स इन्टेलिजेन्स एजेन्सीले इजरायली जासुसीको खतराबारे मूल्यांकन स्तरलाई उच्चबाट क्रिटिकलमा पुर्याएको छ । युद्ध अन्त्यसम्बन्धी ह्वाइट हाउसभित्र हुने आन्तरिक छलफलहरू थाहा पाउन इजरायलले जासुसी गर्न सक्ने आशङ्का गरिएको छ ।
यसैबीच, राष्ट्रसंघका लागि अमेरिकी राजदूत जेफ बार्टोसले अमेरिका र इजरायलप्रतिको अनुचित पूर्वाग्रह हटाउन राष्ट्रसंघको ३००० कर्मचारी दरबन्दी खारेज गर्दै बजेटमा ५७ करोड अमेरिकी डलर (५७० मिलियन डलर) कटौती गरिएको जानकारी दिएका छन् ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4