News Summary
Generated by OK AI. Editorially reviewed.- दन्त चिकित्सक डा. मनु कार्कीले सन् २०१९ मा स्थापना गरेको ‘इको साथी नेपाल’ ले प्लास्टिकमुक्त र दिगो जीवनशैली प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
नेपालमा वातावरण संरक्षण, दिगो उपभोग र प्लास्टिकमुक्त जीवनशैलीबारे बहस बढिरहेका बेला ‘इको साथी नेपाल’ ले व्यवहारिक विकल्पमार्फत फरक पहिचान बनाएको छ । सन् २०१९ मा दन्त चिकित्सक डा. मनु कार्कीले स्थापना गरेको यो अभियान अहिले वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्ने एक सामाजिक तथा व्यावसायिक पहलका रूपमा विकसित भएको छ ।
इको साथी नेपालको सुरुवात कार्कीको ताइवान भ्रमणपछि भएको हो । सन् २०१८ मा ताइवान जाँदा उनले त्यहाँका नागरिकले प्लास्टिकको प्रयोग न्यून गर्ने, आफ्नै झोला बोक्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने र वातावरणप्रति जिम्मेवार जीवनशैली अपनाउने गरेको देखिन् ।
नेपाल फर्किएपछि उनले वातावरणमैत्री उत्पादन खोज्दा सहज रूपमा नपाएको र विदेशबाट मगाइएका उत्पादनसमेत अत्यधिक प्लास्टिक प्याकेजिङमा आउने गरेको अनुभव गरिन् । यही अनुभवले उनलाई नेपालमै दिगो र वातावरणमैत्री विकल्प उपलब्ध गराउने सोचतर्फ प्रेरित गर्यो ।
इको साथी नेपालको मुख्य उद्देश्य प्लास्टिकमुक्त जीवनशैलीलाई सहज र व्यवहारिक बनाउनु हो । कार्कीका अनुसार नेपाली समाजमा पहिलेदेखि नै वस्तुहरू पुनः प्रयोग गर्ने संस्कृति भए पनि पछिल्लो समय सुविधाको खोजीमा एकपटक प्रयोग गरेर फालिने प्लास्टिक सामग्रीको प्रयोग बढ्दो छ । त्यसैले प्लास्टिकको विकल्प खोज्ने र उपभोक्तालाई त्यसतर्फ आकर्षित गर्ने काममा संस्था केन्द्रित छ ।

यस अभियानको प्रमुख आकर्षण ‘जिरो वेस्ट स्टोर’ हो, जहाँ ग्राहकहरूले आफ्नै कन्टेनर लिएर विभिन्न सामग्री रिफिल गर्न सक्छन् । हाल स्टोरमा फ्लोर क्लिनर, ह्यान्ड वास र डिश वास उपलब्ध छन् । ग्राहकले आफ्नो भाँडो लिएर आएपछि आवश्यक मात्रामा सामग्री भर्ने, तौल गर्ने र कन्टेनरको तौल घटाएर सामग्रीको मूल्य मात्र तिर्ने व्यवस्था छ ।
यी उत्पादनहरू बायो–इन्जाइम, सुन्तलाको अर्का र अन्य प्राकृतिक स्रोतबाट तयार गरिएका छन् । यसले प्लास्टिकजन्य फोहोर कम गर्नुका साथै छालामा हुने एलर्जी वा एक्जिमाजस्ता समस्या समेत कम गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
इको साथी नेपालले दैनिक जीवनमा प्रयोग हुने विभिन्न प्लास्टिकजन्य सामग्रीका विकल्प पनि उपलब्ध गराउँदै आएको छ । बाँसबाट बनेका टूथब्रश, प्राकृतिक टुथ पाउडर, पुनः प्रयोग गर्न मिल्ने मेटल रेजर, महिनावारी कप, डिश ब्रस, नेटल (सिस्नो) साबुन, चिउरीबाट बनेको डियोड्रेन्ट बाम लगायतका सामग्री स्टोरमा पाइन्छ। विशेषगरी टुथ पाउडर र केही अन्य उत्पादनमा रिफिल तथा कन्टेनर फिर्ता प्रणाली लागू गरिएको छ, जसले उपभोक्तालाई पुनः प्रयोगतर्फ प्रोत्साहित गर्छ।

संस्थाले स्थानीय स्रोत र सीपको उपयोगलाई पनि प्राथमिकता दिएको छ । उदाहरणका लागि, संखुवासभाका महिलाहरूले अल्लोबाट बुनेका ‘सोप सेभर’ र स्क्रब पाउच स्टोरमा उपलब्ध छन् । साबुनका साना टुक्रासमेत अन्तिमसम्म प्रयोग गर्न मिल्ने यी सामग्रीले फोहोर घटाउनुका साथै स्थानीय महिला उद्यमशीलतालाई समेत आर्थिक टेवा पुर्याएका छन् ।
इको साथी नेपालले वातावरणमैत्री सामग्रीको प्रयोगलाई पनि प्रोत्साहन गरिरहेको छ । बजारमा व्यापक रूपमा प्रयोग हुने पोलिस्टरका प्रेयर फ्ल्याग (लुङ्टा) को विकल्पका रूपमा कपासबाट बनेका प्रेयर फ्ल्याग उपलब्ध गराइएको छ । पोलिस्टरका झण्डाहरू वातावरणमा लामो समयसम्म नगल्ने भएकाले कपासको प्रयोगलाई दिगो विकल्पका रूपमा अघि सारिएको हो ।

यस अभियानको अर्को महत्वपूर्ण पक्ष सर्कुलर इकोनोमीको अवधारणा हो । इको साथी नेपालले सकेसम्म फोहोर उत्पादन नै नगर्ने, पुनः प्रयोग गर्ने र रिसाइकल गर्ने प्रणाली अपनाएको छ । उत्पादनको प्याकेजिङ देखि प्रयोगपछिको व्यवस्थापनसम्म वातावरणीय प्रभाव कम गर्ने प्रयास गरिएको छ । साथै, भिगन उत्पादनहरूलाई पनि प्राथमिकता दिइएको छ, जसले पशुजन्य सामग्री प्रयोग नगर्ने उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्छ ।

डाक्टर कार्कीका अनुसार वातावरण संरक्षणका लागि ठूलो लगानी वा कठिन प्रयास आवश्यक पर्दैन । घरमा भएका सामग्री पुनः प्रयोग गर्ने, किनमेल गर्दा आफ्नै झोला बोक्ने, अनावश्यक प्लास्टिक अस्वीकार गर्ने जस्ता साना बानीले पनि ठूलो परिवर्तन ल्याउन सक्छ । उनी भन्छिन्, ‘वातावरणमैत्री बन्नु महँगो कुरा होइन, सचेत बानीको कुरा हो जसलाई सबैले अवलम्बन गर्न सक्छन् ।’
यसरी इको साथी नेपाल केवल एक व्यवसाय मात्र नभई प्लास्टिकमुक्त र दिगो जीवनशैलीको सन्देश फैलाउने अभियानका रूपमा स्थापित हुँदै गएको छ । यसले वातावरण संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन र जिम्मेवार उपभोग संस्कृतिलाई एकैसाथ जोड्दै स्वच्छ भविष्य निर्माणको प्रयास गरिरहेको छ ।



प्रतिक्रिया 4