News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र संवाद नभएको भन्ने पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरे ।
- सहमति जुटाउन सभापति गगन थापाले जेठ १६ गते पठाएको सात बुँदे प्रस्तावमाथि जेठ २२ गते शर्मा र खड्काबीच छलफल भएको थियो ।
- उपसभापति शर्माले सामाजिक सञ्जालमा लेखेर नभई आवश्यक संवाद गरेर मात्र सहमतिको वातावरण बन्ने बताए ।
२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको बोलीबाट अचम्मित भएको बताएका छन् ।
कांग्रेसभित्र सहमतिका लागि आन्तरिक संवादहरु हुँदै गर्दा पूर्व कार्यवाहक सभापति खड्काले संवाद नभएको बताएपछि आश्चर्यमा परेको शर्माले बताएका हुन् ।
पूर्व कार्यवाहक सभापति खड्काले आइतबार सामाजिक सञ्जाल मार्फत सभापति गगन थापासँग संवाद नभएको ३१ दिन भएको जानकारी गराएका थिए ।
कांग्रेसका नेताहरुका अनुसार दुई पक्षमा सहमतिका लागि संवाद भइरहेको छ । कार्यसम्पादन समितिका एक सदस्यले दिएको जानकारी अनुसार सहमतिका लागि सभापति थापाले सात बुँदे प्रस्ताव पूर्व कार्यवाहक सभापति खड्कासँग राखेका छन् ।
उनले भने,‘जेठ १६ गते सभापतिले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाउनु भएको छ । त्यसप्रति उताबाट केही जवाफ आएको छैन ।’
साथै, यही वीचमा जेठ २२ गते उपसभापति शर्माले खड्काकै निवासमा गएर छलफल गरेका थिए । शर्मा र खड्का वीचम जेठ २२ गते दिउँसो ३ बजेदेखि देखि करिब ३ घण्टा त्यही सात बुँदा माथि छलफल भएको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी गराएका छन् ।
आइतबार (जेठ २४ ) सभापति थापा र उपसभापति शर्माले अर्को पक्षसँग सहमति गर्न सकिने विषयमा छलफल गरेका थिए । उपसभापति शर्माले अनलाइनखबरसँग भने,‘सहमतिका लागि आवश्यक संवाद हुनुपर्ला नि । कि, सामाजिक सञ्जालमा लेखेर सहमतिको वातावारण बन्छ ?’
अर्को पक्षलाई पठाइएको सात बुँदे प्रस्तावहरु बारे उपसभापति शर्माले खुलाउन चाहेनन् ।
प्रतिक्रिया 4