News Summary
Generated by OK AI. Editorially reviewed.- तारकेश्वरमा कुमार थापाले श्रीमती ईश्वरी भुजेलको रड तथा चक्कु प्रहार गरी हत्या गरेका छन् ।
- हत्या आरोपमा पक्राउ परेका कुमार थापासहित चार जनालाई अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद दिएको छ ।
- उनीहरूबीच पहिलेदेखि नै घरेलु हिंसा, वैवाहिक बलात्कार र सम्बन्धविच्छेदको मुद्दा अदालतमा विचाराधीन रहेको प्रहरीले जनाएको छ ।
२५ जेठ, काठमाडौं । ‘मान्छेको जीवन र मृत्यु भगवानले दिएर पठाएको हुने रहेछ । मेरो हातबाट कसैको ज्यान नजाओस्’ नेपाली ब्रो भनेर चिनिने कुमार थापाले सामाजिक सञ्जालमा एक भिडिओमार्फत भने ।
यो भिडियो सार्वजनिक भएको केहीबेरमै उनै नेपाली ब्रोले श्रीमतीको हत्या गरेको विषय फैलियो । तारकेश्वर नगरपालिका–६ लोलाङको पैंयुटारमा ३८ वर्षीय नेपाली ब्रोले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको सार्वजनिक भयो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार राति ९:१० बजे रड तथा चक्कु प्रहार गरी नेपाली ब्रोले श्रीमतीलाई गम्भीर घाइते बनाएका थिए । उपचारका लागि तारकेश्वर सिटी अस्पताल हुँदै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारकै क्रममा राति ११ बजे उनको मृत्यु भयो ।
त्यसपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढायो । प्रहरी वृत्त बालाजुको हिरासतमा रहेका बेला यो प्रकरणमा अरू तीन जना पनि समातिए ।
परिसरका एसपी भट्टराईका अनुसार नुवाकोटको तारकेश्वर गाउँपालिका–४ घर भएका ब्रोसँगै नुवाकोटकै तारकेश्वर गाउँपालिका–४ का ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजुका ४० वर्षीय पुजन थापा क्षेत्री, जुम्लाको हिमा गाउँपालिका–१ घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्य पक्राउ परेका छन् । पक्राउ परेकामध्ये विक्रम नेपाली ब्रोका सहोदर भाइ हुन् भने पुजन र प्रतीक्षा साथी हुन् ।
पक्राउ परेकाहरू विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ ।
पारिवारिक कलहले लियो ज्यान
श्रीमती हत्याको कारण पारिवारिक कलह रहेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पुरानो पारिवारिक कलहले उग्र रूप लिंदा ज्यान गएको हो ।
प्रहरीका अनुसार उनीहरूको विवाद, झैझगडादेखि घरेलु हिंसा, वैवाहिक बलात्कार, सम्बन्धविच्छेदसम्मको विषय प्रहरीदेखि अदालतसम्म पुगेको पाइएको छ ।
गत २३ भदौमा मात्रै नेपाली ब्रोले श्रीमती ईश्वरीमाथि घरेलु हिंसा गरेको भन्दै प्रहरी वृत्त बालाजुमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेको पाइएको छ ।
नेपाली ब्रोविरुद्ध श्रीमती ईश्वरीले वैवाहिक बलात्कारमा उजुरी समेत दिएको पाइएको छ । यो घटनामा प्रहरीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले काठमाडौं अदालतमा वैवाहिक बलात्कारको कसुरमा मुद्दा समेत दर्ता गराएको थियो । यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामै रहेको छ ।
उनीहरू बीच सम्बन्धविच्छेदको मुद्दा पनि चलेको पाइएको छ । यो मुद्दा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामै छ ।
लामो समयदेखि चलेको पारिवारिक कलहले उग्र रूप लिंदा ईश्वरीको ज्यान गएको प्रहरी अधिकारीहरू बताउँछन् ।
पछिल्लो समय उनीहरू बीच सामाजिक सञ्जालमा पनि आरोप–प्रत्यारोप हुने गरेको पाइएको छ । सम्बन्धविच्छेदको मुद्दा चलेको र सम्पत्तिको विषयलाई लिएर एक अर्काबीच विभिन्न टीकाटिप्पणी भएका विषयहरू अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
बाटो ढुकेर हत्या
नेपाली ब्रोकी श्रीमती ईश्वरी नेपाली सेनाकी सुवेदार हुन् । बहालमै रहेकी उनी शुक्रबार अफिस सकेर घर फर्कंदै थिइन् । तर घर पुग्न नपाउँदै बाटो ढुकेर बसेका श्रीमान् नेपाली ब्रोबाट उनको हत्या हुन्छ ।
‘बाटो ढुकेर आक्रमण भएको देखिन्छ । गम्भीर घाइते भएपछि अस्पताल लैजाँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो,’ एसपी भट्टराई भने ।
ईश्वरीलाई चक्कुले आक्रमण गरेको र प्रहरीले चक्कुसमेत बरामद गरेको बताएको छ । प्रहरीको अहिलेम्मको अनुसन्धानअनुसार मार्ने योजनाअनुसार नै नेपाली ब्रोले हत्या गरेको देखिएको छ ।
‘कुनै आवेशमा आएर एक्कासि आक्रमण गर्दा ज्यान गएको होइन । मार्ने योजनाअनुसार नै बाटो ढुकेर हत्या गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने ।
पूर्वआर्मी हुन् नेपाली ब्रो
नेपाली ब्रो भनेर चिनिने कुमार पनि पूर्वआर्मी रहेको प्रहरीले बताएको छ । आर्मीको जागिर छाडेपछि उनले कुस्ती खेल्ने गरेको बताइन्छ । सामाजिक सञ्जालमा पनि उनले कुस्ती खेलेका भिडियोहरू पोस्ट गरेका थिए ।
सामाजिक सञ्जाल विशेषगरी टिकटकमा सक्रिय नेपाली ब्रो टिकटकबाटै राम्रो आम्दानी गर्ने गरेको बताउँथे ।
प्रतिक्रिया 4