News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा हालसम्मकै उच्च ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
- चालु आर्थिक वर्षको वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत वर्षको तुलनामा ४१.२ प्रतिशतले बढी हो ।
- आर्थिक सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धिदर घटेर ५.७ प्रतिशतमा सीमित भएको छ ।
२६ जेठ, काठमाडौं । आर्थिक गतिविधिमा सुधार नआए पनि अर्थतन्त्रका सबै सूचक सबल देखिएका छन् ।
मूल्यवृद्धि र निजी क्षेत्रको कर्जा वृद्धिदर बाहेक सबै सूचक हालसम्मकै बलियो अवस्थामा देखिएका हुन् ।
पश्चिम एसियामा तनावका कारण पेट्रोलिय पदार्थको मूल्य बढ्दा उपभोक्ता मूल्यवृद्धि सामान्य बढेको छ । त्यसैगरी सुस्त गतिमा रहेको अर्थतन्त्र र समग्र बजार मागमा आएको कमीका कारण बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा वृद्धिदर घटेको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसबाहेक विदेशी विनिमय सञ्चिति, रेमट्यिान्स, चालु खाता, आयात लगायत अर्थतन्त्रका अधिकांश सूचक बलियो अवस्थामा रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट बैंकका अनुसार चालु आर्थिक वर्ष वैशाखसम्म विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च ३७ खर्ब नाघेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ वैशाख मसान्तमा ३७ खर्ब ४ अर्ब ५५ करोड पुगेको हो । चालु आव हालसम्म रेमिट्यान्स आप्रवाह निरन्तर सुधार आएका कारण विदेशी विनियम सञ्चिति बढेको हो । साथै, आर्थिक सुस्तताका कारण आयात अपेक्षित सुधार नहुँदा विदेशी सञ्चिति हालसम्मकै उच्च हुन पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
आव २०८२/८३ को १० महिनासम्मको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हो ।
२०८३ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमश: ६०.७ प्रतिशत, १५९.७ र ४३.३ प्रतिशत छन् । २०८२ असार मसान्तमा उक्त अनुपात क्रमश: ४३.८, १२८.१ र ३४.१ प्रतिशत थिए ।
त्यसैगरी वैशाखमा हालसम्मकै धेरै २ खर्ब ५७ अर्ब रेमिट्यान्स आएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भए पनि रेमिट्यान्स बढ्न मद्दत पुगेको केन्द्रीय बैंकले जनाएको छ ।
त्यसैगरी नेपालबाट निर्यात हुने प्रविधि सेवामा सुधार आएका कारण पनि रेमिट्यान्स आप्रवाह बढ्न मद्दत पुगेको केन्द्रीय बैंकका अधिकारीहरूको बुझाइ छ ।
चालु आव वैशाखसम्म १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमट्यिान्स भित्रिएको छ । यो रकम गत आव सोही अवधिको तुलनामा ४१.२ प्रतिशत धेरै हो । गत आव सोही अवधिमा यस्तो आप्रवाह १३ खर्ब ५७ अर्ब थियो ।
चालु आव सोही अवधिमा खुद द्वितीय आय २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड थियो ।
केन्द्रीय बैंकका अनुसार चालु आव वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा १.६ प्रतिशत बिन्दुले कमी आएको छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण समग्र मागमा आएको कमीको असर वित्तीय क्षेत्रको कर्जा प्रवाहमा देखिएको हो ।
चालु आव १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशत बढेको छ । गत आव सोही अवधिमा यस्तो कर्जा प्रवाह ७.३ प्रतिशतले बढेको थियो ।
चालु आव वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा कुल ३ खर्ब १२ अर्ब कर्जा लगानी गरेका छन् । गत आव सोही अवधिमा यस्तो कर्जा लगानी ३ खर्ब ६८ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी २०८३ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत छ । गत आव सोही महिनामा यस्तो मुद्रास्फीति २.७७ प्रतिशत थियो । चालु आव वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत छ ।
चालु आव सोही अवधिमा पेट्रोलियम पदार्थको मूल्यमा आएको वृद्धिले मुद्रास्फीति बढाएको छ । यो नतिजा आर्थिक गतिविधि बढेर वा वित्तीय क्षेत्रको कर्जा लगानी सुधार आएका कारण नभएको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
प्रतिक्रिया 4