+

फिफा विश्वकप डेब्यूमा प्रभुत्व जमाउन सक्ने १० युवा खेलाडी

२०८३ जेठ  २८ गते १३:५२ २०८३ जेठ २८ गते १३:५२
फिफा विश्वकप डेब्यूमा प्रभुत्व जमाउन सक्ने १० युवा खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ को फिफा विश्वकपमा विश्वभरका नवप्रतिभावान् युवा खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्राप्त हुने भएको छ ।
  • स्पेनका १८ वर्षीय लामिन यमाललाई १८ वर्षकै उमेरमा सन् २०१० पछि देशलाई पुनः विश्वविजेता बनाउने महत्त्वपूर्ण जिम्मेवारी रहेको छ ।
  • फ्रान्सका डिजायर डुए र ब्राजिलका एन्ड्रिकसहित १० युवा खेलाडीहरू यसपटकको फिफा विश्वकपमा डेब्यु गर्ने तयारीमा रहेका छन् ।

२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ मा नयाँ पुस्ताका उदीयमान खेलाडीहरूका लागि विश्वकै सबैभन्दा ठूलो मञ्चमा चम्किने एउटा उत्कृष्ट अवसर बन्न सक्छ ।

विश्व फुटबलमा सनसनी मच्चाउनेदेखि भावी ‘ब्यालोन डी ओर’ विजेताहरूसम्म, विश्वकपले सधैँ फुटबलका नयाँ सुपरस्टारहरूलाई विश्वभरका दर्शकमाझ चिनाउने गरेको छ ।

यस लेखमा यसपटक विश्वकपमा डेब्यु गर्दै आफ्नो प्रभाव छाड्न सक्ने १० युवा खेलाडीलाई प्रस्तुत गरेका छौं ।

१०. एन्ड्रिक (१९ वर्ष) – ब्राजिल

ब्राजिलको सुपरस्टारको रूपमा हेरिएका १९ वर्षीय एन्ड्रीकले सानै उमेरदेखि आफूमाथिको ठूलो अपेक्षालाई उत्कृष्ट रूपमा सम्हालेका छन् । रियल मड्रिडका यी स्ट्राइकरले फ्रान्सेली क्लब लियोनमा लोनमा रहँदा ५ गोल र ७ असिस्ट गर्दै युरोपेली फुटबलमा आफ्नो पहिलो सिजन उत्कृष्ट बनाएका छन् । उनको गति, मुभमेन्ट र गोल गर्ने सटिक क्षमताले उनलाई २०२६ विश्वकपको उदाउँदो तारा बनाउन सक्छ ।

९. कोबी माइनू (२१ वर्ष) – इंग्ल्यान्ड

प्रिमियर लिग र समग्र युरोपकै सबैभन्दा रोमाञ्चक युवा प्रतिभा मानिएका मेनुले म्यानचेस्टर युनाइटेडमा माइकल क्यारिकको निगरानीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । युनाइटेडका मुख्य खेलाडी बनिसकेका उनको खेल सन्तुलन र मिडफिल्डको बुद्धिमत्ता प्रशंसनीय छ । इङ्गल्याण्डको टोलीमा होल्डिङ मिडफिल्डका लागि कडा प्रतिस्पर्धा भए तापनि उनले नियमित अवसर पाउन सक्ने अनुमान गरिएको छ ।

८. इब्राहिम म्बाये (१८ वर्ष) – सेनेगल

अफ्रिकी फुटबलका सबैभन्दा प्रतिक्षित युवा खेलाडी म्बाये पेरिस सेन्ट–जर्मेन पीएसजीका भरपर्दा विङ्गर हुन् । आफ्नो गति र उत्कृष्ट ड्रिब्लिङका लागि चिनिने यी १८ वर्षीय खेलाडीलाई पिएसजीका म्यानेजर लुइस एनरिकेले यस सिजन १० खेलमा सुरुवाती अवसर दिएका थिए । जसमा उनले ३ गोल गरे । उनी सेनेगलको आक्रामक पङ्क्तिका नयाँ हतियार हुन् ।

७. पाउ कुबार्सी (१९ वर्ष) – स्पेन

बार्सिलोनाको प्रसिद्ध ‘ला मासिया’ एकेडेमीका उत्पादन कुबार्सीले आफ्नो परिपक्व डिफेन्स मार्फत बार्सिलोनालाई २०२५÷२६ को ला लिगा उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । यस सिजन ३१ लिग खेल खेल्दै युरोपकै उत्कृष्ट युवा डिफेन्डरको रूपमा उदाएका १९ वर्षीय कुबार्सी यस पटकको विश्वकपमा स्पेनको रक्षापङ्क्ति (डिफेन्स) का मुख्य खम्बा हुन सक्छन् ।

६. इलियट एन्डरसन (२३ वर्ष) – इंग्ल्यान्ड

नटिङ्घम फरेस्टका मिडफिल्डर एन्डरसनले यस सिजन प्रिमियर लिगमा सानदार प्रदर्शन गरेपछि उनलाई म्यानचेस्टर सिटी र युनाइटेड जस्ता ठूला क्लबले महँगो रकममा अनुबन्ध गर्न आँखा गाडेका छन् । यस सिजन फरेस्टका ३७ खेलमा सुरुवाती गर्दै स्थिरता देखाएका २३ वर्षीय एन्डरसनलाई इङ्गल्याण्डका मुख्य प्रशिक्षक था‘मस टुचेलले उप–कप्तान डिक्लन राइससँग मिडफिल्डमा जोडीका रूपमा मैदान उतार्ने सम्भावना बलियो छ ।

५. निको पाज (२१ वर्ष) – अर्जेन्टिना

इटालियन क्लब कोमोलाई इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउन २१ वर्षीय निको पाजले १२ गोल र ६ असिस्ट गर्दै सनसनीपूर्ण प्रदर्शन गरे । रियल म्याड्रिडबाट कोमो पुगेका यी मिडफिल्डरले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि समेत गोल गरिसकेका छन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि उनी विश्वकपमा महँगो सम्पत्ति साबित हुन सक्छन् ।

४. निको ओरिली (२१ वर्ष) – इंल्यान्ड

म्यानचेस्टर सिटीका २१ वर्षीय डिफेन्डर ओरेलीले आधुनिक फुटबलमा फुल–ब्याकको परिभाषा बदल्दै यस सिजन पेप ग्वार्डिओलाको नेतृत्वमा ५ गोल र ३ असिस्ट गरे । रक्षापङ्क्ति बलियो राख्नुका साथै आक्रामक रूपमा गोल गर्ने क्षमता भएका ओरेली इङ्गल्याण्डका प्रशिक्षकका लागि विश्वकप डेब्युमा एक उत्कृष्ट विकल्प हुन् ।

३. जोआओ नेभेस (२१ वर्ष) – पोर्चुगल

तीव्र गति, चतुरता र प्राविधिक रूपमा निपुण २१ वर्षीय नेभेसले पेरिस सेन्ट–जर्मेन पीएसजीलाई लिग वान र च्याम्पियन्स लिग जिताउन मुख्य भूमिका खेले । लुइस एनरिकेको टोलीमा भिटिन्हा र फाबियन रुइजसँगै मिडफिल्ड सम्हालेका नेभेस पोर्चुगलको टोलीका लागि पनि विश्वकपमा निकै प्रभावशाली खेलाडी हुनेछन् ।

२. डिजायर डुए (२१ वर्ष) – फ्रान्स

फ्रान्सेली फुटबलका नयाँ नायक मानिएका पिएसजीका डौए मैदानको मध्यभाग, विङ्गर र स्ट्राइकरको रूपमा समेत खेल्न सक्ने बहुमुखी खेलाडी हुन् । उत्कृष्ट ड्रिब्लिङ, सुटिङ र पासिङ क्षमता भएका २१ वर्षीय डौएले गत वर्षको च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलान विरुद्ध सानदार प्रदर्शन गर्दै सनसनी मच्चाएका थिए । उपाधि दाबेदार फ्रान्सका लागि उनी मुख्य हतियार हुन् ।

१. लामिन यमाल (१८ वर्ष) – स्पेन

१६ वर्षको उमेरमा स्पेनलाई युरो २०२४ को उपाधि दिलाएका यामाल हाल विश्व फुटबलकै उत्कृष्ट खेलाडीहरूको सूचीमा परिसकेका छन् । ला मासियाकै अर्का उत्पादन यामालले यस सिजन २७ गोल योगदान (गोल र असिस्ट) र ला लिगा उपाधि जित्दै सानदार फर्ममा छन् । अब १८ वर्ष पुगेका यामालमाथि स्पेनलाई २०१० पछि पहिलो पटक विश्वविजेता बनाउने ठूलो जिम्मेवारी छ ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ युवा स्टार

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय