0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

अध्ययनको खुलासा : आइफोनले घटायो जन्मदर

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको एक अध्ययन अनुसार सन् २००७ मा आइफोन भित्रिएपछि त्यहाँको जन्मदर २२ प्रतिशतले घटेको छ।

आम रूपमा सामान्यतया कुनै देशको आर्थिक अवस्था सुधारिँदै जाँदा त्यहाँको जन्मदर घट्ने गर्छ । तर पछिल्ला दुई दशकमा भने यसभन्दा फरक प्रवृत्ति देखा परेको छ। विश्वका विभिन्न देशहरूमा सामाजिक तथा आर्थिक अवस्था फरक–फरक भए पनि जन्मदर चाहिँ करिब एउटै गतिमा घट्न थालेको छ।

अमेरिकाको नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्चको एक अध्ययनअनुसार अमेरिकामा सन् १९८० देखि २००७ सम्म प्रजनन दर लगभग स्थिर रहेको थियो । तर सन् २००७ पछि यसमा निरन्तर गिरावट आउन सुरु भयो । सन् २०२४ सम्म आइपुग्दा यो दर २२ प्रतिशतले घटेर प्रति १ हजार महिलामा जन्मदर ५४ मा झरेको छ ।

जहाँ बढी आइफोन, त्यहीँ घट्यो जन्मदर

अनुसन्धानकर्ताहरूले सन् २००७ देखि २०११ सम्म अमेरिकाका ती क्षेत्रहरूको अध्ययन गरेका थिए जहाँ एटी एण्ड टी नेटवर्कमार्फत आइफोन उपलब्ध थियो ।

त्यस क्रममा के तथ्य पत्ता लाग्यो भने आइफोनको पहुँच बढी भएको ठाउँमा १५ देखि १९ वर्ष उमेरका महिलाहरूमा जन्मदर ४.५ देखि ८ प्रतिशतसम्म घट्यो भने २० देखि २४ वर्ष उमेर समूहमा ३.२ देखि ६.६ प्रतिशतसम्म कमी आएको थियो ।

अध्ययनअनुसार सन् २००७ देखि सन् २०११ को अवधिमा १५ देखि ४४ वर्ष उमेरका महिलाहरूको जन्मदरमा आएको कुल गिरावटको ३३ देखि ५२ प्रतिशत हिस्सा आइफोनको प्रभावसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ ।

किन घट्दैछ जन्मदर ?

अनुसन्धानकर्ताहरूको भनाइमा स्मार्टफोनको बढ्दो प्रयोगले मानिसहरूको सामाजिक व्यवहारमा पनि परिवर्तन ल्याएको छ । मानिसहरू आफ्ना मित्र तथा चिनजानका व्यक्तिहरूसँग प्रत्यक्ष भेटघाट कम गर्न थालेका छन् । यससँगै यौन गतिविधिमा पनि कमी आएको देखिएको छ ।

शोधकर्ताका अनुसार अनलाइन अश्लील सामग्रीको बढ्दो खपत र डिजिटल मनोरञ्जनको विस्तारले मानिसहरूको जीवनशैलीमा नकारात्मक प्रभाव पारेको छ । साथै स्मार्टफोनका कारण युवाहरूले गर्भनिरोधका उपायहरू तथा गर्भपतनसम्बन्धी जानकारीमा समेत सहज पहुँच पाएका छन् ।

अमेरिका मात्रै होइन, विश्वभर देखियो प्रभाव

सिनसिनाटी विश्वविद्यालयका अर्थशास्त्रीहरूले १२८ देशमा गरेको अर्को अध्ययनमा पनि समान खालका नतिजाहरू सार्वजनिक भएका छन् । अनुसन्धानकर्ताहरूले फरक–फरक स्वास्थ्य प्रणाली, धर्म, कानुन तथा आर्थिक अवस्था भएका देशहरूमा समेत स्मार्टफोनको व्यापक प्रयोग बढेपछि जन्मदरमा तीव्र गिरावट आएको पत्ता लगाएका छन्। इरान, चिली, मेक्सिको, टर्की र कोस्टारिका जस्ता देशहरूमा यो प्रवृत्ति स्पष्ट रूपमा देखिएको छ ।

बढ्यो स्क्रिन टाइम, घट्यो सामाजिक अन्तरक्रिया

अध्ययनअनुसार सन् २००३ मा मानिसहरूले दैनिक औसत ६८ मिनेट प्रत्यक्ष कुराकानी र सामाजिक भेटघाटमा बिताउँथे । तर सन् २०१९ सम्म आइपुग्दा यो समय घटेर ३८ मिनेटमा सीमित भयो। अर्थात् यसमा ४४ प्रतिशतको कमी आएको छ।

अर्कोतर्फ कम्प्युटर र डिजिटल उपकरणमा बिताइने समय दैनिक २२ मिनेटबाट बढेर ९६ मिनेट पुगेको छ । यो भनेको ३३६ प्रतिशतको वृद्धि हो ।

यद्यपि आइफोन वा स्मार्टफोन मात्र जन्मदर घट्नुका लागि जिम्मेवार नरहेको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । तथापि जन्मदरमा आएको गिरावटको एउटा प्रमुख कारण स्मार्टफोन नै भएको निष्कर्ष शोधकर्ताहरूको छ ।

पछिल्लो समय विश्वका धेरै विकसित तथा विकासशील देशहरूमा जन्मदर निरन्तर घटिरहेको छ । अमेरिकाको प्रजनन दर ऐतिहासिक रूपमा सबैभन्दा न्यून स्तरमा पुगेको छ । क्यानडामा सन् २०२४ मा प्रतिमहिलाको प्रजनन दर १.२५ थियो । यो भनेको जापान, सिङ्गापुर र स्पेनजस्ता देशहरूको स्तरसँग मिल्दोजुल्दो छ ।

चीनले सन् २०१६ मा आफ्नो एक सन्तान नीति खारेज गर्नुपरेको थियो । त्यस्तै जापान र दक्षिण कोरियाले जन्मदर बढाउन अर्बौं डलर खर्च गरेका छन् । तथापि उल्लेखनीय सफलता हासिल गर्न सकेका छैनन् । उता भारत र ब्राजिलजस्ता मध्यम आय भएका देशहरूमा पनि जन्मदर तीव्र रूपमा घटिरहेको छ  ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?