0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

युगान्डाबाट नेपाल भित्रिएको एभोकाडोमा ‘फाइटोप्थोरा पाल्मिभोरा’ रोग, आयातमा रोक

भारतीय बाटो हुँदै र कहिलेकाहीँ तान्जानियाको उत्पादन भनेर समेत लुकाएर ल्याइने गरिएको युगान्डाको एभोकाडोमा नेपालको स्वदेशी खेतीलाई नै सखाप पार्न सक्ने रोगको जीवाणु भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युगान्डाबाट आयात हुने एभोकाडोमा हानिकारक रोग ‘फाइटोप्थोरा पाल्मिभोरा’ भेटिएपछि सरकारले त्यसको आयातमा तत्कालका लागि पूर्ण रोक लगाएको छ ।
  • प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले अन्तर्राष्ट्रिय नियम अनुसार युगान्डालाई ‘नोटिफिकेसन अफ नन–कम्प्लायन्स’ जारी गर्ने तयारी गरेको छ ।
  • सरकारले चीनबाट आयात हुने धनियाँ र भारतको केरलाबाट आउने केरामा पनि गम्भीर रोग तथा किराको जोखिम देखिएकाले आयातमा रोक लगाएको छ ।

२८ जेठ, काठमाडौं । नेपालमा अफ्रिकाको युगान्डाबाट आयात हुने एभोकाडोमा हानिकारक रोग भेटिएपछि सरकारले यसको आयातमा तत्कालका लागि पूर्णरूपमा रोक लगाएको छ ।

भारतीय बाटो हुँदै र कहिलेकाहीँ तान्जानियाको उत्पादन भनेर समेत लुकाएर ल्याइने गरिएको युगान्डाको एभोकाडोमा नेपालको स्वदेशी खेतीलाई नै सखाप पार्न सक्ने रोगको जीवाणु भेटिएपछि प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले आयात अनुमतिपत्र (इन्ट्री परमिट) दिन बन्द गरेको हो ।

केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बजार अनुगमन गर्दा युगान्डाको एभोकाडोमा गम्भीर प्रकृतिको रोग देखिएको बताए ।

‘हामीले बजारमा गएर सर्भे र ट्रेस ब्याक गरेर हेर्दा युगान्डाको एभोकाडोमा नेपालमा प्रतिबन्धित र स्वदेशी नेपाली एभोकाडो खेतीमा सल्कन सक्ने रोग ‘फाइटोप्थोरा पाल्मिभोरा’ को एकदमै प्रोमिनेन्ट (स्पष्ट) उपस्थिति देखियो,’ उनले भने, ‘त्यसले गर्दा हामीले विगत १०–१२ दिनदेखि त्यसको आयात अनुमतिपत्र जारी गर्न बन्द गरेका छौं ।’

केन्द्रका अनुसार बजारमा ९ सय रुपैयाँ किलोसम्ममा बिक्री भइरहेका यस्ता रोगग्रस्त एभोकाडो भेटिए जफत गरी नष्ट गरिने छ ।

स्वदेशी कृषि उत्पादन जोगाउन यो कदम चालिएको र तत्काल कुनै ‘करेक्टिभ एक्सन मेजर’ (सुधारात्मक कदम) नभएसम्म आयात नखुल्ने केन्द्रले जनाएको छ ।

निर्यातकर्ता देशलाई ‘नन-कम्प्लायन्स’ रिपोर्ट पठाइने

अन्तर्राष्ट्रिय व्यापार सम्झौता र विश्व व्यापार संगठनको एसपीएस सम्झौता अनुसार नेपालले युगान्डालाई यस विषयमा औपचारिक जानकारी गराउने तयारी गरेको छ ।

‘त्यो रोगको मोलिक्युलर भेरिफिकेसन (आणविक प्रमाणीकरण) का लागि हामीले प्याथोजेन (रोगको कारक तत्व) पठाएका छौं,’ वरिष्ठ अधिकृत पौडेलले थपे, ‘त्यसको रिपोर्ट आइसकेपछि हामी डब्लूटीओको नियम अनुसार नेपाललाई प्राप्त अधिकार प्रयोग गरेर ‘नोटिफिकेसन अफ नन–कम्प्लायन्स’ (मापदण्ड पालना नभएको सूचना) जारी गर्छौं ।’

युगान्डाको एभोकाडोमा देखिएको फाइटोप्थोरा पाल्मिभोरा मुख्यतया एउटा विनाशकारी ढुसीजन्य वनस्पति रोग (प्याथोजेन) हो । यसको संक्रमणले एभोकाडोको फल कुहाउने मात्र नभई बिरुवाको जरा र डाँठलाई समेत कुहाएर सिङ्गै बोटलाई सुकाएर मारिदिन्छ ।

पानी र माटोका माध्यमबाट द्रुत रूपमा फैलिने यो रोग नेपालका लागि अत्यन्तै खतरनाक मानिएको छ । किनभने, बजारबाट किनेर ल्याइएको आयातित संक्रमित एभोकाडो खाएर त्यसको बोक्रा वा दाना जथाभावी फालिए यसको जीवाणु सजिलै हाम्रो माटोमा मिसिन पुग्छ ।

यसरी माटोमा पुगेको जीवाणुले नेपालमा फस्टाउँदै गरेको व्यावसायिक एभोकाडो खेतीमा सल्किएर यहाँको सम्पूर्ण उत्पादन र बोटहरू नै सखाप पार्न सक्ने उच्च जोखिम रहेकाले स्वदेशी कृषिलाई जोगाउन प्लान्ट क्वारेन्टिनले यसको आयातमा तत्काल रोक लगाएको हो ।

यसबाहेक सरकारले चीनबाट आउने धनियाँ र भारतको केरला राज्यबाट आउने केरामा पनि गम्भीर रोग र किराको जोखिम देखिएपछि आयातमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?