News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाही प्रक्रिया अगाडि बढाउन सडक विभागलाई निर्देशन दिएका छन् ।
- नेपाल निर्माण व्यवसायी महासंघले मन्त्रालयको उक्त निर्देशनले व्यवसायीलाई आतंकित बनाएको भन्दै सो कदमको तीव्र भत्सर्ना गरेको छ ।
- राज्यले अपराधी सरह व्यवहार गरेको आरोप लगाउँदै महासंघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
२९ जेठ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पूर्वाधार विकास मन्त्रालयले व्यवसायीलाई आतंकित बनाएको भन्दै भत्सर्ना गरेको छ ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बुधबार सडक विभागलाई विशेष निर्देशन जारी गरेका थिए । जसमा सार्वजनिक निकायबाट कुनै अवरोध नभएका तर, सुरु ठेक्का अवधिको ५० प्रतिशत भन्दा बढी म्याद थप भएका, समग्र प्रगति ९० प्रतिशतभन्दा कम भएका तथा एक महिनाभन्दा बढी अवधिदेखि निर्माणस्थलमा निर्माण व्यवसायी उपस्थित नभएका ठेक्का निरन्तरता दिन तथा अलपत्र अवस्थामा राख्न उपयुक्त हुने/नहुने विचार गरी सार्वजनिक खरिद ऐन अनुसार तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ । त्यसो नगरे निर्णय गर्ने अधिकार नै जिम्मेवार हुने चेतावनी समेत सचिवले सो पत्रमा दिएका थिए ।

मूल्य समायोजनबाट वञ्चित निर्माण व्यवसायी इतिहासमै आर्थिक रुपले सबैभन्दा बढी धराशायी भएको अवस्थामा सो निर्देशनले व्यवसायीलाई आतंकित बनाएको महासंघका महासचिव शिवहरी घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यसबीचमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले गरेका प्रतिबद्धतालाई समेत व्यवसायीले स्मरण गराएका छन् । सचिव सिग्देलको सो पत्रले न्यूनतम मानवीय समवेदनाको समेत उपहास गरेको महासंघको ठहर छ ।
राज्यले अभिभावकको व्यवहार गर्नुपर्नेमा अपराधी सरह व्यवहार गरेको भन्दै व्यवसायीले सिंगो राज्य प्रणालीप्रतिको भरोसा टुटेको समेत बताएका छन् । व्यवसायीले अब सशक्त आन्दोलन गर्ने समेत सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4