News Summary
Generated by OK AI. Editorially reviewed.- प्रस्तुत कवितामा लेखकले एक खेलाडीप्रति आफ्नो अगाध स्नेह र समर्पण व्यक्त गर्दै उनलाई प्रेरणाको अद्वितीय स्रोत मानेका छन् ।
- चिकित्सकले हिँड्न नसक्ने बताए पनि खेलाडीले देखाएको दौडने साहस र खेलप्रतिको समर्पणलाई कवितामा प्रशंसा गरिएको छ ।
- मैदानमा ती खेलाडी नभएपछि आफू सधैंको लागि स्वतन्त्र दर्शक बन्ने कुरा उल्लेख गर्दै लेखकले खेलाडीप्रतिको गहिरो आत्मीयता दर्शाएका छन् ।
तिमी को हौ ?
जो यति धेरै म तिमीलाई प्रेम गरिरहेछु ।
कसम !
यति धेरै तिम्रो तस्बिर त
मैले आफ्नै प्रेमिकाको पनि हेरेको छैन ।
यति धेरै तिम्रो खेल त
मैले आफ्नै अनुहार ऐनामा पनि हेरेको छैन ।
तिमी को हौ ?
जब जब तिमी खेल हार्छौ
तब तब म तिमीले जितेका तिम्रा पुराना खेल हेर्छु
किनकि, मलाई तिमीप्रति कुनै वितृष्णा ल्याउनु छैन ।
तिमी को हौ ?
मैदानमा खेलाडी हौ तिमी
तर, मेरो लागि
सडकमा तिमी ‘कुशल चालक हौ’
जो, व्यस्त सडकमा पनि सबैभन्दा अगाडि पुग्छ ।
मेरो लागि
तिमी ‘नदी हौ’
जो, सागर भेट्ने सङ्कल्प राख्छ ।
मेरो लागि
तिमी ‘आकाश हौ’
जो बादललाई आफ्नो खबर
पानीको गोजीमा राखेर धर्तीमा पठाइरहन्छ ।
मेरो लागि
तिमी ‘परीक्षा हौ’
जो, हरबखत तिम्रो लागि डराइरहन्छु ।
तिम्रो लागि म फगत दर्शक हुँ
तर, मेरो लागि तिमी
मीठो पुरस्कार हौ ।
चिकित्सकले हिंड्न सक्दैन भनिरहेको बेला
तिमीले दौडने साहस राख्यौ
यसकारण तिमी मलाई औधी मनपर्छ ।
के तिमीलाई थाहा छ ?
तिमी ! मैदानमा छिर्दै गर्दा
तिम्रो झुकेको शिर
मेरो लागि आत्मविश्वास हो ।
तिमीले ‘पास’ नपाएर
छोडिएको गोल
मेरो लागि सम्भावना हो ।
तिमीले गोल गर्दा तिम्रो घुँडा जब टेकिन्छ
त्यो मेरो लागि ऊर्जा हो ।
तर, तिमी को हौ ?
जे होस् ?
तिमी मलाई औधी मनपर्छ ।
म तिमीलाई हरबखत पर्खन्छु
जसरी पर्खन्छन्
बच्चाहरू ‘बजार गएकी आमालाई’
जसरी पर्खन्छन्
‘स्कूलमा छोराछोरीले’
दिउँसो स्कूल आएर ‘फि’ तिर्छु भनेर विश्वास दिलाएका ‘बा–आमा’लाई
जसरी पर्खन्छन्
प्रेमीहरू ‘प्रियहरूलाई’
जसरी पर्खन्छन्
यात्रुहरू ‘अन्तिम बस, ट्रेन र विमानहरूलाई’
जसरी पर्खन्छन्
अस्पतालको शल्यक्रिया कक्ष अगाडि
‘बिरामीका आफन्तहरू’
यसरी नै म तिमीलाई पर्खिरहन्छु ।
तर, तिमी को हौ ?
मेरो सपनामा आउने ?
थाहा छ, तिमीलाई एउटा कुरा ?
कि,
मैदानमा तिमी सधैंको लागि नभएपछि
म, सधैंको लागि स्वतन्त्र दर्शक बन्नेछु ।
प्रतिक्रिया 4