+
+
Shares

कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापित पीडितको माग गूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित पीडितहरूले सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरी पुनःस्थापनाको माग गरेका छन् ।
  • भूमि र वन मन्त्रालयले शुक्लाफाँटाका वास्तविक पीडित पहिचान गर्न १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी संयुक्त अध्ययन टोली गठन गर्ने सहमति गरेका छन् ।
  • अध्ययन टोलीले प्रतिवेदन बुझाएपछि वास्तविक आरक्ष पीडितहरूको व्यवस्थापनका लागि सरकारले अधिकारसम्पन्न शक्तिशाली आयोग गठन गरी काम अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

३१ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापित पीडितको माग गूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

पीडितहरू सभापति लामिछानेलाई भेट्न सिंहदरबारस्थित संसद् भवनभित्र उनकै कार्यकक्षमा पुगेका थिए । भेटमा आरक्ष पीडितको टोलीले आफ्नो समस्या राखे । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा २०५८ सालमा आफूहरूलाई विस्थापित गरिएको स्मरण गराए । त्यसयता ३३ वटा आयोग बनिसके पनि समस्या समाधान नभएको, आयोगलाई दलीय भर्ती केन्द्र बनाएको र आफूहरू अझै सडक र खोला किनारमा अव्यवस्थित र असुरक्षित रूपमा बसिरहेको जानकारी गराए ।

भेटमा कञ्चनपुर २ का सांसद दिपक बोहरा पनि सहभागी थिए । बोहराले यो समस्या आफ्नो क्षेत्रमा विकराल रहेको भन्दै पहल गरिदिन सभापति लामिछानेलाई अनुरोध गरे ।

जवाफमा सभापति लामिछानेले शुक्लाफाँटा आरक्ष पीडितको समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता जनाए । त्यसक्रममा भेटमा सभापति लामिछानेले पीडितहरूलाई माग के हो, के गर्नुपर्‍यो भन्ने विषय ठोस रूपमा राख्न समेत आग्रह गरेका थिए ।

आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टले संख्या यकिन गरेको देवान विष्टको आयोगको प्रतिवेदन र जग्गा वा पैसा दिन सिफारिस गर्ने सुरेन्द्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गराई आफूहरूको व्यवस्थापन गर्न अनुरोध गरेका थिए । भट्टले कञ्चनपुरका ९ वटै पालिकाले आरक्ष पीडितलाई कहाँ कहाँ जमिन दिन सकिन्छ भनेर ठाउँहरू सुझाएको पनि जानकारी गराए ।

पीडितबाट समाधानको उपाय सुनेपछि सभापति लामिछानेले ‘ल तपाईंको काम अब सुरु हुन्छ, ढुक्क हुनुस् । धेरै बोलेर होइन गरेर हुने कुरा हो । त्यो प्रतिवेदन खोजी गर्छौं, तुरुन्तै काममा लाग्छौं’ भनेका छन् ।

लगत्तै भूमिमन्त्री प्रतिभा रावल र वनमन्त्री गीता चौधरीलाई फोन गरेर सभापति लामिछानेले शुक्लाफाँटा आरक्षको समस्या तुरुन्त समाधान गर्न निर्देशन दिए । पीडितहरूलाई भूमि मन्त्रालयमा पठाए ।

सभापति लामिछानेलाई भेट्न आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टसहित पीडितहरू बासुदेव चौधरी, टेकराज पनेरु, जय रोकाया, कृष्ण भट्ट पुगेका थिए । यसैगरी रास्वपाका स्थानीय नेता पनि सहभागी थिए ।

संख्या यकिन गर्न अध्ययन टोली

सभापति लामिछानेले फोन गरेर निर्देशन दिएपछि भूमि मन्त्रालयले पीडितहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेको अध्यक्ष भट्टले जानकारी दिए ।

भूमि मन्त्रालयमा वनमन्त्री गीता चौधरी पनि पुगिसकेकी थिइन् । भूमि मन्त्री रावल र चौधरीले पीडितहरूसँग छलफल गरेर पीडितको संख्या यकिन गर्न कर्मचारीको अध्ययन टोली बनाउने सहमति गरेका छन् ।

भूमिमन्त्री रावलले शुक्लाफाँटा आरक्ष समस्या समाधानका लागि संख्या यकिन गर्नुपर्ने देखिएको र यो भएपछि समाधान सहज हुने भन्ने प्रस्तावमा पीडितहरूले सहमति जनाएपछि भूमि मन्त्रालय, वन मन्त्रालय, नापी विभाग, निकुञ्ज विभागका कर्मचारीको अध्ययन टोली बनाएर १५ दिनभित्र टुंग्याउने बताइन् ।

‘१५ दिनको लागि कर्मचारीको अध्ययन टोली बनाउने, टोलीले संख्या यकिन गराउने, नक्कली मान्छेलाई हटाउने, वास्तविक पीडितलाई भित्र्याइ यकिन गरेर के कति जग्गा दिन सकिन्छ भनेर छलफल गर्ने कुरा भयो । टोलीले टुंग्याएर प्रतिवेदन दिएपछि अधिकारसम्पन्न शक्तिशाली आयोग बनाएर पुनर्स्थापना गर्ने प्रतिबद्धता मन्त्रीज्यूबाट आयो’ अध्यक्ष भट्टले भने । अध्ययन टोलीले आवश्यक पर्दा पीडित संघर्ष समितिलाई छलफलमा आमन्त्रण गर्ने सहमति पनि बनेको छ । मन्त्रीहरूसँगको छलफलमा कञ्चनपुर १ का सांसद जनकसिंह धामी पनि उपस्थित थिए ।

आरक्ष पीडितले यसअघि शुक्रबार उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई पनि मन्त्रालयमा भेटेर आफ्नो समस्या समाधानका लागि मन्त्रिपरिषद्मा पहल गरिदिन अनुरोध गरेका थिए । मन्त्री श्रेष्ठले आफू राजनीतिक अभियानका क्रममा कञ्चनपुर जाँदा यो समस्याबारे थाहा पाएको भन्दै आफ्नो तर्फबाट सम्पूर्ण पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?