+
+
Shares

चीनमा रहेका नेपालीसँग परराष्ट्रमन्त्रीले भने- हामीलाई तपाईंहरूको साथ चाहिएको छ

आइतबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले देश निर्माणको साझा अभियानमा जोडिन डायस्पोरालाई आग्रह गरेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको आर्थिक समृद्धिका लागि प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र क्षमता आवश्यक रहेको भन्दै सहयोगका लागि अपिल गरे ।
  • युवा पलायन रोक्न नेपालमा वार्षिक ४ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्नुपर्ने चुनौती रहेको परराष्ट्रमन्त्री खनालले उल्लेख गरे ।
  • चीनमा रहेका नेपाली विद्यार्थी र व्यवसायीहरूलाई आफूले सिकेको प्रविधि तथा ज्ञान नेपालको हितमा प्रयोग गर्न उनले आग्रह गरे ।

३१ जेठ, बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको आर्थिक समृद्धिको यात्रामा प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सिप र क्षमता अपरिहार्य रहेको भन्दै सरकारलाई सहयोग गर्न अपिल गरेका छन्।

आइतबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजित नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले देश निर्माणको साझा अभियानमा जोडिन डायस्पोरालाई आग्रह गरेका हुन्।

‘तपाईंहरूले चुनावमा भोट दिएर हामीलाई कानुन र नीति बनाउने ठाउँमा पुर्‍याइदिनुभयो, तर योगदान गर्ने कुरामा तपाईंहरूको जिम्मेवारी अझै बाँकी छ,’ मन्त्री खनालले भने, ‘म नेपाल सरकारको प्रतिनिधिको रूपमा स्पष्ट भनिरहेको छु- हामीलाई तपाईंहरूको साथ चाहिएको छ।’

संसारभर नेपालीहरूको सङ्ख्या तीव्र रूपमा बढेको र युवाहरू बिदेसिने क्रम नरोकिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेपालमै रोजगारी सिर्जना गर्नु सरकारको मुख्य चुनौती रहेको बताए।

श्रम बजारमा बर्सेनि प्रवेश गर्ने करिब पाँच लाख युवामध्ये मुस्किलले ३० देखि ६० हजारले मात्र रोजगारी पाउने गरेको यथार्थ औँल्याउँदै उनले युवा पलायन रोक्न वार्षिक साढे चार लाख नयाँ रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपाल अहिले जनसाङ्ख्यिक लाभांशको सुनौलो समयमा रहे पनि आगामी २० वर्षपछि बुढ्यौली जनसङ्ख्यातर्फ जाने भएकाले विकासका लागि समय निकै छोटो रहेको मन्त्री खनालले स्मरण गराए।

उनले चीनमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र व्यवसायीहरूलाई आफूले सिकेको ‘कटिङ एज साइन्स एन्ड टेक्नोलोजी’ र ज्ञानलाई नेपालको हितमा प्रयोग गर्न आग्रह गरे। नेपाल र चीनबिचको व्यापार घाटा कम गर्न र प्रविधि तथा पर्यटनको विकासमा चीनमा रहेको डायस्पोराले ‘ब्रिज’ को काम गर्न सक्ने उनको भनाइ थियो।

‘रोम एकै दिनमा बनेको थिएन, त्यसैगरी नेपाल पनि केही व्यक्तिले एकै दिनमा बनाउन सक्दैनन्। यो नेपालभित्र र बाहिर रहने सम्पूर्ण नेपालीहरूको सामूहिक प्रयासबाट मात्र सम्भव छ,’ मन्त्री खनालले भने।

सरकारले डायस्पोराको लगानी र ज्ञान भित्र्याउन आवश्यक पर्ने सम्पूर्ण कानुनी र व्यावहारिक सहजीकरण गर्न तयार रहेको पनि उनले प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?