News Summary
Generated by OK AI. Editorially reviewed.- फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले चिनियाँ एआई स्टार्टअप कम्पनी मानुससँगको डेटा आदानप्रदान पूर्ण रूपमा बन्द गरेको छ ।
- चीन सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै २ अर्ब डलरको खरिद सम्झौता रद्द गर्न आदेश दिएपछि मेटाले यो कदम चालेको हो ।
- मानुसका चिनियाँ संस्थापकहरूले बाहिरी लगानीकर्ताबाट १ अर्ब डलर उठाएर आफ्नो स्टार्टअपलाई मेटाको नियन्त्रणबाट फिर्ता लिने तयारी गरेका छन् ।
३१ जेठ, काठमाडौं । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले चिनियाँ एआई स्टार्टअप कम्पनी मानुससँगको डेटा आदानप्रदान पूर्ण रूपमा बन्द गरेको छ ।
चीन सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो खरिद सम्झौता रद्द गर्न आदेश दिएपछि मेटाले यस्ताे कदम चालेको हो ।
मेटाका अनुसार, कम्पनीले मानुसका कर्मचारीहरूलाई आफ्नो आन्तरिक प्रणालीबाट अलग पनि गरिसकेको छ । योसँगै मेटाका कर्मचारीहरूलाई पनि मानुसका एआई प्रविधिहरू आन्तरिक काममा प्रयोग गर्न रोक लगाइएको छ ।
मेटाले आफ्ना कर्मचारीहरूलाई हालसम्म मानुसमा भइरहेका प्रोजेक्टहरूलाई आफ्नै प्रणालीमा सार्न निर्देशन दिँदै यो साझेदारीलाई आधिकारिक रूपमा बन्द गर्ने प्रक्रिया अघि बढाएको हाे ।
सन् २०२५ को डिसेम्बरमा मेटाले २ अर्ब डलरमा मानुस कम्पनीलाई किन्ने घोषणा गरेसँगै याे विवाद निस्किएकाे थियाे । एआई प्रविधिमा काम गर्ने मानुस कम्पनी सुरुमा चीनमा स्थापना भए पनि सन् २०२५ को मध्यतिर यसले आफ्नो मुख्य कार्यालय सिङ्गापुर सारेको थियो । तर, कम्पनी विदेश सरे पनि यसको प्रविधि र जग चिनियाँ भएकाले यसमा चीन सरकारकाे निगरानी कायम थियाे ।
त्यसपछि चीन सरकारले आफ्नो देशको संवेदनशील प्रविधि विदेशिएको र प्रविधि निर्यात सम्बन्धी नियम उल्लंघन भएको भन्दै करिब दुई महिना अघि नै यो सम्झौता रद्द गर्न आदेश दियाे । चीनको सोही दबाबका कारण अहिले मेटाले यस्ताे निर्णय गरेको हो ।
मेटाले सम्बन्ध तोड्न थालेपछि मानुसका चिनियाँ संस्थापकहरू अहिले आफ्नो स्टार्टअपलाई मेटाको नियन्त्रणबाट फिर्ता लिने तयारीमा लागेका छन् । उनीहरूले अन्य बाहिरी लगानीकर्ताहरूबाट करिब १ अर्ब डलर रकम उठाएर मेटाबाट कम्पनी फर्काउने याेजना बनाएका छन् ।
आवश्यक रकम जुटेपछि उनीहरूले कम्पनीलाई चिनियाँ संयुक्त लगानी (जोइन्ट भेन्चर) को ढाँचामा लैजाने र भविष्यमा हङकङको सेयर बजारमा सूचीकृत गराउने रणनीतिक तयारी गरिरहेका छन् ।
प्रतिक्रिया 4