+
+
Shares

हङकङमा आयोजित ट्राभल एक्स्पोमा नेपालको पर्यटन प्रचार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पोमा सहभागी भई नेपालका विभिन्न पर्यटकीय गन्तव्य र सम्भावनाहरूको प्रवर्द्धन गरेको छ ।
  • चारदिने प्रदर्शनीमा नेपालका आठवटा प्रमुख पर्यटन व्यवसायी कम्पनीले साहसिक, सांस्कृतिक, धार्मिक तथा आरोग्य पर्यटन प्याकेजहरू प्रस्तुत गरेका थिए ।
  • प्रदर्शनीका क्रममा बोर्डका तर्फबाट नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाबारे प्रस्तुति दिइनुका साथै स्थानीय नेपाली कलाकारहरूले सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।

१ असार, काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) हङकङ–२०२६ मा सहभागिता जनाउँदै नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरेको छ ।

हङकङ कन्भेन्सन एण्ड एक्जिबिसन सेन्टरमा जुन ११ देखि १४ सम्म आयोजित प्रदर्शनीमा नेपाल पर्यटन बोर्डसहित नेपालका आठ प्रमुख पर्यटन व्यवसाय कम्पनीहरूको सहभागिता रहेको थियो । चारदिने प्रदर्शनीका लागि स्थापना गरिएको नेपाल प्याभिलियनले हङकङ तथा अन्तर्राष्ट्रिय पर्यटन उद्योगका सरोकारवालामाझ नेपालको विविध पर्यटन गन्तव्य र उत्पादनलाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण मञ्चको रूपमा काम गरेको बोर्डले जनाएको छ ।

प्रदर्शनी अवधिभर नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, प्रकृतिमा आधारित पर्यटन, धार्मिक तथा तीर्थाटन, विलासी पर्यटन तथा आरोग्य पर्यटनका विविध सम्भावनाहरू प्रस्तुत गरेको थियो । विशेषगरी सहभागी कम्पनीहरूले प्रवर्द्धन गरेको आरोग्य पर्यटन प्याकेजले प्रदर्शनीका आगन्तुकहरूको ध्यान खिचेको थियो ।

नेपालबाट सहभागी पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, सम्भावित साझेदार तथा उपभोक्तासँग सक्रिय व्यावसायिक भेटघाट गर्दै विभिन्न बजार लक्षित आकर्षक भ्रमण प्याकेज तथा अनुकूलित यात्रा योजनाहरू प्रस्तुत गरेका थिए । यसले नेपाली पर्यटन व्यवसायीलाई नयाँ व्यापारिक अवसर सिर्जना गर्न सहयोग पुगेको बोर्डको भनाइ छ ।

प्रदर्शनीकै अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाले गन्तव्य प्रस्तुति गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटन सम्पदाबारे जानकारी दिएका थिए । उनले नेपालका विश्वप्रसिद्ध गन्तव्य, हिमाली सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन पूर्वाधारका विषयमा प्रस्तुति दिएका थिए ।

नेपालको प्रवद्र्धनात्मक अभियानलाई थप सशक्त बनाउन हङकङस्थित नेपाली कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए । परम्परागत नेपाली नृत्य तथा सांगीतिक कार्यक्रममार्फत विदेशी आगन्तुकहरूलाई नेपालको बहुआयामिक सांस्कृतिक सम्पदाको झलक प्रस्तुत गरिएको थियो । बोर्डले आगामी दिनमा पनि प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालको उपस्थिति विस्तार गर्दै नेपाललाई पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको तर्फबाट वरिष्ठ अधिकृत खेमराज तिमल्सेना र वरिष्ठ अधिकृत नारायणप्रसाद बस्याल सहभागी भएका थिए । नेपालबाट नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, पर्ल होलिडेज, द ट्रेक नेपाल, एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चर, ड्रागन होलिडेज, हाई पिक एडभेन्चर, सिनिक एडभेन्चर ट्रेक्स एन्ड एक्स्पिडिसन तथा हिमालय समिट क्लबले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?