News Summary
Generated by OK AI. Editorially reviewed.- कथाकार रमेश विकलको बहुचर्चित कथा ‘लाहुरी भैँसी’ मा आधारित नाटक थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ।
केही दशक पहिलाको ग्रामीण नेपाली समाजमा सम्पन्नता र प्रतिष्ठाको प्रतीक थियो– लाहुरी भैंसी । रिमिक्क सिङ घुमेको लाहुरी भैंसी पाल्ने सपना हरेक किसानको हुन्थ्यो । तर जो कोहीले यस्तो सपना कहाँ पूरा गर्न सक्थ्यो र ?
लुखुरे, गरीब र सोझो किसान हो । उसले ऋण काढेर राम्रो र धेरै दूध दिने लाहुरी भैंसी भर्खरै घरमा किनेर ल्याएको छ । दूध खाएर स्वस्थ हुने, घिउ बेचेर ऋण तिर्दै जाने उसको सानो सपना छ ।
भैंसी आँगनमा बाँधेपछि लिखुरेको घरमा सारा गाउँलेहरू ओइरिएका छन् । ‘कस्तो राम्रो ! कति राम्रो !’ सबैले भैंसीको मात्र बखान गरिरहेका छन् । लुखुरेको भाग्य चम्किने भन्दै यो परिवारलाई उक्साइरहेका छन् । यता लुखुरेकी श्रीमती साह्रै मख्ख छिन् । बुढालाई भैंसी किन्न उनले पनि त जोड गरेकी थिइन् । अनि भैंसी चराउन जाने भनेर लुखुरेको छोरा पनि उत्तिकै दंग छ ।
घरमा भैंसी आइपुगेको एकछिनपछि नै लुखुरेको सानो आँगनमा एक खालको मेला लाग्छ । गाउँलेहरू सबै नाचगान गर्न थाल्छन् ।
तर यो खुसीको माहोल धेरैबेर टिक्दैन । वातावरण हठात् शान्त हुन्छन् । मानौं कि उनीहरूको प्राण एउटै व्यक्तिमा निर्भर छ ।
गाउँका शक्तिशाली मानिएका द्वारेबा भर्खरै मात्र लुखुरेको लाहुरी भैंसी हेर्न त्यहाँ आइपुगेका छन् । उनी धुर्त छन् । लिखुरेजस्तो गरिब व्यक्तिको आँगनमा आफूकहाँ समेत नभएको लाहुरी भैंसी हुनु र गाउँभरिका मान्छे त्यहाँ जम्मा हुन उनका लागि मन पोल्ने विषय भनेको छ ।
000
हामी कुरा गर्दैछौं – नाटक लाहुरी भैँसीको । यो नाटक रमेश विकलको क्लासिक कथा लाहुरी भैंसीको नाट्यरूपान्तरण हो । यो अहिले मण्डला थिएटरमा मञ्चन भइरहेको छ । कथाको मूल मर्मलाई कतै नबिगारी, त्यसमा निर्देशकीय केही खुबी मिसाउँदै नाटक बनाइएको छ ।
यदि तपाईंले रमेश विकलको मूल कथा पढ्नु भएको छ भने नाटकको विषयवस्तु अनुमान गर्न सक्नुहुन्छ । किनकि, नाटकमा कथाको विषयवस्तु, घटना र पात्रहरूलाई खासै परिमार्जन गरिएको छैन ।

यदि पढ्नु भएको छैन भने रमेश विकले गरिबको मेहनत र सपनामाथि शोषण गर्ने गाउँका ठूलाबडाको चरित्रलाई यो कथामार्फत देखाएका थिए । २०२० को दशकतिर उनले लेखेको भएता पनि लुखुरे र द्वारेबाहरू कुनै न कुनै रूपमा अझैं हाम्रो समाजमा छँदैछन् ।
किनकि, द्वारेबाहरूलाई लुखुरेहरूले प्रगति गरेको मन पर्दैन । राम्रा वस्तु र स्रोतसाधनमा जसरी पनि आफूले नै कब्जा जमाउनुपर्छ भन्ने सोच द्वारेबाहरूको छ । यसका लागि उनले षडयन्त्रको जाल फ्याक्छन् । भविष्यमा आइपर्न सक्ने संकटको डरले लुखुरेहरू द्वारेबाहरूका जालमा पर्न बाध्य हुन्छन् । यो कुरा हाम्रो समाजको वर्तमान पनि हो । यसकारण नाटक हेरिरहँदा विषयवस्तु दशकौं पुरानो भन्ने लाग्दैन ।
फरक यति छ कि नाटकको सेटिङ्, प्रप्स र पात्रहरूको पहिरनले दर्शकलाई कथा लेखिएको समयमा फर्काउँछ ।
तपाईं कल्पना गर्न सक्नुहुन्छ –
मञ्चको दायाँतिर कमेरो माटोले लिपेको, ठूलो आँगन भएको, छाना छाएको, झ्याल भएको घर छ । त्यो घरसम्म जाने बाटो चटक्क मिलेको छ । त्यहाँ मान्छेहरू पनि आइरहन्छन् । त्यो द्वारेबाको घर हो ।

बायाँतिर छाना नभएको, हेर्दै उजाडिएको जस्तो, राम्रो आँगन नभएको, जान अप्ठ्यारो बाटो भएको घर छ । द्वारेबाको घरको तुलनामा यो घर कम उचाइमा पनि छ । यो घर लुखुरेको हो ।
यसरी मञ्चबाटै वर्गीय भेदको छनक दिन निर्देशकले प्रयास गरेका छन् । जुन धेरै हदसम्म सफल छ । र, प्रशंनीय छ । त्यसमा भोटो, दौरासुरुवाल, ढाका टोपी, गुन्यु चोलो लगायतका पात्रहरूको पोसाक विगतमा फर्काउने प्रयास गरेको छ ।
यो नाटकको सबैभन्दा प्रतीक्षा र उत्कर्षको पात्र भैंसी हो । यसमा पनि सही प्रप्सको छनोटमा निर्देशक सफल छन् ।
यद्यपि कास्टिङ, संवाद, पार्श्वसंगीत र कथानकमा भने निर्देशकले कतैकतै काम गर्ने ठाउँहरू छाडेका छन् । जस्तो; लुखुरे र उसको छोराको अनुहार, शरीरको आकार बुबा-छोरामा स्वभाविक लाग्दैन । तर, सबै कास्टिङ समस्या भने होइन।
संवादको हकमा सकेसम्म कथासँग तालमेल मिलाउन खोजिएको छ । कथामा प्रयोग भएका उखान टुक्काहरू, थेगोहरू नाटकमा आउँदा त्यसले एक प्रकारको रौनकता थपेको छ । तर, २० को दशकको कथा देखाइरहँदा संवादमा पनि सोही अनुसार काम गरिएको भए केही नवीनता पक्कै हुने थियो।
पार्श्वसंगीत भने धेरै कृत्रिम सुनिन पुगेको छ । भलै प्रत्यक्ष संगीत पनि समावेश छ । तर, स्वर स्पिकरबाट बजाइँदा प्रत्यक्ष संगीत लुक्न पुग्छ । अनि कताकता संगीतकै माध्यममार्फत पात्रहरूको मनोविज्ञानमा जबरजस्ती लान खोजिएको लाग्छ । त्यसो हुँदा संगीत र अभिनयले जुन गहिराइमा पुर्याउन पर्ने हो, त्यसको अभाव हुन्छ ।
हुन त मुल कथा नै छोटो नै छ । त्यसमा नै घटनाक्रमहरू खासै धेरै छैनन् ।
तर पनि कथानकमा खेल्न सकिने ठाउँहरू बाँकी रहेको नाटक सकिएपछि पनि महुसस भइरहन्छ । उदाहरणका लागि, लुखुरेले भैंसी ल्याउँदाको संघर्ष, भैंसी किन्न ऋण खोज्दाको संघर्ष, भैंसीका लागि आफ्नो गहना बेच्ने लुखुरेकी श्रीमतीको मनोविज्ञान, आफ्नो घरबाट भैंसी लैजाँदा छोरा र श्रीमतीको मनोविज्ञान आदि ।
यद्यपि यी कुरालाई नाटकमा समेट्न नखोजिएको पक्कै होइन । उदाहरणका लागि, द्वारेबाले जब भैंसी माथि खोट देखाउँछन्, त्यसले लुखुरेमा ल्याएको मनोवैज्ञानिक परिवर्तनलाई जुन तरिकाले देखाइएको छ, त्यो पक्ष प्रशंनीय छ । तर, त्यस प्रकारका तत्वहरूको अभाव हुँदा कथा र नाटकबीच भेद त्यति देखिँदैन । सम्भवत: सामाजिक यथार्यवादी कथा भएकाले पनि यो पाटो छाडिएको हुन सक्छ ।

भलै, यो नाटकले भन्न खोजेको सन्देश दर्शकसम्म छाड्नमा भने निर्देशक सफल छन् । नाटकले ग्रामीण जीवनको स्वाद चखाउँछ । महिला, बालबालिका र कामदारहरूको स्वभाव, हर्कत र संवादले दर्शकदीर्घालाई रसिलो बनाउँछ ।
समग्रमा, रैखिक शैलीमा कथा भनिएको यो नाटकले गरिबको सोझोपन, दास मनोवृत्ति र ठूलाको स्वार्थी प्रवृत्तिलाई मञ्चमा उतार्न सफल छ । र, नाटक सकिँदा पक्कै पनि हाम्रो समाजमा रहेको प्रवृत्तिबारे प्रश्न गर्न बाध्य पार्छ – आखिरमा लुखुरे के लाहुरी भैंसी पाल्न नहुने हो ? नहुने हो भने कहिलेसम्म नहुने हो ?
निर्देशक : अनुप न्यौपाने
नाटककार : संयोग गुरागाईं
कथा : रमेश विकल
मञ्चमा : नवीन तामाङ, सुष्मिता कार्की, भास्कर बुढा, प्रेमदेव विश्वकर्मा, मोहन भण्डारी, सुनील राई, अमृत सुनार, सन्देश पाण्डे, तरुण देउवा, समीर भट्टराई, रोशन कायस्थ, सुष्मिता श्रेष्ठ, ज्योत्स्ना घिमिरे, श्रेया श्रेष्ठ, मेलिना राई, सेजल गौतम, अनुस्का कार्की, विनय पन्त, सरोज नकर्मी, पाल्देन घिसिङ, मृदुल कृष्ण दाहाल
स्टेज म्यानेजर : सन्तोष गिरी
लाइभ सङ्गीत : सौरभ चालिसे, सलिना बीके, जीवन राई, संगम महर्जन
नाटकघर : मण्डला थिएटर, थापागाउँ नयाँ बानेश्वर
मञ्चनअवधि : २२ जेठदेखि ७ असारसम्म
प्रतिक्रिया 4