+
+
Shares

बालबालिकालाई सामाजिक सञ्जालमा बन्देज लगाउँदै बेलायत

प्रधानमन्त्री स्टार्मर भन्छन्– देशका लागि ठूलो क्षण

बेलायतको यो कदमले बालबालिकाको अनलाइन सुरक्षा नीतिलाई कडा बनाउने विश्वव्यापी अभियानलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १७:५४

१ असार, काठमाडौं । बेलायतले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्लाटफर्म प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । जसलाई प्रधानमन्त्री कियर स्टार्मरले ‘देशका लागि ठूलो क्षण’ भन्दै टिप्पणी गरेका छन् ।

सोमबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्टार्मरले सामाजिक सञ्जाल तथा प्रविधि कम्पनीहरूले सरकारको यस कदमको विरोध गरे पनि आफू पनि प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।

उनले यो निर्णय बालबालिकालाई हानिकारक सामग्री र अत्यधिक स्क्रिन समयबाट जोगाउनका लागि गरिएको महत्वपूर्ण कदम रहेको दाबी गरे । उनले भने, ‘हाम्रा बालबालिकाको सुरक्षा र खुसीका विषयमा म कुनै पनि सम्झौता गर्न तयार छैन ।’

बेलायतको यो कदमले बालबालिकाको अनलाइन सुरक्षा नीतिलाई कडा बनाउने विश्वव्यापी अभियानलाई सशक्त बनाउने अपेक्षा गरिएको छ । यसअघि अष्ट्रेलिया, क्यानडा, ब्राजिल र इन्डोनेसियाले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा उमेर–आधारित प्रतिबन्ध वा आवश्यकतासम्बन्धी कानुन  ल्याएर कार्यान्वयन गरिसकेका छन् ।

यस्तै, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायतका देशहरूले पनि यस्तै उपायहरूको खोजी गरिरहेका छन् ।

बेलायती प्रधानमन्त्री स्टार्मरले बेलायतले यो कानुनलाई सशक्त रूपमा कार्यान्वयन गर्ने र अष्ट्रेलियाको व्यवस्थाभन्दा अझै अगाडि जाने प्रतिmित्रया दिएका छन् ।

समाचारअनुसार स्टार्मरले प्रतिबन्ध कुन–कुन एपमा लागु हुने भन्नेबारे अहिल्यै विस्तृत जानकारी दिएका छैनन् । तर, द सन्डे टाइम्सका अनुसार यो प्रतिबन्ध टिकटक, इन्स्टाग्राम, फेसबुक, एक्स, युट्युब, स्न्यापच्या, थ्रेड्स, ट्वीच, किक र रेडिटमा लागु हुने समाचारमा उल्लेख गरेको छ ।

प्रधानमन्त्री स्टार्मरले गेमिङ तथा लाइभस्ट्रिमिङ प्लेटफर्ममार्फत अपरिचित व्यक्तिहरूले बालबालिकासँग सम्पर्क गर्न नपाउने व्यवस्था गर्न पनि कदम चाल्ने बताए । उनले सामाजिक सञ्जालसम्बन्धी यो प्रतिबन्ध आगामी वर्षको सुरुवातमै लागु गर्ने पनि जानकारी दिए ।

आफ्नै पार्टीभित्र कमजोर नेतृत्वको आरोप लगाउँदै राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री स्टार्मर सरकारले यस्तो कानुनको तयारी गरेको हो । उनले यस्तो बेलामा पनि बालबालिका माथिको सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने विषय प्रभावकारी हुनेमा सरकार विश्वस्त रहेको बताएका छन् ।

यद्यपि कतिपय बाल अधिकारकर्मीहरूले यसको प्रभावकारिताबारे शंका व्यक्त गरेका छन् ।

प्रधानमन्त्री स्टार्मरले यस प्रतिबन्धको सफलताको अर्थ भविष्यमा ‘सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकाको सङ्ख्यामा ठूलो गिरावट आउनु’ र ‘बालबालिका फरक तरिकाले हुर्कन सक्छन् भन्ने सांस्कृतिक परिवर्तन स्थापित हुनु’ले दर्शाउने बताए ।

यो निर्णय सरकारले मागेको सार्वजनिक सुझाव प्रक्रियापछि आएको हो, जसमा अभिभावक, प्रविधि उद्योग र बालबालिकाबाट करिब एक लाख १६ हजार प्रतिक्रिया प्राप्त भएका थिए । सन् २०१२ मा समलिङ्गी विवाहसम्बन्धी सुझाव सङ्कलनपछि बेलायतमा सार्वजनिक परामर्शका लागि प्राप्त प्रतिक्रियामध्ये यो दोस्रो ठूलो संख्या रहेको बताइएको छ ।

संस्कृति सचिव लिसा नान्दीले सार्वजनिक परामर्शमा सहभागी अधिकांश युवाहरू समेत बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने पक्षमा रहेको बताएकी छन् ।

बीबीसीसँग आइतबार कुरा गर्दै नान्दीले भनिन्, ‘म सामाजिक सञ्जालमाथिको प्रतिबन्ध मात्रै सबै समस्याको अन्तिम समाधान हो भन्ने मान्दिनँ । तर अष्ट्रेलियाले यसले महत्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने कुरा निकै स्पष्ट रूपमा देखाएको छ ।’

यस प्रतिबन्धले बेलायत र अमेरिकाबीचको तनावलाई थप बढाउनसक्ने अनुमान गरिएको छ । लन्डनस्थित अमेरिकी दूतावासको वक्तव्यअनुसार अमेरिकाले यस्ता नियमहरू सीमित दायराका हुनुपर्ने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घन गर्न नहुने चेतावनी दिएको छ ।

साथै, यस्ता नियमहरूले अमेरिकी प्रविधि कम्पनीहरूमाथि थप दायित्व र बोझ सिर्जना गर्नसक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका सञ्चार प्रविधिका प्राध्यापक जोन क्रोक्राफ्टले सामाजिक सञ्जाल प्रतिबन्धको समर्थन गर्नेहरूको उद्देश्य राम्रो भएपनि तय गरेको बाटो गलत भएको टिप्पणी गरेका छन् । उनले यस्ता परिवर्तनले बालबालिकालाई आवश्यक जानकारी वा सेवा उपलब्ध गराउने वेबसाइटहरूमा पहुँचबाट समेत वञ्चित गर्न सक्ने बताए ।

उनले भने, ‘यसले केही प्रयोगकर्ताहरूलाई अझ जोखिमपूर्ण वेबसाइटतर्फ धकेल्ने वास्तविक खतरा छ र प्राविधिक रूपमा उपकरणहरूको निगरानी गर्नु लगभग असम्भवजस्तै छ । यदि नियामक निकायहरूले पर्याप्त ध्यान दिए भने प्लेटफर्महरूको नियमन गर्नु धेरै सजिलो हुन्छ ।’

एपीमा प्रकाशित सामग्रीको भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?