News Summary
Generated by OK AI. Editorially reviewed.- मगर समुदायले प्राकृतिक प्रकोपबाट बच्न र प्रकृतिको सम्मान गर्न असार १ गते भूमिको पूजा गरी 'नाम्क' पर्व मनाउने गरेका छन्।
- यस पर्वका अवसरमा परम्परागत भेषभूषामा सजिएर दमाहा र सहनाईको तालमा सामूहिक रूपमा २२ चाल भएको 'नोकोबाङ्या' नाच नाच्ने गरिन्छ।
- खाम भाषाको 'भूम्या' शब्दलाई खस नेपालीकरण गरी 'भूमे' लेखिँदा र आधुनिकीकरण बढ्दा यस मौलिक पर्वको संरक्षणमा चुनौती थपिएको छ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाज भएको देश हो। यहाँका आदिवासी जनजातिहरूले हजारौँ वर्षदेखि प्रकृतिसँग सहअस्तित्वमा आधारित जीवनशैली विकास गरेका छन्। मगर समुदाय नेपालको कुल जनसङ्ख्याको तेस्रो र आदिवासी जनजाति समुदायको सबैभन्दा ठूलो (२०,१३,४९८) जनसङ्ख्या भएको समुदाय हो, जुन नेपालको जम्मा जनसङ्ख्याको ६.९ प्रतिशत हो। मगर समुदाय विशेषगरी पश्चिम नेपालका राप्ती, भेरी र कालीगण्डकी जलाधार क्षेत्रमा आदिमकालदेखि बसोबास गर्दै आएको पाइन्छ।
यहाँ यही असार १ गते मगर समुदायले प्रकृतिको पूजा गरेर मनाउने ‘नाम्क’ पर्वको बारेमा चर्चा गरिएको छ। यो आलेख आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट २०८२ सालमा रोल्पा जिल्लामा मनाइने ‘नाम्क पर्व, भूम्या पूजा र नोकोबाङ्या नाचसम्बन्धी : एक अध्ययन’ शीर्षकमा रोल्पाको थबाङमा गरिएको अनुसन्धानात्मक लेखको सारको रूपमा प्रस्तुत गरिएको छ।
मगर समुदायले पुस्तौँदेखि प्रकृतिप्रतिको सम्मान, सामुदायिक एकता र सांस्कृतिक मौलिकतालाई जीवनशैलीको अभिन्न अङ्ग बनाउँदै आएको छ। जसमा रोल्पा जिल्ला आदिवासी मगर समुदायको ऐतिहासिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित छ। यहाँका सांस्कृतिक अभ्यासहरू आज पनि सामुदायिक जीवनको अभिन्न हिस्सा बनेका छन्। सामाजिक संरचना, बस्ती प्रणाली तथा सांस्कृतिक अभ्यासहरू एकआपसमा गहिरो रूपमा अन्तरसम्बन्धित रहेको पाइन्छ।
रोल्पा नेपालको लुम्बिनी प्रदेशको एक ऐतिहासिक, सांस्कृतिक र राजनीतिक चेतनाको केन्द्रका रूपमा परिचित जिल्ला हो। रोल्पालाई अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याउने तत्कालीन १० वर्षे जनयुद्धको उद्गमस्थलका रूपमा पनि चिनिन्छ।

आदिवासी मगरहरूले बाढीपहिरो नआओस्, पृथ्वीमा कुनै प्रकारको प्राकृतिक प्रकोप र महाविपत्तिहरू आइन्लागुन्, विश्व मानवको कल्याण होस् भनेर भूमिको पूजा र आराधना गरेर मनाउने सांस्कृतिक चाडलाई ‘नाम्क’ भनिन्छ। यो चाड विशेषगरी रोल्पा र पूर्वी रुकुममा मनाइने गरिन्छ। अहिले बसाइँसराइ र सिकाइले गर्दा दाङ, पोखरा, काठमाडौँलगायतका सहरहरूका साथै बेलायत, अमेरिका, जापान, कोरिया, कतारलगायतका देशमा पनि यो चाड हर्षोल्लासका साथ मनाउने गरिएको पाइन्छ।
स्थानीय विश्वासअनुसार वर्षभरि समुदायको रक्षा गर्ने भूमि, वन र पानीलाई सम्मान व्यक्त गर्न यो पर्व मनाइन्छ। खेतीपातीको शुभारम्भअघि भूमि र प्रकृतिको आशीर्वाद प्राप्त गर्ने उद्देश्यले सामूहिक रूपमा पूजा गर्ने चलन छ। यसको उत्पत्ति पश्चिम नेपालको लुम्बिनी प्रदेशअन्तर्गत रोल्पा र पूर्वी रुकुममा भएको पाइन्छ। पूजा अनुष्ठान र नाच एकै प्रकारका भए तापनि ठाउँअनुसार स्थानीय स्तरमा विविध नामले पुकारिने गरेको पनि पाइन्छ। मगर खाममा नाम्क, भुल्कु, भल्क, भल्कै र बल पूजा भन्ने गरिएको भए तापनि शाब्दिक अर्थ र उत्पत्ति स्थलको आधारमा अनुसन्धानले चाडको नाम ‘नाम्क’ नै रहेको देखाउँछ।
नाम्कको शाब्दिक अर्थ (नाम + क = नाम्क) हुन्छ। ‘नाम’ भनेको जमिन र ‘क’ भनेको अड्याउने, थाम्ने, रोक्ने भन्ने हुन्छ। त्यसैले नाम्कको अर्थ जमिनलाई पहिरो र भूक्षयबाट रोक्ने भन्ने लाग्दछ। त्यसैले नाम्क भनेको आदिवासी मगरहरूले प्रकृतिको पूजाआजा गरी मनाउने सांस्कृतिक चाड हो भन्न सकिन्छ।
यस चाडलाई प्रकृति, भूमि र समुदायबीचको सम्बन्धलाई पुनः स्मरण गर्ने पर्वका रूपमा पनि लिइन्छ। कृषि जीवनसँग प्रत्यक्ष सम्बन्धित यो पर्व वर्षायामको प्रारम्भसँगै मनाइन्छ। उभ्याली मौसमको जेठ पूर्णिमामा दारधुप हालेर बाजा फुकाउने गरिन्छ भने असारको औँसीमा जमिनको पूजा गरी करिब १ हप्तासम्म ‘नोकोबाङ्या’ नाचेर मनाउने गरिएको पाइन्थ्यो।
तर, नेपालमा हिन्दु क्यालेन्डर भित्रिएपछि यो पर्व असार १ गते मनाउने गरिएको पाइन्छ। नाम्कले प्रकृतिप्रतिको कृतज्ञता, सामुदायिक एकता, स्थानीय सांस्कृतिक पहिचानको संरक्षण र कृषिकर्मको प्रारम्भसँग जोडिएर प्रकृति, भूमि, पानी, वनस्पति र सम्पूर्ण जीवजगत्प्रति कृतज्ञता व्यक्त गर्ने सन्देश दिन्छ।

नाम्क पर्वको मुख्य पक्ष भूम्या पूजा हो। आदिवासी मगर समुदायको विश्वासअनुसार भूमि सम्पूर्ण जीवको जीवनदाता हो। भूम्या पूजामा गाउँका पुजारीको नेतृत्वमा भूमि, वन, जलस्रोत र प्राकृतिक शक्तिहरूको पूजा गरिन्छ। राम्रो वर्षा, उर्वर भूमि, प्रशस्त उत्पादन, रोगव्याधिबाट मुक्ति तथा समुदायको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। अन्न, पानी, वनस्पति तथा जीवजन्तुको अस्तित्व भूमिमै निर्भर हुने भएकाले भूमिलाई देवत्वका रूपमा सम्मान गरिन्छ।
परापूर्वकालमा औँसीको अघिल्लो दिन र आजभोलि जेठ मसान्तको दिनमा रोका खलकका पुजारीले चोखो भएर पानीको मुहान, भिर, पहरा, कोप्चेरा, जङ्गलका रूख र बराह थानमा दारधुप हाल्दै जाने र ‘मुलथाङ्गे’ र ‘मुलथाङ्गेनी’हरू करिब ३,५०० मिटरको अग्लो बुकीमा गएर फूल टिप्न जाने चलन छ। जहाँबाट धुपी सल्ला प्रजातिको ‘भूम’ भनिने सल्ला काटेर ल्याउने र टुप्पोमा धजा बाँधेर ल्याउने गरिन्छ। जुन भूम रूखलाई भूम्या देवताको रूपमा मानिन्छ भने त्यसलाई ‘मुर्ला’ भनिने गरिन्छ। मुर्लालाई नोकोबाङ्या नाचिने ठाउँको बीचमा नाम्क भरिसम्म गाडेर राख्ने र त्यसलाई बीचमा पारी गोलो घेरामा महिला र पुरुषले नाच्ने गर्दछन्। त्यस भूम र मुर्लासँग विभिन्न मिथकहरू जोडिएको पाइन्छ।
रोल्पाको थबाङमा भूम्या पूजाका लागि ‘नामचुन’ बसाल्ने चलन पनि छ। आदिमकालमा मानव भोग दिई सिम्या-भूम्याको पूजा गरिएको केही मिथकहरू पाइन्छ। थबाङमा अहिले पनि गाउँको सबैभन्दा उमेरले जेठो मानिसलाई बलि दिने ठाउँमा नामचुन बसाल्ने गरिन्छ। ‘नामचुन’ मगर खाम शब्द हो, जसको अर्थ ‘नाम’ भनेको जमिन र ‘चुन’ भनेको अचानो भन्ने हुन्छ।
आजभोलि भूम्या थानमा बोकालाई मन्छाएर बलि दिने ठाउँमा ल्याइपुर्याउँदा त्यो नामचुनलाई लुकाएर बोकाको बलि दिने गरेको पाइन्छ। यसको केही मिथक र सङ्केतहरू हेर्दा मानव बलि जबर्जस्ती होइन, स्वेच्छाले आफ्नो गाउँ र मानिसहरूको रक्षाका लागि गाउँको सबैभन्दा जेठो अगुवाले भूमिलाई भोग चढाउन ‘हाँसी हाँसी ज्यामो ओयाल ङाबारी’ भनेर बलिदानी भावबाट बलि चढ्न गएको हो कि भन्ने देखिन्छ। यद्यपि, यसको विस्तृत अध्ययन हुन आवश्यक छ।
पूजा गर्ने मेदो (बोका, साँढ) लाई मगर खाममा ‘भूम्या झान्या’ भनिन्छ। तर आजभोलि मगर खाम भाषाको मौलिकता हराउँदै भूम्याको सत्ता खस नेपालीकरण गरी विभिन्न मगर तथा गैरमगर सङ्घ-संस्थाहरूले चाडको नाम पनि भूमे, नाचको नाम पनि भूमे नाच लेख्दै विकृत गर्दै लगेको पाइन्छ। भूम्या र भूमेको सन्दर्भमा मगर खाम लवजमा उच्चारण गर्दा ‘भूम्या’ भनिन्छ भने खस नेपाली बोल्ने र लेख्नेहरूले ‘भूमे’ भनेर लेखेको पाइन्छ।
मगर खाममा उच्चारण गर्दा र देवनागरीमा लेख्दा क्रियाको पछाडि ‘न्या’ हुन्छ भने क्रियाविशेषणको पछाडि ग्या, म्या, ङ्या आदि जोडिन्छ। जस्तै: (जैन्या, रैन्या, पैन्या) आदि लेखिन्छ भने खस नेपालीमा देवनागरीबाट लेख्दा क्रियाको पछाडि ‘ने’ जोडिन्छ। जस्तै: (लेख्ने, खाने, गर्ने) आदि।
त्यसैले मगर खाम मातृभाषा नभएका र खस नेपालीमा मात्रै लेख्ने अभ्यास भएकाहरूले ‘भूम्या’ को सट्टा ‘भूमे’ लेखेर मगर खामको मौलिकतामा प्रहार गरी खसकरण गरिरहेको पाइन्छ। यस चाडको महत्त्व नबुझेका, मगर मातृभाषा नजानेका, मगर संस्कार-संस्कृति हराएका र मगर इतिहास तथा सभ्यता अध्ययन नगरेका तथाकथित मगर र गैरमगर नेतृत्वहरूबाटै परम्परागत रूपमा रहेको मौलिक चाडपर्वलाई संरक्षण र संवर्द्धन गर्नुको साटो राजनीतिक स्वार्थका रूपमा प्रयोग गरेर विकृत गर्दै गरेको पाइन्छ। यसरी सांस्कृतिक चाडहरूको नाम अपभ्रंश गराउँदै जाँदा कालान्तरमा यस चाडको मौलिकता नै हराएर वा अन्यकरण भएर जाने खतरा देखिन्छ।
यस भूम्या पूजाले प्रकृति र मानवबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै वातावरण संरक्षणको सन्देश पनि प्रवाह गर्दछ। आधुनिक विकासको क्रममा प्रकृतिमाथि बढ्दो दबाबका बीच भूम्या पूजा मानव र प्रकृतिको सहअस्तित्वको उत्कृष्ट उदाहरण बनेको छ।

नाम्क पर्वको अर्को महत्त्वपूर्ण पक्ष हो- नोकोबाङ्या नाच। यो नाच दारधुप हाल्न गएको पुजारी, फूल टिप्न गएका मुलथागे र मुलथागेनीहरू मुर्ला लिएर आइसकेपछि ‘न्याहो’ गाउँदै गाउँ आइपुगेर भूमिको पूजा गरेर मुर्ला गाडिएको थालोमा जम्मा भएर भित्री घेरामा पुरुष र बाहिरी घेरामा महिला भएर नाच्ने गरिन्छ। यो नाच मेलामा उपस्थित सयौँ-हजारौँ मानिसले एकैचोटि नाच्ने सामुदायिक नाच हो। यसको २२ वटा तालमा २२ चाला रहेको हुन्छ।
तर, आजभोलि कुनै गाउँमा ९ चाला त कुनै गाउँमा ७ चाला र कोही गाउँमा ८ चाला मात्रै नाच्ने गरेको पाइन्छ। त्यो २२ चाला रोल्पा रुकुमका त्यही गाउँहरूमा नै कतै नाच हराएर त कतै चाल हराएर रहेको हुन सक्छ। त्यसको पनि व्यवस्थित अध्ययन भएमा २२ ताल र २२ चाला भेटिन सक्ने आधारहरू रहेका छन्।
यो ‘नोकोबाङ्गे’ नाच मगर समुदायको विशिष्ट परम्परागत सामूहिक नृत्य हो, जसले समुदायको इतिहास, जीवनशैली, सङ्घर्ष, प्रेम, प्रकृतिप्रतिको सम्मान तथा सामाजिक एकतालाई कलात्मक रूपमा प्रस्तुत गर्दछ। यो नाचलाई नोकोबाङ्या, लोकोबाङ्या, नौबाङ्या पनि भन्ने गरेको पाइन्छ। परम्परागत मगर भेषभूषामा सजिएका युवा, वृद्ध, महिला तथा पुरुषहरू सामूहिक रूपमा गोलबद्ध भई दमाहा, छेलम, ट्याम्की, सहनाई, पैजन बाजाहरूको तालमा नोकोबाङ्या नाच प्रस्तुत गर्छन्। यस नृत्यले पुस्तादेखि पुस्तासम्म सांस्कृतिक ज्ञान र पहिचान हस्तान्तरण गर्ने महत्त्वपूर्ण माध्यमको काम गर्दै आएको छ।
यस नाचले समुदायका सदस्यहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर पनि प्रदान गर्छ। आजको बदलिँदो सामाजिक परिवेशमा नोकोबाङ्या नाच केवल मनोरञ्जनको साधन नभई आदिवासी मगर समुदायको सांस्कृतिक अस्तित्व र पहिचानको प्रतीक बनेको छ।

विश्वव्यापीकरण र आधुनिक जीवनशैलीको प्रभावले धेरै मौलिक संस्कृतिहरू सङ्कटमा परिरहेका बेला नाम्क पर्व, भूम्या पूजा र नोकोबाङ्या नाचजस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण अपरिहार्य बनेको छ। यी परम्पराहरूले केवल मगर समुदायको मात्र प्रतिनिधित्व गर्दैनन्, बरु नेपालको बहुसांस्कृतिक पहिचानलाई समृद्ध बनाउने साझा राष्ट्रिय सम्पत्ति हुन्। यस्ता पर्व, पूजा र सांस्कृतिक अभ्यासहरूको दस्तावेजीकरण, अध्ययन, अनुसन्धान तथा पुस्तान्तरणमा राज्य, स्थानीय सरकार, शैक्षिक संस्था र समुदाय सबैको सक्रिय भूमिका आवश्यक छ।
वर्तमान चुनौतीहरू
आज नाम्क पर्व तथा सम्बन्धित सांस्कृतिक अभ्यासहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन्। युवा पुस्ताको घट्दो सहभागिता, विदेशिन बाध्य हुनु, बसाइँसराइ, आधुनिकीकरण, मौखिक परम्पराको लोप, अनुसन्धान तथा दस्तावेजीकरणको अभाव रहेको पाइन्छ। यद्यपि पछिल्ला वर्षहरूमा मगर समुदाय र विभिन्न संस्थाहरूले नाम्क पर्वको संरक्षण तथा प्रवर्द्धनमा सक्रियता बढाएको पनि पाइन्छ।
संरक्षणका उपायहरू
मगर समुदायको साझा सङ्गठन ‘नेपाल मगर सङ्घ’ ले संस्थागत रूपमा अपनत्व ग्रहण गर्दै मनाउने र मातहतका सङ्घ-सङ्गठनहरूलाई आयोजना गर्न लगाउने; नेपाल सरकारसँग मगरहरूको मौलिक सांस्कृतिक चाडका रूपमा घोषणा गरी असार १ गतेलाई भूम्या पूजाको बिदा दिन पहल गर्ने; विद्यालय तथा विश्वविद्यालयमा मगर संस्कृतिसम्बन्धी अध्ययन विस्तार गर्न पहल गर्ने; मौखिक इतिहासको अभिलेखीकरण गर्ने; स्थानीय तहबाट सांस्कृतिक संरक्षण कार्यक्रम सञ्चालन गर्न पहल गर्ने र डिजिटल माध्यमबाट दस्तावेजीकरण गर्ने कार्य गर्नुपर्छ।
यसमा युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ। नोकोबाङ्या नाचलाई सांस्कृतिक सम्पदाका रूपमा प्रवर्द्धन गर्न सकिएमा यसको संरक्षणसहित संवर्द्धन र विकासमा टेवा पुग्ने देखिन्छ।
निष्कर्ष
असार १ गते मनाइने नाम्क पर्व, भूम्या पूजा र नोकोबाङ्या नाच आदिवासी मगर समुदायको प्रकृतिप्रतिको सम्मान, सामुदायिक एकता तथा सांस्कृतिक पहिचानका महत्त्वपूर्ण प्रतीक हुन्। यी परम्पराहरूले प्रकृतिको सम्मान, सहअस्तित्व, सामाजिक सद्भाव र सांस्कृतिक गौरवको सन्देश बोकेका छन्। त्यसैले यस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु आजको साझा दायित्व हो। आधुनिक परिवर्तनका बीच यस्ता अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु केवल मगर समुदायको मात्र होइन, नेपालको समग्र सांस्कृतिक विविधताको संरक्षणका लागि पनि आवश्यक छ।
(लेखक नेपाल खुला विश्वविद्यालयमा मगर अध्ययन विषयका प्राध्यापक हुन्।)
तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4