News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसहितको तस्वीर राख्दै \'देश बनाउने टोली\' भनी फेसबुकमा गरेको पोस्टले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ ।
- उक्त पोस्टका कारण राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि बढ्नुका साथै पार्टी नेतृत्वको भूमिकामाथि समेत गम्भीर प्रश्न उठ्न थालेको छ ।
- प्रधानमन्त्री शाहका विवादित निर्णय र अभिव्यक्तिका कारण संसद्मा विपक्षीको विरोध जारी रहँदा पार्टी सभापति रवि लामिछानेलाई रक्षात्मक स्थिति सिर्जना भएको छ ।
१ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार राति तीन घण्टाको फरकमा दुई वटा स्टाटस लेखे । राति १० बजेर ५१ मिनेटमा पोष्ट भएको दोस्रो स्टाटस पहिलोको प्रष्टोक्तिमा लेखिएको थियो ।
‘हप्ताभरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या होइन,’ बालेनले लेखेका छन्, ‘दुःख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु ।’
भावनात्मक भाषा प्रयोग गरेर तीन घण्टाभित्रै प्रष्टोक्ति स्टाटस लेख्नुले उनी पहिलो स्टाटसको दबाबमा परेको अनुमान लगाउन सकिन्छ ।
उतिधेरै बाक्लो स्टाटस नलेख्ने र विपक्षीहरूले प्रधानमन्त्रीको उपस्थितिलाई लिएर संसद् बैठक नै अवरोध गरिरहेको पृष्ठभूमिका आधारमा यी दुई स्टाटसलाई चासोका साथ हेरिएको छ ।
प्रधानमन्त्रीले प्रष्टीकरण नै राख्नुपर्नेगरी पहिलो पोस्टमा के थियो त ?
राति ८ : २० बजे पोष्ट भएको प्रधानमन्त्री बालेनको पहिलो स्टाटसमा मन्त्रिपरिषद्का दुई प्रभावशाली मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्साललाई अँगालो हालेर क्याप्सन लेखिएको थियो, ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली ।’
गृहमन्त्री गुरुङ र पूर्वाधारमन्त्री लम्साल गत २१ फागुनको निर्वाचनअघि बालेनसँगै रास्वपामा जोडिएका नेताहरू हुन् ।
आफूसँगै रास्वपामा जोडिएका गुरुङ र लम्साललाई प्रधानमन्त्री बालेनले महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छन् । गुरूङलाई त बालेनले दोस्रोपटक गृहमन्त्री नियुक्त गरेका छन् ।
विवादास्पद व्यक्तिसँग सम्बन्ध जोडिएको सूचना सार्वजनिक भएपछि गुरुङले राजीनामा दिएका थिए । तर उक्त मन्त्रालय आफैसँग राखेका प्रधानमन्त्री बालेनले २६ जेठमा फेरि गुरुङलाई नै गृहमन्त्री नियुक्त गरे ।
उनै गुरुङ र अर्का विश्वासिला मन्त्री लम्सालसँगको तस्बिर राखेर ‘देश बनाउने टोली’ लेखेपछि सर्वसाधारणसम्मै यसको असर देखिएको छ । समर्थन मात्रै होइन कटाक्ष र व्यंग्यस्वरुप, अनि आलोचना गर्दै ‘देश बनाउने टोली’ भनेर तस्बिर पोष्ट गर्ने लहर नै चलेको छ ।
सँगै, यसको असर रास्वपा पंक्तिभित्र पनि देखिएको छ । भर्खरै पार्टीमा आएर प्रधानमन्त्री र मन्त्री भएकाहरूले देश बनाउने टोली लेख्दा पहिलेबाटै रास्वपामा लागेकाहरू झस्किएका छन् । उनीहरूले सामाजिक सञ्जालमै स्टाटस लेखेर असन्तुष्टि जनाएका छन् ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालको पुरानो तस्वीरसँग बालेनले सार्वजनिक गरेको तीन युवा नेताको तस्वीरलाई तुलना गरेर पनि सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । देउवा, ओली र दाहालबारे आम सर्वसाधारणमा आजभोलि राम्रो बुझाइ छैन ।

यिनै तीन नेताको कमजोरीले जेनजी आन्दोलन भएर राजनीतिक कोर्स निर्माण भएको मान्ने पंक्ति ठूलो छ । तर, झण्डै चार दशकदेखि नेपाली राजनीतिमा हाबी रहेका देउवा, ओली र प्रचण्डलाई विस्थापित गरेर आएको नेतृत्वले पनि पुरानै शैलीमा हिड्न खोजेको तर्क रास्वपाका कतिपय नेताहरूको छ ।
राष्ट्रिय जीवनका कैयन् समस्या ज्युँका त्युँ रहेका बेला प्रधानमन्त्रीले हँसिमजाक गरेको भन्दै उनीहरुले प्रश्न उठाएका छन् । इन्टरनेटमा ‘सिटपोस्ट’ अर्थात् वाहियात र असंवेदनशील पारा देखाउँदा समेत प्रधानमन्त्रीको कार्यशैलीबारे रास्वपा मौन रहेको भन्दै आम आलोचना सुरु भएको छ ।
अझ देश बनाउने टोलीमा बालेनले समावेश गरेकामध्ये मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँचिदिन दिएको निर्देशन यति बेला आम आक्रोशको केन्द्रमा छ । गल्ती गरेको पुष्टि भए सम्बन्धित ठेकेदारविरुद्द कानुनी कारबाहीको बाटो सरकारले अवलम्बन गर्न बेरोकतोक पाउने भए पनि मन्त्री स्वयं अराजकतामा ओर्लेको कुरा उठेको छ । तिनै मन्त्रीलाई प्रधानमन्त्रीको धाप प्राप्त छ जसका कारण उक्त आलोचना बालेनतर्फ पनि लक्षित भएको छ ।
यसरी केही साताअघिको शनिबार सुकुमबासी बस्तीमा आकस्मिक डोजर चलाएका प्रधानमन्त्रीले आफ्नो बिदा बारलाई भने फेसबुकको रमाइलोमा केन्द्रित गरे ।
रास्वपाका केन्द्रय गणेश कार्की भने प्रधानमन्त्री बालेनले सार्वजनिक गरेको तस्वीरलाई लिएर शंका नगर्न आग्रह गर्छन् । ‘त्यहाँ यो टोली मात्र देश बनाउने भनेर लेखिएको छैन । यो टोली बाहेकले देश बनाउँदैन भनेर पनि लेखिएको छैन,’ उनी भन्छन्, ‘रास्वपाका १८२ जनालाई नै जनताले देश बनाउन भनेर पठाएका हुन्, देश सबैले बनाउने हो ।’
तर बालेन मिसिनु अघिको रास्वपाका नेताहरू नभएको तस्वीर पोष्ट गरेर ‘देश बनाउने टोली’ लेख्दा पार्टी बाहिरका पंक्तिमा विशेष चासो देखिन्छ । बालेनकै स्टाटसमा आएका प्रतिक्रियाबाट पनि यो कुरा बुझ्न सकिन्छ । रास्वपा महाधिवेशनको सन्दर्भ पनि यसै बेला आएको छ ।
थुप्रैले रास्वपा सभापति रवि लामिछाने र उनी पक्षधर पुराना नेता–कार्यकर्ता लक्षित टिप्पणी गरेका छन्, ‘यो टोलीले देश बनाउने भए रवि लामिछाने, स्वर्णिम वाग्लेहरु के गर्ने ?’
रास्वपा नेता कार्की भने यसलाई आवश्यकता र तथ्य भन्दा बाहिरको बुझाई भन्छन् । ‘सिंगो रास्वपा नै देश बनाउने हो, उहाँहरू पनि रास्वपाभित्रै हो,’ उनी भन्छन् ।
वरिष्ठ पत्रकार तीर्थ कोइराला पनि प्रधानमन्त्री बालेनको यही एउटा स्टाटसलाई हेरेर मात्र विश्लेषण गर्न नहुने बताउँछन् । ‘कुनै गम्भीर अर्थ लागोस् भनेर यो स्टाटस आएको जस्तो लाग्दैन,’ उनी भन्छन्, ‘सार्वजनिक खपतका निम्ति यस्ता स्टाटस विगतमा पनि देखिँदै आएको हो ।’
प्रधानमन्त्रीको स्टाटसपछि सामाजिक सञ्जालमा चलेको ट्रेन्डलाई व्यंग्य शैलीमा आफैंले पनि शेयर गरेका पत्रकार कोइराला, अहिले राजनीतिक संस्कृति नै बदलिँदै गएको बताउँछन् । ‘नेतृत्वमा रहनेहरूको व्यवहार, भाषा इत्यादिमा अर्थ खोज्ने संस्कृति कमजोर भइरहेको छ,’ उनी भन्छन्, ‘मन लागेपछि यसै लेखिदिनै र त्यसैमार्फत एजेण्डा डाइभर्ट गर्ने प्रवृत्ति देखिँदै आएको छ ।’
रविले बोकिरहेको भारी
प्रधानमन्त्री बालेनको स्टाटसमाथि आइररहेको टिप्पणीलाई रास्वपा नेताहरूले प्रतिवाद गरे पनि समस्या थपिँदै गएको तथ्य चाहिँ लुकेको छैन ।
प्रधानमन्त्री बालेनले लेख्ने स्टाटस, बोल्ने भाषा र लिएका निर्णयहरूको बचाऊ गर्न सभापति लामिछाने र रास्वपा नेताहरूलाई निकै सकस परेको देखिन्छ । प्रधानमन्त्री बालेनको बोलीप्रति विरोध जनाएर संसदका दुवै सदन विपक्षीहरूले लगातार अवरोध गरिरहेका छन् ।
गत १३ चैतमा प्रधानमन्त्री नियुक्त भएका बालेनले एउटा पनि सम्बोधन नगरी संसद्को पहिलो अधिवेशन अन्त्य भयो । तर बजेट अधिवेशनमा प्रधानमन्त्रीले भाग लिनुपर्ने र बोल्नुपर्ने विपक्षीहरूले माग राखे ।
शुरुमा विपक्षीलाई पेलेरै बढेका प्रधानमन्त्री बालेनले २८ वैशाखमा सरकरको नीति तथा कार्यक्रम संसदमा पेश गरेका थिए । तर सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन बीचैमा बैठक छोडेर निस्किए ।
विपक्षीले प्रधानमन्त्रीको यस्तो निर्णयप्रति चर्को आपत्ति जनाए । सभामुख डीपी अर्याल मार्फत विपक्षीले दबाव बढाएपछि १७ जेठमा प्रधानमन्त्री बालेन संसद बैठकमा पुगेका थिए ।
आकस्मिक रुपमा संसद् बैठकमा गएर प्रधानमन्त्री बालेनले सांसदहरुलाई प्रश्न गर्न भने । तर जवाफ दिने क्रममा फेरि विवादित भए । ‘भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको’ अभिव्यक्तिलाई लिएर विपक्षीहरूले सडकदेखि सदनसम्म विरोध गरिरहेका छन् ।
प्रधानमन्त्री बालेनको अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राखेर विपक्षीहरूले शुरुका केही दिन संसद बैठक चल्नै दिएनन् । २६ जेठ यता भने विपक्षीहरुले विरोधको शैली फेरेका छन् । संसद् बैठक शुरु हुनासाथ प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएर उभिने, तर बैठक चल्न दिने नीतिलाई विपक्षीहरूले निरन्तरता दिइरहेका छन् ।
विपक्षीले विरोध पनि कायमै राख्ने, र संसद् अवरुद्ध हुन पनि नदिने मध्यमार्गी विकल्प रास्वपा सभापति रवि लामिछानेकै पहलकदमीमा सम्भव भएको थियो । विपक्षी दलहरूका शीर्ष नेताहरूसँग छलफल र सम्वाद मार्फत संसद्को गतिरोध खुलाउने पहल सभापति लामिछानेले लिएका थिए ।

विपक्षीहरू मध्ये श्रम संस्कृति पार्टीको शैली फरक छ । उक्त पार्टीका सांसदहरुले संसद बैठकभित्रै प्लाकार्ड प्रदर्शन गर्दै आएका छन् ।
संसद बैठकमा नजाने, नेताहरुसँग आवश्यक परामर्श र छलफल नगर्ने जस्ता प्रवृत्तिले मात्र नभएर प्रधानमन्त्री बालेनका अरु निर्णयले पनि रास्वपा सभापति लामिछाने अप्ठ्यारो पर्दै आएका छन् ।
प्रधानमन्त्री बालेनकै निर्णयले रवि लामिछाने र रास्वपाका नेताहरु अप्ठ्यारोमा परेको ठूलो विषय सुकुमबासी बस्तीमा डोजर चलाउनु हो । सुकुमबासी बस्ती खाली गर्ने अडानमा प्रधानमन्त्री बालेन काठमाडौंको मेयर हुँदा नै प्रष्ट थिए ।
रवि लामिछानले भने भोट माग्ने क्रममा सुकुमबासी बस्तीमा डोजर चल्नुअघि आफूले छाती थाप्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । तर प्रधानमन्त्री बालेनको निर्देशनमा सुकुमबासी बस्तीमा डोजर चल्यो । प्रश्न रवि लामिछानेमाथि उठ्यो ।
अर्थात बालेनको निर्णय, अभिव्यक्तिदेखि स्टाटसले समेत रवि लामिछानेप्रति प्रश्न बढिरहेको छ । विपक्षीहरुले प्रधानमन्त्रीका निर्णयहरुमा रास्वपाकै धारणा मागिरहेका छन् । कतिसम्म भने ‘दास र लास’ को पार्टी नबनाउन भनेर कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले त संसद बैठकबाटै ललकारिदिए । बालेनलाई प्रश्न उठाउने विपक्षी सांसदहरुविरुद्ध जाइलाग्ने शैली देखाएर खगेन्द्र सुनार, आसिका तामाङहरु आलोचित भएका छन् ।
प्रतिक्रिया 4