+
+
Shares

नयाँ सवारी दर्ता रोकिंदा यातायात व्यवसायी समस्यामा : रास्वपा सांसद कार्की

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १५:१२

२ असार, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनेन्द्र कार्कीले नयाँ सवारी दर्ता रोकिंदा यातायात व्यवसायी समस्यामा परेको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले नयाँ सवारी दर्ता रोक्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् । पुराना सवारी विस्थापन गर्नुपर्ने समयमा नयाँ दर्ता रोकिएर राखेको आरोप उनले लगाए ।

तत्काल नयाँ सवारी दर्ता खोल्न सरकारसँग उनले माग गरे । उनले यातयात मन्त्रालय हटाएको पनि असन्तुष्टी जनाए । संघीय सरकारमा छुट्टै यातायात मन्त्रालय नहुँदा नीति निर्माण र कार्यान्वयनमा अन्योल सिर्जना भएको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा सञ्चालन हुने डबल क्याप सवारीमा अत्यधिक यात्रु बोक्ने गरेको कारण दुर्घटना बढेको उल्लेख गर्दै उनले पर्याप्त सडक पूर्वाधार र ठूला सार्वजनिक सवारीको पहुँच नहुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए ।

‘अब नयाँ दर्ता रोकिएको छ । यातायात व्यवसायीहरुको मुख्य सिजन दशैं हो, दशैं आइसक्यो, धमाधम चेसिस ल्याएर बडी बनाउने बेला छ । यही बेला दर्ता रोकिएको छ । यो बेला रोकिएको दर्ताले कसरी व्यवसायीलाई सहज हुन्छ ? पुराना गाडी फेर्नुपर्छ,’ उनले भने, ‘नयाँ गाडीको दर्ता रोक्दिने अनि पुराना फ्याकिनुपर्ने गाडीहरु चलाउनुपर्ने ? अनि भोलि दुर्घटना भयो भन्ने ? पुराना गाडीले दुर्घटना निम्त्याउँछ । मर्मत गर्न भ्याएको हुन्न, बाटोमा कहाँ जान्छ ब्रेक लाग्दैन कि गियर फेल हुन्छ । त्यो कतिबेर के हुन्छ, थाहा हुन्न ।’

उनले हाल सार्वजनिक यातायात व्यवसायी आर्थिक संकटमा परेको दाबी पनि गरे । सवारी साधनमा यात्रु चाप निश्चित समयमै मात्रै हुने हुँदा व्यवसाय सञ्चालन खर्च उठाउन पनि कठिन हुने गरेको उल्लेख पनि उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?