२ असार, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) का दुई फ्रेन्चाइज टोलीहरू मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स आगामी सिजन पनि छुट्टाछुट्टै टोलीका रूपमा रहने भएका छन् । यी दुईबीचको मर्जर प्रक्रिया हाललाई स्थगित भएको छ ।
बीबीएलको निजीकरणसम्बन्धी छलफल चलिरहेकै बीच क्रिकेट भिक्टोरियाले अर्को सिजन दुवै टोली यथावत् रहने स्पष्ट पारेको हो । यसअघि स्टार्स र रेनेगेड्सलाई एकीकृत गरेर नयाँ ब्रान्डअन्तर्गत एउटै टोली बनाउने योजना अघि बढेको थियो ।
रेनेगेड्सको १०० प्रतिशत लाइसेन्स निजी लगानीकर्तालाई बिक्री गर्ने तथा नयाँ मेलबर्न टोली गठन गर्ने विषयमा छलफल भए पनि निजीकरण प्रक्रिया लम्बिएपछि अर्को सिजनका लागि पुनर्ब्रान्डिङ नगर्ने दुवै क्लबले संयुक्त रूपमा जनाएको छ ।
‘यो क्लबप्रति तपाईंहरूले देखाउनुभएको समर्थन, निष्ठा र गर्वप्रति हामी आभारी छौं । आगामी गर्मीयाममा फेरि मैदानमा भेट्ने अपेक्षा गरेका छौं’ क्लबहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
क्रिकेट भिक्टोरियाले निजी लगानीका लागि ‘सेल्फ-डिटर्मिनेसन मोडल’ लाई सिद्धान्ततः समर्थन गरिसकेको छ । निजीकरण प्रक्रिया अघि बढिरहेका कारण हाल टोलीहरूले नयाँ खेलाडी अनुबन्ध गर्न पाउने छैनन् ।
पुनर्ब्रान्ड गरिएको मेलबर्न टोलीका लागि क्रिकेट भिक्टोरियाले ‘रेन्जर्स’, ‘म्याजिक’ र ‘ब्लेजर्स’ नाम ट्रेडमार्कका लागि दर्ता गराएको छ । नयाँ टोलीले भिक्टोरियाको एकदिवसीय टोलीजस्तै निलो र सेतो रंगको जर्सी प्रयोग गर्ने प्रारम्भिक योजना पनि बनाइएको छ ।
तर निजीकरणको अर्को चरणमा जानुअघि चार विषयमा सहमति आवश्यक रहेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । जसमा नयाँ बिग ब्यास लिगको शासकीय संरचना, क्रिकेट अस्ट्रेलियाको प्रशासनिक ढाँचामा परिवर्तन, खेलाडी संघ (एसीए) सँगको सहमति तथा राज्य संघहरूसँगको आर्थिक वितरणसम्बन्धी सहमति समावेश छन् ।
गत सिजन मेलबर्न स्टार्स अंकतालिकामा चौथो स्थानमा रहँदै प्लेअफ पुगेको थियो । तर होबार्ट हरिकेन्ससँग पराजित हुँदै बाहिरिएको थियो । रेनेगेड्स भने आठ टोलीमध्ये सातौं स्थानमा सीमित भएको थियो ।
क्रिकेट अस्ट्रेलियाका अध्यक्ष माइक बेयर्डले राज्य संघहरूले प्रस्तावबारे आफ्ना बोर्डमा थप छलफल गर्ने र यसले क्रिकेटको भविष्यका लागि स्पष्टता ल्याउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4