२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘आई’ अन्तर्गतको सबैभन्दा प्रतीक्षित र ऐतिहासिक महत्त्व बोकेको खेलमा उपाधि दाबेदार फ्रान्स र अफ्रिकी पावरहाउस सेनेगल न्युयोर्क न्युजर्सी स्टेडियममा आमनेसामने हुँदैछन् ।
मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पको यो अन्तिम विश्वकप अभियान भएकाले फ्रान्स सुखद सुरुवात गर्न चाहन्छ । अर्कोतर्फ, हालैको मैत्रीपूर्ण खेलमा संयुक्त राज्य अमेरिकासँग ३-२ ले पराजित भए पनि सेनेगल पुनः एकपटक विश्वलाई स्तब्ध पार्ने रणनीतिमा छ ।
हेड-टु-हेड
यस खेलसँग विश्वकप इतिहासकै सबैभन्दा चर्चित र रोमाञ्चक ‘अपसेट’ जोडिएको छ । २४ वर्षअघि सन् २००२ को विश्वकपको उद्घाटन खेलमा तत्कालीन डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई सेनेगलले १-० को नतिजाले स्तब्ध पारेको थियो, जसमा पापा बुबा डियोपले ऐतिहासिक गोल गरेका थिए ।
अन्तर्राष्ट्रिय फुटबल इतिहासमा यी दुई टोलीबीच भएको त्यो नै एकमात्र आधिकारिक भिडन्त हो । त्यसैले २४ वर्षपछि हुन लागेको यो दोस्रो भेटमा फ्रान्स उक्त ऐतिहासिक हारको बदला लिँदै आफ्नो धाक जमाउन चाहन्छ भने, सेनेगल सोही इतिहासलाई पुनः दोहोर्याउने दाउमा छ ।
प्लेयर्स टु वाच
फ्रान्स
किलियन एमबाप्पे (स्ट्राइकर) : फ्रान्सका कप्तान तथा विश्व फुटबलकै सबैभन्दा घातक फरवार्ड किलियन एमबाप्पे रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्छन्, जहाँ उनले यस सिजन ४२ गोल गरिसकेका छन् । अन्तर्राष्ट्रिय करियरमा ५६ गोल गरिसकेका २७ वर्षीय एमबाप्पे ओलिभर जिरुडको राष्ट्रिय कीर्तिमान (५७ गोल) भन्दा मात्र १ गोलले पछि छन् । उनको अविश्वसनीय गति र ‘फिनिसिङ’ क्षमता सेनेगलका लागि खेलभरि नै सबैभन्दा ठूलो खतरा हुनेछ ।
माइकल ओलिस (मिडफिल्डर) : जर्मन जायन्ट बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेल्ने २५ वर्षीय माइकल ओलिस हाल फ्रान्सेली टोलीका सबैभन्दा लयमा रहेका खेलाडी हुन्, जसले यस सिजन क्लबका लागि २६ असिस्ट गरेका छन् । हालै उत्तरी आयरल्यान्ड विरुद्धको अन्तिम वार्म-अप खेलमा शानदार ह्याट्रिक गर्दै उनले आफ्नो विष्फोटक फर्म प्रमाणित गरिसकेका छन् । मिडफिल्डबाट एमबाप्पेका लागि आक्रामक बल उपलब्ध गराउने मुख्य जिम्मेवारी यिनकै हुनेछ ।
विलियम सालिबा (डिफेन्डर) : इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनल एफसीमा शानदार सिजन बिताएका विलियम सालिबा फ्रान्सको रक्षापङ्क्तिका मुख्य खम्बा हुन् । उनको कडा ट्याकल, उत्कृष्ट शारीरिक सन्तुलन र मैदान बुझ्ने क्षमताले फ्रान्सको डिफेन्सलाई स्थिरता दिन्छ । सेनेगलका तीव्र गतिका फरवार्डहरूलाई पेनाल्टी बक्स नजिक रोक्न उनको भूमिका निर्णायक हुनेछ ।
सेनेगल
साडियो माने (फरवार्ड) : सेनेगलका ३४ वर्षीय लेजेन्डरी स्टार साडियो माने साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध छन् । उमेर ढल्कँदै गए पनि देशका लागि ठूला खेल र दबाबपूर्ण मञ्चहरूमा जादुमयी प्रदर्शन गर्न माने अझै पनि माहिर छन् । टोलीलाई काउन्टर अट्याकमा लैजान र फ्रान्सको बलियो डिफेन्स चिर्न उनको अनुभव र नेतृत्व केप भर्डे र सेनेगलका लागि मेरुदण्ड साबित हुनेछ ।
निकोलस ज्याक्सन (स्ट्राइकर) : इङ्ग्लिस क्लब चेल्सी एफसीका मुख्य फरवार्ड निकोलस ज्याक्सन सेनेगलको आक्रामक पङ्क्तिका मुख्य गोल मेसिन हुन् । हालै अमेरिकी मैत्रीपूर्ण खेलमा रातो कार्ड पाए पनि उनी विश्वकपको ओपनिङ म्याचका लागि पूर्ण रूपमा उपलब्ध छन् । उनको प्रिमियर लिग स्तरको गति र बक्सभित्रको चलाखीपूर्ण दौडाइ फ्रान्सका डिफेन्डर सलिबाका लागि कडा चुनौती बन्न सक्छ ।
कालिडो कुलिबाली (डिफेन्डर: साउदी क्लब अल हिलालका मुख्य डिफेन्डर कालिडो कुलिबाली सेनेगलका कप्तान तथा रक्षापङ्क्तिका कडा चट्टान हुन् । हालै तिघ्राको चोटका कारण मैत्रीपूर्ण खेलमा थोरै समय मात्र मैदान उत्रिएका कुलिबाली हाल पूर्ण स्वस्थ भई सुरुवाती ११ मा फर्कन तयार छन् । एमबाप्पे र ओस्मान डेम्बेले जस्ता विष्फोटक फरवार्डहरूलाई रोक्ने मुख्य जिम्मेवारी कप्तान कुलिबालीकै काँधमा हुनेछ ।
खेल : फ्रान्स भर्सेस् सेनेगल
मिति र समय : ३ असार, बिहान १२:४५ बजे
स्थान : न्युयोर्क न्युजर्सी स्टेडियम
प्रतिक्रिया 4