२ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ को को पहिलो अफ्रिकन राष्ट्र सेनेगलसँग प्रतिस्पर्धा गर्दा २४ वर्षअघिको त्यो खेल सबैले सम्झनेछन् ।
फिफा विश्वकपमा यी दुई टोलीबीच भएको त्यो नै एक मात्र खेल थियो । अझ भनौँ अन्तर्राष्ट्रिय खेलमै यी दुई टोलीबीच भएको त्यही एक मात्र खेल थियो ।
साविक विजेताको रुपमा जापान र दक्षिण कवरियामा भएको विश्वकप खेल्न पुगेको फ्रान्स समूह चरणको पहिलोमै सेनेगलसँग स्तब्ध भएको थियो । नतिजा सेनेगलले १-० ले आफ्नो पक्षमा पारेको थियो ।
समूह आईमा रहेका यी दुई टोलीबद्बीको खेल बुधबार बिहान पौने १ बजे मैदानमा सुरु हुनेछ ।
वर्तमान समयमा सबैभन्दा सन्तुलित टोलीको रुपमा विश्वकप खेल्न लागेको फ्रान्सलाई उपाधिको सबैभन्दा बलियो दाबेदारको रुपमा हेरिएको छ र सेनेगलसँग खेल्दा फ्रान्सले २४ वर्षको खेलको नतिजालाई पनि उल्टाउने लक्ष्यमा हुनेछ ।
विश्वकप जितिसकेका केलिएन एमबाप्पेको कप्तानीमा रहेको फ्रान्सेली टोलीमा अहिले उसमान डेम्बेले, माइकल ओलिस, डिजाएर डोउ जस्ता खेलाडी अग्रपंतीमा छन् भने औरेलियन चुवामेनी, एड्रिएन रेबिओटले मिडफिल्ड सम्हाल्नेछन् ।
यस पटक फ्रान्स, स्पेनलाई उपाधिको प्रबल दाबेदारको रुपमा हेरिएको छ र त्यसका लागि पहिलो खेलदेखि नै सुखद सुरुवात गर्ने लक्ष्यमा फ्रान्स हुनेछ ।
अघिल्लो दिन स्पेनलाई विश्वकपको नवप्रवेशी केप भर्डेले गोलरहित बराबरीमा रोकेको थियो । यो नतिजाले पनि धेरैका लागि अप्रत्यासित पनि रह्यो । त्यसैले फ्रान्सले पनि पहिलो खेलमा सेनेगललाई कमजोर आँक्ने छैन । अहिले सेनेगल अफ्रिकाको बलियो टोलीको रुपमा रहेको छ ।
फिफा वरियतामा फ्रान्स तेस्रो र सेनेगल १५औं स्थानमा छ ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्प खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने सिमित व्यक्तिग मध्ये एक हुन् । उनलाई यस पटक विश्वकप जित्दै फ्रान्सको प्रशिक्षकको यात्रालाई सुखद रुपमा बिट मार्ने अवसर पनि छ ।
डेस्च्याम्पले विश्वकपपछि आफ्नो ‘हटसिट’ अर्का पूर्व कप्तान जिनेदिन जिदानलाई छड्दैछन् । त्यसैले अमेरिका विश्वकपमा उनीसँग सर्वकालिन महान प्रशिक्षक बन्ने अवसर हुनेछ ।
अमेरिकामा एक त डेस्च्याम्पलाई दोस्रो विश्वकप चुम्ने अवसर छ । अर्को उनले सबैभन्दा धेरै विश्वकप खेल जित्ने प्रशिक्षक बन्ने मौका पनि छ । यदि फ्रान्सले समूह चरणका तीनवटै खेलमा विजयी हासिल गर्ने हो भने डेस्च्याम्पले जर्मन प्रशिक्षक हेल्मुट शोनको १६ खेलको कीर्तिमानलाई भंग गर्नेछन् ।
फ्रान्स आयोजकको रुपमा विश्वकप जित्ने अन्तिम टोली हो । सन् १९९८ मा फ्रान्सले ब्राजिललाई ३-० ले हराएर पहिलो पटक घरमै विश्वकप जितेको छ । त्यसको २० वर्षपछि २०१८ मा रसियामा प्रान्सले विश्वकप जितेको थियो ।
फ्रान्सको यो लगातार आठौं विश्वकप सहभागिता हो । पछिल्ला सातमध्ये चार संस्करणमा टोलीले फाइनल खेलेको छ । फ्रान्स २१औं शताब्दीकै सबैभन्दा धेरै विश्वकप फाइनल खेल्ने टोली हो ।
तर विश्वकपअघिको मैत्रीपूर्ण खेलमा आइभोरी कोस्टसँग २–१ को पराजय बेहोरेपछि स्टार खेलाडीले भरिएको फ्रान्समाथि प्रश्न उठ्न सुरु भएको थियो । तर, अमेरिका प्रस्थान गर्नुअघि फ्रान्सले नर्दन आयरल्यान्डमाथि ३–१ को जित हासिल गर्दै आफूहरु यसपाली पनि विश्वकप जित्न तयार रहेको स्टेटमेन्ट दियो ।
छनोट प्रतियोगितामा फ्रान्सले मात्र दुई अंक गुमाएको थियो । समूह डी मा फ्रान्सले ५ खेल जित्दा एक खेल मात्र बराबरी खेलेको थियो र दोस्रो स्थानको युक्रेन भन्दा ६ अंकले अघि रहेको थियो ।
सेनेगलले पनि छनोट प्रतियोगितामा एक खेल पनि हारेन । अमेरिका विश्वकप सेनेगलको लगातार तेस्रो अनुभव हो । सन् २०१८ मा भने समूह चरणबाटै बाहिरिएको सेनेगल सन् २०२२ मा टोलीले अन्तिम १६ सम्मको यात्रा गरेको थियो ।
दि लायन्स अफ टेरंगाका रुपमा परिचित सेनगेल अफ्रिकन कप अफ नेसन्स २०२१ को च्याम्पियन हो । अहिले त टोली अफ्रिकाकै सबैभन्दा बलियो टोलीमध्ये एक हो । टोलीले विश्वकपअघि पेरु र गाम्बियालाई हराउँदा अमेरिकासँग ३–२ ले पराजित भएको थियो ।
यस्तै अन्तिम वार्म अप खेलमा सेनेगलले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो । साउदी विरुद्ध सेनेगलले १७ खेलपछि पहिलोपटक बललाई जाली चुमाउन नसकेको हो । यद्यपि पछिल्ला सातमध्ये पाँच खेलमा सेनेगलले क्लिन सिट राखेको छ ।
मुख्य प्रशिक्षक पेप थियाह २४ वर्षअघि सेनेगलले फ्रान्सलाई हराउँदाका सदस्य थिए । तर, त्यतिबेला उनले प्लेइङ मिनेट्स भने पाएका थिएनन् ।
फ्रान्सका रक्षक विलियम सालिबा ढाडको चोटबाट मुक्त हुँदै पूर्ण प्रशिक्षणमा फर्किसकेका छन् । जुल्स कुन्डे पनि ‘माइनर’ मांशपेशी समस्याका बावजुद फिट देखिएका छन् । गोलकिपर माइक मैगननले पनि प्रशिक्षकण सत्रको एक दिन गुमाएका थिए । अहिले उनी पनि पूर्ण रुपमा फिट रहेको बताइएको छ ।
स्टार खेलाडी तथा कप्तान किलियन एमबाप्पेले राष्ट्रिय टोलीबाट ५६ गोल गरेका छन् । दुई गोलपछि उनले अहिलेका उच्च गोलकर्ता ओलिभिय जिरुडलाई उछिन्नेछन् ।
सेनेगलको हकमा स्टार फरवार्ड साडियो माने पूर्ण रुपमा फिट छन् । मानेले इन्जुरीका कारण कतार विश्वकप गुमाएका थिए । असाने डियाओ, चेरिफ एनडियाये र इद्रिसा गुएयेलाई सामान्य फिटनेस समस्याहरु छन् । तर, उनीहरु खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
समूह ‘आइ’को अर्को खेलमा बुधबार बिहान नर्वे र इराक भिड्नेछन् ।
प्रतिक्रिया 4