२ असार, काठमाडौं । एटलान्टा स्टेडियममा खेल सकिएपछि सबै क्यामेराहरु उनी तर्फ नै तेर्सिए । उनको आँखा आँशुले रसायो । उमेरले चार दशक पार गरिसकेका खेलाडीले विश्वकप जस्तो मन्चमा स्पेन जस्तो बलियो टिम विरुद्ध सानदार प्रदर्शन गरेपछि यो स्वभाविक थियो ।
विश्वकपको पहिलो खेल, ४० वर्षमा विश्वकपमा डेब्यु अनी उपाधिको दाबेदार टिम मानिएको स्पेनलाई पहिलो खेलमै गोलरहित बराबरीमा रोक्दामा नायक ।
उनी हुन् भोजिन्हा ।
एक दिन अघि सम्म विश्व फुटबलमा खासै नसुनिएको नाम स्पेन विरुद्धको शानदार प्रदर्शन पछि अहिले विश्वभर चर्चा छन् ।
अफ्रिकी राष्ट्र केप भर्डेले फिफा विश्वकप २०२६ मा डेब्यु खेलमै २०१० को विश्व च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोकेपनि अहिले यी ४० वर्षीय गोलकिपर हट केक बनेका छन् ।
स्पेन विरुद्ध भोजिन्हा पर्खाल जस्तै बनेर खडा भए । उनलाई पार गर्न स्पेनका फरवार्ड लाइन असफल रहे ।
वर्तमान विश्व पुटबलका युवा स्टार लामिन यमालले दोस्रो हाफमा मैदान प्रवेश गर्दै विश्वकपमा डेब्यु गरे तर केप भर्डे विरुद्ध उनले कुनै जादु देखाउन सकेनन् ।
५ लाखभन्दा कम जनसंख्या भएको सानो टापु राष्ट्र केप भर्डेको यो ऐतिहासिक प्रदर्शनको मुख्य नायक ४० वर्षीय गोलकिपर भोजिन्हा बने । स्पेनका विश्वप्रसिद्ध स्ट्राइकरहरूलाई निराश पारेका उनी खेलको ‘प्लेयर अफ द म्याच’ बने ।
अहिले उनी विश्वक फुटबल र सामाजिक सञ्जालमा पनि निकै छाएका छन् । मैदान भित्र स्पेनलाई रोकेको भोजिन्हालाई सामाजिक सञ्जालमा भने पछ्याएनेहरुको बाढी लागेको छ ।
स्पेन विरुद्ध बहादुरी
खेलमा स्पेन पूर्ण रुपमा हावी देखिएको थियो । स्पेनले ७४ प्रतिशतभन्दा बढी बल पोसेसन आप्नो पक्षमा राख्दै २७ पटक गोलको प्रयास गरेको थियो ।
तर त्यो प्रयास भोजिन्हालाई पार गर्न सकेन । भोजिन्हा स्पेनका लागि पर्खाल बने । उनले खेलभर ७ उत्कृष्ट बचाउ गरे । यदी विपक्षी पोस्टमा कोजिन्हा थिएनन् भने स्पेनले आधा दर्जन जति गोल गर्ने सम्भावना पनि थियो ।
भोजिन्हाले पहिलो हाफमा सानदार बचाउन गर्दा स्पेन अग्रता लिनबाट चुकेको थिए । पेड्रिको प्रहार र फेरान टोरेसको बारमा लागेर फर्किएपछि रिबाउन्डमा मिकेल ओयाबालल हानेको उत्कृष्ट हेडरलाई भोजिन्हाले एक हातले बचाएका थिए । त्यसलगत्तै आइमेरिक लापोर्टको हेडरलाई पनि उनले डाइभ हान्दै पोस्ट बाहिर फालिदिए ।
दोस्रो हाफमा पनि भोजिन्हाको लय कायम रह्यो । पहिलो हाफमा आफ्ना फरवार्डहरु गोल गर्न असफल बनेपछि स्पेनका प्रशिक्षक डे ला फुएन्टेले दोस्रो हाफमा आफ्नो युवा स्टार लामिन यामाललाई मैदानमा उतारेर दबाब बढायने प्रयास गरेका थिए । तर भोजिन्हाको संयम र सानदार प्रदर्शनको अगाडि स्पेनको केही लागेन ।

मैदानमा खेल सकिएको अन्तिम सिट्टी बजाउँदा स्कोर ०-० थियो । विश्वकप डेब्युमा केप भर्डेले पूर्व विजेता स्पेनलाई बराबरीमा रोक्दै अप्रत्यसित नतिजा निकाल्यो र विश्वकपमा डेब्युमा डेब्यु खेललाई सुखद बनायो ।
पहिलो खेलमै स्पेनसँग अंक खोजेपछि केप भर्डेको मनोबल पनि बढेको छ र अब नकआउटमा पुग्ने सम्भावना कायम राखेको छ । केप भर्डेको फुटबल इतिहासकै यो पहिलो विश्वकप खेल हो र त्यसमा ऐतिहासिक अंक समेत जोड्न सफल भएको छ ।
खेलपछि भोजिन्हाले मिडियासँग कुरा गर्दै भिसा समस्या र आर्थिक अभावका कारण आफ्नी आमा आफ्नो खेल हेर्न अमेरिका आउन नपाएको र बाल्यकालमा हुर्काउने हजुरबुबा-हजुरआमालाई मैदानमा देख्न नपाउँदा आफू भावुक बनेको बताएका थिए ।
‘म रोएँ किनभने मलाई हुर्काउने मेरा हजुरबा अजुरआमा दुर्भाग्यवश यहाँ हुनुहुन्न । केही वर्षहरु उहाँहरु बित्नुभयो । उहाँहरु मेरो लागि सबै थोक हुन् र मेरो जीवनको सबै कुरा हुन्,’ उनले भने, ‘र मेरी आमा । उनी भिजाको कारण यहाँ आउन सक्नुभएन । किनकी भिजामा लागि तिर्नुपर्ने पैसा अभाव भयो । म उहाँ यही भएको हेर्न चाहन्थे ।’
२५ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु
भोजिन्हाको वास्तविक नाम जोसिमार जोसे एभोरा डियास हो । भोजिन्हा उनको निकनेम हो ।
उनको जन्म केप भर्डेको मिन्डेलोमा भएको थियो । धेरैजसो आधुनिक फुटबलरहरू सानै उमेरमा स्थापित भइसक्दा भोजिन्हाले भने २५ वर्षको उमेरमा मात्र व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए ।
उनले आफ्नो खेल जीवनमा केप भर्डे, माल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलका तल्लो डिभिजनका क्लबहरू बाट व्यावसायिक फुटबल खेले । हाल उनी पोर्चुगिज क्लब चाभेसमा आबद्ध छन् । उनले सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् र हालसम्म राष्ट्रिय टिमका लागि ९० खेल खेलेका छन् ।

दशक भन्दा बढी राष्ट्रिय टिमका लागि खेल्दा उनी टिमकै महत्वपूर्ण सदस्य बने । केप भर्डेलाई पहिलो पटक विश्वकपमा छनोट गराउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
यस्तै उनले ४० वर्ष १२ दिनको उमेरमा विश्वकपमा डेब्यु गरे । समथै उनी विश्वकपमा डेब्यु गर्ने दोस्रो सबैभन्दा पाका उमेरका खेलाडी समेत बने । इजिप्टका गोलकिपर एसा हल हाडारीले ४५ वर्षको उमेरमा विश्वकपमा डेब्यु गरेका थिए ।
भोजिन्हाले टिमको एकता नै सबैभन्दा ठूलो हतियार भएको बताए । ‘हाम्रो ठूलो हतियार भनेको हाम्रो एकता हो, उनले भने, ‘धेरैले हाङ्गीलाई यहाँ विश्वकपको मजा लिन मात्र आएको सोचेका छन् । तर होएन हामीसँग राम्रो टिम छ हामीलाई थाहा छ । यो हाम्रो पहिलो पटक हो तर हामी यहाँ प्रतिस्पर्धा गर्न आएका हौँ । हाङ्गी यहाँ हाम्रो देशको लागि चुनौट्टी दिन आएका हौँ ।’
इन्स्टाग्राम फलोअर्समा एकाएक ‘विस्फोट’
स्पेन विरुद्ध सानदार प्रदर्शन गरेपछि भोजिन्हाल रातारात चर्चामा रहे । यति सम्म भयो र उनको इन्स्टाग्रम फलोअर्समा पनि बाढी आयो ।
मैदानमा स्पेनका खेलाडीलाई रोकेका भोजिन्हालाई सामाजिक सञ्जालमा भने फ्यानहरूले पछ्याउनबाट कसैले रोक्न सकेन । खेल अघिसम्म फुटबल खेल्नेहरुले मात्र चिन्ने भोजिन्हाको लोकप्रियता खेल सकिएको केही घण्टामै विश्वव्यापी बन्यो ।

खेल सुरु हुन अघि उनको इन्स्टाग्राममा करिब ५०,००० फलोअर्स मात्र थिए । स्पेन विरुद्धको जादुमयी प्रदर्शनपछि उनको फलोअर्समा वृद्धि भयो । उनको फलोअर्स अहिले ५ मिलियन भन्दा बढी पुगिसकेको र यो क्रम बढ्दो छ ।
भोजिन्हा विश्वकप २०२६ को सबैभन्दा ठूलो ‘ब्रेकआउट स्टार’ र इन्टरनेट सेन्सेसन बन्न सफल भएका छन् ।
न त कुनै ठूलो र महँगा क्लबमा अनुबन्ध, उमेरले ४० वर्ष पुगेता पनि दृढ इच्छाशक्ति र कडा मिहिनेत भए विश्वको सबैभन्दा ठूलो मञ्चमा आफूलाई साबित गर्न सकिन्छ भन्ने उदाहरण भोजिन्हाले दिएका छन् । भोजिन्हाको यो सानदार प्रदर्शन र केप भर्डेको विश्वकप डेब्युमा ऐतिहासिक बराबरी विश्वकपको इतिहासमा सधैँ स्वर्ण अक्षरले लेखिनेछ ।
प्रतिक्रिया 4