२ असार, काठमाडौं । जापानमा आयोजना हुने २०औं एसियाली खेलकूद (एसियन गेम्स) का लागि पौडी खेलाडी छनोट प्रक्रियामा गम्भीर धाँधली र अनियमितता भएको भन्दै राष्ट्रिय खेलाडीहरूले आपत्ति जनाएका छन् ।
नेपालका नम्बर एक पौडीबाज इर्भिन श्रेष्ठ, मेधावी केसीसहितका खेलाडीहरूले नेपाल पौडी संघले पूर्व सूचना र स्थापित नियमविपरीत रातारात छनोटको मापदण्ड बदलेर खेलाडीहरूको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै खेलाडी, प्रशिक्षक तथा अभिभावकहरूले खेलको विश्वसनियतामाथि नै प्रश्न उठाउँदै न्यायका लागि सर्वोच्च अदालत पुगेको जानकारी दिए।
के हो मुख्य विवाद?
नेपाल पौडी संघले गत वैशाख १० गते सूचना जारी गर्दै २०८३ साल जेठ २३ र २४ गते आयोजना हुने ‘तेस्रो नेपाल एक्वाटिक च्याम्पियनसिप’ लाई एसियन गेम्सको ‘प्रि-क्वालिफिकेशन’ (प्रारम्भिक छनोट) को रूपमा घोषणा गरेको थियो । सूचना अनुसार उक्त प्रतियोगिताबाट महिला र पुरुषतर्फ ८-८ जना खेलाडी छनोट गरी असारको तेस्रो साता ‘क्वालिफिकेशन’ (अन्तिम छनोट) प्रतियोगिता गराइने तय थियो ।
तर, जेठ २३ गते पहिलो दिनको खेल सकिएपछि, २४ गते बिहान विना छाप र हस्ताक्षरको सूचना सामाजिक सञ्जाल र खेलस्थलमा टाँसेर सोही च्याम्पियनसिपलाई नै ‘अन्तिम छनोट’ मा परिणत गरियो र २-२ खेलाडी मात्र छनोट हुने भनियो । आधाभन्दा बढी खेल सकिएपछि खेलको मापदण्ड नै बदल्नुमा ठूलो षड्यन्त्र र चलखेल भएको खेलाडी इर्भिन श्रेष्ठले आरोप लगाए ।
‘आधा खेल भइसकेपछि विना छाप र हस्ताक्षरको सूचना जारी गरेर प्रि-क्वालिफिकेशनलाई क्वालिफिकेशनमा बदल्नु खेल नियम विपरीत छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जेठ २२ गते ५ दिनभित्र नाम पठाउन पत्र काटेको बहाना बनाइयो, जबकि आयोजक जापानले असार १७ गते (जुलाई १) सम्मको समय दिएको छ । समय बाँकी हुँदाहुँदै कसको स्वार्थका लागि रातारात नियम मिचियो ?’ नेपाल नम्बर १ पौडीबाज इर्भिन श्रेष्ठले भने ।

प्रविधिमा लापरवाही र डोपिङ टेस्टको अभाव
खेलाडीहरूले प्रतियोगिताको प्राविधिक पक्षमाथि पनि गम्भीर प्रश्न उठाएका छन् । पहिलो दिनको खेल (हिट्स) मा अन्तर्राष्ट्रिय नियम अनुसार आधुनिक प्रविधि ‘टच बोर्ड’ प्रयोग नगरी हाते घडी (स्टपवाच) को भरमा समय निकालिएको उनीहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय खेलको छनोटमा यस्तो लापरवाही हुनु र खेलको पूर्वतालिका पटक-पटक हेरफेर गरिनुले संघको गैरजिम्मेवारीपन प्रष्ट पार्ने खेलाडीहरूले बताए । साथै, प्रतियोगितामा अनिवार्य मानिने ‘डोपिङ टेस्ट’ समेत नगरिएको खेलाडीहरूले बताए ।
‘अन्याय सहनु झन् ठूलो पाप हो’
अर्की राष्ट्रिय पौडीबाज मेधावी केसीले खेलकुद क्षेत्रको यस्तै बेथिति र विसंगतिका कारण देशका प्रतिभावान खेलाडीहरू विदेश पलायन भइरहेको औंल्याइन्। उनले भनिन्, ‘जो छनोट भए पनि हाम्रै साथीहरू हुने हुन्, तर छनोट प्रक्रिया पूर्व सूचना र नियमसंगत हुनुपर्छ। भविष्यमा कुनै पनि खेलाडी क्षमता भएर पनि अन्यायमा नपरोस् भन्नका लागि हामीले आवाज उठाएका हौं। अन्याय गर्नेभन्दा सहने झन् ठूलो पाप हो ।’
त्यस्तै, पौडी प्रशिक्षक मेघ लामाले खेल तालिका र मापदण्ड घरीघरी बदल्दा खेलाडीको मानसिकता र तयारीमा गम्भीर असर पुग्ने बताए भने इर्भिनका अभिभावक महेश्वर श्रेष्ठले नियम र भावना विपरीत खेल खेलाएर पौडी संघले आफ्नो विश्वसनीयता आफैं गुमाएको टिप्पणी गरे ।
पौडी प्रशिक्षक मेघ लामाले खेल तालिकाहरु अदलबदल भइरहने, सूचनाहरु ढिलो गरी सार्वजनिक गर्ने हुँदा खेलाडीको तयारीमा असर पर्ने बताए । उनले खेलको तालिका बमोजिम खेल आयोजना हुनसकेमात्र नतिजा राम्रो आउने स्पष्ट पारे । प्रशिक्षक लामाले भने, ‘घरी घरी सूचना बदल्ने, खेलाडीको छनोटको मापदण्ड नै बदल्ने हुँदा खेलाडीमाथि अन्याय भइरहेको छ ।’

इर्भिन श्रेष्ठका अभिभावक महेश्वर श्रेष्ठले खेलाडीहरुले धेरै मिहेनत गरेर राखेको उद्देश्य पूरा गर्ने क्रममा अनावश्यक अवरोध आउनुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । आफूहरुले खेलको नियम र प्रक्रिया अनुसार खेलाउन भनेको स्पष्ट पारे । खेलको नियम र भावना विपरित खेलाएर छनोट गर्नुले खेल सम्वद्ध संस्थाको विश्वसनीयतामा आँच पुगेको बताए । उनले नियमपूर्वक खेलाएर त्रुटी सच्याउन माग गरे ।
सर्वोच्च अदालतले बोलायो छलफलमा
आफ्नो भविष्य र खेल भावनामाथि खेलबाड भएको भन्दै खेलाडीहरू प्रमाणसहित न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्च अदालतले यस विषयलाई गम्भीरतापूर्वक लिँदै भोलि असार ३ गते बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । अदालतले नेपाल पौडी संघ, राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई यस विषयमा लिखित जवाफ पेश गर्न समेत आदेश दिइसकेको छ ।
असार १७ गतेसम्म खेलाडीको नाम पठाउने समय अझै बाँकी रहेकाले पौडी संघलाई आफ्नो गल्ती सच्याएर नियमपूर्वक पुनः अन्तिम छनोट प्रतियोगिता गराउन खेलाडीहरूले माग गरेका छन् । खेल क्षेत्रमा व्याप्त यस्तो बेथितिको निष्पक्ष छानबिन नभए समग्र देशकै प्रतिष्ठामा आँच पुग्ने खेलाडीहरूको चेतावनी छ ।
तस्बीर : विकास श्रेष्ठ
प्रतिक्रिया 4