+
+
Shares

भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १६:२६

२ असार, काठमाडौं । रास्वपा सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो भिडियो भाइरल भएपछि स्पष्टीकरण दिएकी छिन् ।

उनले आफू सार्वजनिक जिम्मेवारीमा हुनुअघिको निजी समयसँग सम्बन्धित उक्त भिडियो पुरानो रहेको बताएकी छिन् ।

सञ्जालमा मंगलबार बिहानैबाट भट्टराईले कारको झ्यालबाट निस्किएर रमाउँदै गरेको भिडियो भाइरल भएको थियो । अत्यधिक आलोचना भएपछि उनले उक्त भिडियो हालको नभइ धेरै अघि व्यक्तिगत यात्राको बेलामा खिचिएको बताएकी छिन् ।

‘सबैभन्दा पहिले, उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो। सो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु,’ सांसद भट्टराईले भनेकी छिन्, ‘उक्त भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित थिएन। यो मेरो निजी जीवनको एक सामान्य र सहज क्षण मात्र थियो ।’

भिडियोमा देखिएको गतिविधिलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित हुन नसक्ने उनको भनाइ छ ।

‘सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूप्रति नागरिकहरूको चासो स्वाभाविक हुन्छ र म त्यसको सम्मान गर्दछु । तर सार्वजनिक पदमा रहँदैमा व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउँदैन भन्ने विश्वास राख्दछु,’ उनले भनेकी छिन्, ‘म सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक हुँ, र अन्य नागरिकसरह मेरो पनि निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार छ ।’

जीवनको कुनै न कुनै चरणमा अधिकांश व्यक्तिहरूले उत्साह, उमेर वा परिस्थितिका कारण यस्ता केही व्यवहार गरेका हुन सक्ने बताउँदै उनले जुन विषय ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुन सक्ने पनि बताएकी छिन् ।

‘भिडियोमा देखिएको व्यवहारलाई पनि त्यसै सन्दर्भमा बुझिनु उचित हुनेछ । यद्यपि, सडक सुरक्षा र ट्राफिक नियमहरूको पालना सबैको साझा जिम्मेवारी हो भन्ने कुरामा म पूर्ण रूपमा विश्वास गर्दछु,’ उनले भनेकी छिन् ।

विगतका यस्ता अनुभवबाट सिक्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने उनको भनाइ छ ।

‘विगतका यस्ता अनुभवहरूबाट सिक्दै भविष्यमा म स्वयंले पनि यस्ता गतिविधि दोहोर्‍याउने छैन र सम्पूर्ण नागरिकहरूलाई समेत ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गर्दछु । यसलाई आलोचना वा विवादको विषयभन्दा पनि सडक सुरक्षा सम्बन्धी सचेतनाको अवसरका रूपमा लिन सकिन्छ भन्ने मेरो अपेक्षा छ,’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?