२ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले पूर्वी पहाडी जिल्ला इलामको मेरुदण्डका रूपमा रहेको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
निर्यातमा देखिएका बाधा र बजार व्यवस्थापनको अभावमा चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले इलामका अधिकांश नागरिकको जीविकोपार्जनको मुख्य स्रोत चिया भएपनि सरकारले यस क्षेत्रको समस्या समाधानमा तदारुकता नदेखाएको आरोप लगाए ।
चिया किसान र व्यवसायीहरूले भोग्दै आएका समस्याका बारेमा आफूले पटक–पटक सदन र सरकारको उच्च तहमा कुरा उठाए पनि सुनुवाइ नभएको उनको गुनासो थियो ।
नेपाली चियाको प्रमुख बजारका रूपमा रहेको छिमेकी राष्ट्र भारतको पश्चिम बंगाल सरकारले गुणस्तर परीक्षणका नाममा नेपाली चियालाई अनावश्यक दु:ख दिइरहेको सांसद राईले बताए ।
‘परीक्षणका नाममा १५ दिनसम्म कन्टेनर रोकिँदा व्यवसायीहरूले ठूलो क्षति बेहोर्नुपरेको छ । नेपालको चिया तुलनात्मक रूपमा गुणस्तरीय भए पनि भारतीय पक्षबाट हुने नेगेटिभ रिपोर्टिङ र अवरोध सुनियोजित देखिन्छ,’ उनले भने ।
यो समस्या प्राविधिक मात्र नभई कूटनीतिक भएको उल्लेख गर्दै उनले सरकारी तहमा वार्ता गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए । नेपाली चियाको गुणस्तर प्रमाणित गर्न नेपालमै अन्तर्राष्ट्रिय स्तरको परीक्षण केन्द्र स्थापना गर्नुपर्ने माग राईले अघि सारे ।
चिया बगानको संरक्षण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि सरकारले नयाँ स्टार्टअप र सहुलियतका कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।
प्रतिक्रिया 4