२ असार, काठमाडौं । काठमाडौं विश्वविद्यालयले गुगल रिसर्चको सहयोगमा तयार पारेको नेपाली, तामाङ र अंग्रेजी भाषामा आधारित त्रैभाषिक यान्त्रिक अनुवाद (मसिन ट्रान्सलेसन) प्रणाली सार्वजनिक गरेको छ।
गुगल एकेडेमिक रिसर्च अवार्डको सहयोगमा केयूको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशालाले तयार पारेको यो प्रणाली मंगलबार सार्वजनिक गरिएको हो।
एक लाख बढी तामाङ तथा समानान्तर वाक्यहरू समावेश गरी तयार पारिएको यो प्रणालीबाट तामाङ–नेपाली, नेपाली–तामाङ र तामाङ–अंग्रेजी गरी तीन भाषामा अनुवाद गर्न सकिने विश्वविद्यालयका प्राध्यापक एवं प्रयोगशलाका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक डा. बालकृष्ण बलले बताए।
योसँगै तामाङ भाषा गुगल ट्रान्सलेसनमा लैजाने ढोका पनि खुलेको डा. बलले बताए।
‘तामाङ भाषालाई गुगल अनुवादमा लैजान हामी निरन्तर संवादमा छौं । चाँडै आउँछ भन्नेमा हामीले विश्वास गरेका छौं,’ डा. बलले भने।
फाइलबाटै अनुवाद हुने, यसैगरी ब्राउजरको पेजसमेत तामाङमा अनुवाद गर्न सकिने प्रणालीसमेत विकास भइसकेको उनले बताए ।
नेपालका १४ लाखभन्दा बढीले बोल्ने तामाङ भाषा गुगल अनुवाद सेवामा प्रवेश पाएमा तामाङ भाषा विश्व भाषा मञ्चमा उपलब्ध हुनेछ । हालसम्म नेपाली भाषाका अतिरिक्त दुइटा मातृभाषा मैथिली (सन् २०२२) र नेवाभाषा (सन् २०२४) ले मात्र गुगलमा प्रवेश पाएका छन्।
तामाङ भाषाविद् तथा अभियन्ता अमृत योञ्जन तामाङले यो अनुवाद प्रणाली सार्वजनिक भएसँगै तामाङ भाषा विश्व भाषाका रूपमा अघि बढेको बताए।
तामाङ भाषा अनुवाद समूहमा इन्द्र तामाङ, बुद्ध योञ्जन, यकिना अगाध, पेमा तामाङ, उदय थिङ, कुसुम लामा, विनुका लामा रहेका थिए ।
प्रतिक्रिया 4