२ असार, काठमाडौं । दक्षिण कोरियामा रोजगारी वा बसाइँसराइको व्यवस्था मिलाइदिने भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गतिविधि बढ्दै गएको छ ।
केही ब्रोकर तथा व्यक्तिहरूले दक्षिण कोरिया पठाइदिने, रोजगारी दिलाइदिने वा बसाइँसराइको प्रक्रिया मिलाइदिने भन्दै ठूलो रकम असुल्ने प्रयास गर्दै आएको पाइएपछि काठमाडौंस्थित कोरियाली राजदूतावासले एक सूचना जारी गर्दै सचेत रहन भएको छ ।
दूतावासले त्यस्ता व्यक्ति वा संस्थाको सम्पर्कमा परे तत्काल नेपाल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ । दक्षिण कोरियामा रोजगारी वा बसाइँसराइ प्राप्त गर्ने प्रक्रिया अनधिकृत ब्रोकरमार्फत सम्भव नहुने दूतावासले प्रष्ट पारेको छ । वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट बच्न सर्वसाधारणलाई सचेत र सतर्क रहन पनि आग्रह गरिएको छ ।
हालका दिनमा वैदेशिक रोजगारीको आकर्षण बढेसँगै विभिन्न देशमा रोजगारीको अवसर दिलाइदिने प्रलोभन देखाएर रकम असुल्ने घटनाहरू बढिरहेका छन् । यस्तो अवस्थामा आधिकारिक निकायबाट मात्र सूचना लिन र कुनै पनि आर्थिक कारोबार गर्नुअघि बुझेर मात्रै गर्न सुझाव दिएको छ ।
प्रतिक्रिया 4