+
+
Shares

अध्ययन बिदा दुरुपयोग गर्ने ५० प्राध्यापकले फिर्ता गरे ११ करोड ८४ लाख, बाँकीलाई १५ दिनको अल्टिमेटम

रकम फिर्ता गर्नेमा सांसद पनि

अध्ययन बिदा लिएर पूरा समय काम नगरेका सांसदलेसमेत रकम फिर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले तलब–भत्ता फिर्ता गरेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ असार ३ गते १०:१७

३ असार, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई तलब भत्ता फिर्ता गर्न १५ दिनको समय दिएको छ ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार सार्वजनिक सूचना जारी गरेर अन्तिम पटक १५ दिनको समय दिइएको हो ।

‘अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका र फर्की पूरा अवधि सेवा नगर्ने शिक्षक तथा कर्मचारीहरूलाई सम्पर्कमा आउन सूचना प्रकाशित गरेका छौँ,’ काफ्लेले भने, ‘विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने छ ।’

काफ्ले नेतृत्वको समितिलाई नफर्किएका प्राध्यापकको खोजबिन गर्न र रकम फिर्ता लिन असारसम्मको समय दिइएको थियो । १५ दिनसम्म पनि नआएमा समितिले हालसम्म रकम फिर्ता गर्ने र नफर्किएकाको विवरणसहितको प्रतिवेदन विश्वविद्यालय नेतृत्वलाई बुझाउने छ ।

सरकारले समेत अध्ययन बिदामा गएर नफर्किनेलाई कानुनी दायरामा ल्याउन तदारुकता दिएपछि रकम फिर्तासँगै नफर्किएका प्राध्यापकलाई सम्पर्कमा आउन १५ दिनको समय दिइएको हो । ‘सरकारले काम प्रभावकारी बनाउन निर्देशन दिएको छ । शिक्षा मन्त्रीज्यूले पनि गम्भीरतापूर्वक चासो लिनु भएको छ,’ संयोजक काफ्ले भन्छन् ।

नफर्किका प्राध्यापकको खोजबिन गर्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले समितिलाई सहयोग र सहजीकरण गरिरहेका छन् । ‘त्रिविले निर्णय गरेर नै समिती बनाएर हामीले काम गरेका हौं । पदाधिकारीबाट पूर्ण सहयोग भएका कारण सम्भव भएको हो,’ काफ्लेले भने ।

अध्ययन बिदामा गएका प्राध्यापक विदेशमै लुक्ने गरेको समाचार प्रकाशित भएपछि त्रिविले खोजबिन गर्न समिति बनाएको थियो । समितिले खोजबिन गर्दा ३९८ जना प्राध्यापकले बिदाको दुरुपयोग गर्दा त्रिभुवन विश्वविद्यालयलाई २ अर्ब बढी नोक्सानी भएको छ ।

५० जनाले फिर्ता गरे ११ करोड ८४ लाख, रकम फिर्ता गर्नेमा सांसद पनि

समितिका अनुसार हालसम्म ५० जनाले रकम फिर्ता गरेका छन् । उनीहरूले ११ करोड ८४ लाख रुपैयाँ फिर्ता गरेका छन् । ‘अहिलेसम्म तिर्न नआएकालाई पत्र पनि काटेका छौँ,’ काफ्लेले भने ।

अध्ययन बिदा लिएर पूरा समय काम नगरेका सांसदलेसमेत रकम फिर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले तलब–भत्ता फिर्ता गरेका छन् ।

कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा. आनन्द चन्द र गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित कांग्रेस सांसद जगत तिमिल्सिनाले रकम फिर्ता गरेका हुन् । सांसद हुनुअघि उपप्राध्यापक चन्द त्रिवि पाटन संयुक्त क्याम्पस र सहप्राध्यापक तिमिल्सिना व्यवस्थापन केन्द्रीय विभागमा कार्यरत थिए ।

चन्दले गत ३० चैतमा ४४ लाख ५६ हजार र तिमल्सिनाले गत २ वैशाखमा ३३ लाख ५० हजार रकम फिर्ता गरेका हुन् ।

त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि ३ वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा ३ वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ । तर बिदामा गएका धेरैजसो प्राध्यापक फर्किने गरेका छैनन्

अध्ययन बिदा सकिएपछि नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ । तर धेरैजसोले राजीनामा दिने रकम फिर्ता नगर्ने गरेको पाइएको छ ।

त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहितको अध्ययन बिदा दिने गरेको हो । तर अध्ययन बिदाको चरम दुरुपयोग हुने गरेको छ । जसका कारण त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी बेहोरिरहेको छ ।

अध्ययन बिदाको दुरुपयोग गरेकोमा मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् ।

त्यसैगरी, वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन् ।

छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी ३९८ जना प्राध्यापक छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?