३ असार, काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहको सरकारसँगको सहकार्यमा स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने काममा सरकार लागि परेको दाबी गरेका छन् ।
बुधबार आफनो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘स्वदेशमा नै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा व्यवस्था गरिएको छ । हामी रिटर्नीको तथ्यांक संकलन गरी उहाँहरूके के सिकेर आउनुभएको हो ? कहाँ रूची, कस्तो अवसर खोज्नुभएको हो ? भन्नेकुरा बुझ्नुपर्दछ,’ मन्त्री यादवले भने, ‘उनीहरूको क्षमताअनुसार मुलुकभित्र रोजगारीको अवसर सृजना गर्नका लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिएको छ ।’
मन्त्री यादवले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताए । मन्त्रालयका लागि बजेटको आवश्यक्ता भएमा तत्काल निकासा गर्न सकिने अवस्था रहेको मन्त्री यादवको भनाइ थियो ।
‘बढ्दो माग भएको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी पठाउने गरी काम भइरहेको छ । बजेटमा धेरै महत्वपूर्ण सवालहरू समावेश भएका छन । तर, हामीले यो स्पष्टसँग भन्न आवश्यक छ कि– हामी केवल कार्यक्रम थप्ने चरणमा मात्रै छैनौं, हामी जग बसाउने चरणमा छौं,’ मन्त्री यादवले भनेका छन्, ‘नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचना स्पष्ट नभएसम्म बजेट राखेर पनि खर्च गर्ने अवस्था हुँदैन । यो जग बसेपछि बजेट पनि त्यसरी नै बढाउँदै लैजानुपर्दछ । र, आवश्यक भएमा थप बजेट निकासा गर्न सकिन्छ ।’
मन्त्री यादवले विदेशमा गएकोहरूको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्यांक संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको बताए ।
प्रतिक्रिया 4