+
+
Shares

प्रकोपका लागि प्रतिशोध साँधेर आएको छु : गृहमन्त्री गुरुङ

उनले भने, ‘डिजास्टर (प्रकोप) को लागि म प्रतिशोध साँधेर आएको छु । पहिला जसरी डिजास्टरले हामीलाई दु:ख दियो, यसपालि त्यहीअनुसारमा प्रतिशोध साँधेर डिजास्टरलाई रेस्पोन्ड गर्ने मेरो योजनामा आएको छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् ।
  • बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउन आवश्यक डोजर पहिचान गर्न विशेष डिजिटल एप विकास गरिएको उनले बताए ।
  • औपचारिक निरीक्षणभन्दा नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर सुरक्षा निकाय परिचालन गरिने गृह मन्त्रालयको योजना छ ।

४ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गर्ने जानकारी दिए ।

औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताए । उनले सम्भावित संकटको अवस्थामा छिटो काम गर्नेगरी संयन्त्र निर्माण गरिएको पनि जानकारी दिए ।

विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उनको भनाइ छ ।

‘विपद् व्यवस्थापनमा हाम्रो पूर्वतयारी राम्रै छ, त्यही अनुसारमा सुरक्षा निकायहरू पनि खटाइएको छ । त्यही अनुसारमा डिफरेन्ट को–लिड, लिडहरूलाई पनि हामीले निर्देशन दिएका छौं,’ उनले भने, ‘यसपाली मन्त्रीको निरीक्षण भन्दापनि जनताको सुरक्षाको लागि हेलिकप्टरदेखि लिएर सबै कुराहरू खटाउने हाम्रो योजनामा राखिराखेका छौं ।’

मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ–कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली (एप) विकास गरिएको छ ।

‘जेन–जी आन्दोलनको टाइममा पनि मैले रेस्पोन्ड गर्दाखेरि धेरैजनाले चाहिँ मेरो त्यतिखेर हैसियत छैन, भनेर प्रश्न गरेका थिए । किन त्यो विपदको ठाउँमा गएर बसेर कुरा गरेको भन्ने प्रश्नहरू पनि आए । तर त्यतिखेर पनि रेस्पोन्ड एकदम राम्रोसित भएको थियो,’ उनले भने, ‘हामीले नागरिकको ज्यान बचाउन जोसुकैले सहयोग गर्न सक्छौं । पहिलाको सरकारले के गर्‍यो ? त्यससँग हामीसँग सरोकार भएन । तर पहिलाको सरकारले गरेको राम्रो कुरालाई प्रोत्साहन गरेर जति पनि कमीकमजोरी भएको छ, त्यसलाई सुधार गरेर सरकारले त्यही अनुसार काम गरिरहेको छ ।’

उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरेर सडक खुलाउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।

गृहमन्त्री गुरुङले विगतमा प्राकृतिक विपद्ले नागरिकलाई पुर्‍याएको क्षतिको अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

‘भौतिक पूर्वाधार मन्त्रालयसँग गृहमन्त्रालयले मिलेर कुनै बाढी पहिरो आइहालेको खण्डमा पहिरो हटाउनको लागि हामीले एप निर्माण गरेका छौँ । राइड शेयरिङ एपहरूले लोकेसन हाल्ने बित्तिकै त्यहाँको नजिँकै कहाँ कहाँ राइडरहरू छ भनेर थाहा हुन्छ, त्यहीअनुसारमा पुर्वाधार विकास मन्त्रालयले एउटा एप बनाएको छ,’ उनले भने, ‘डोजरहरू कहाँ-कहाँ छ भनेर ठ्याक्क थाहा हुन्छ । कुनै क्षेत्रमा यदी तत्काल रेस्पोन्ड गर्नुपर्‍यो भने तुरुन्तै हामीले गर्ने, बाटो फुकाउने हिसाबले एप डेभलप गरेका छौं । डिजास्टर (प्रकोप) को लागि म प्रतिशोध साँधेर आएको छु । पहिला जसरी डिजास्टरले हामीलाई दु:ख दियो, यसपालि त्यहीअनुसार प्रतिशोध साँधेर डिजास्टरलाई रेस्पोन्ड गर्ने मेरो योजनामा आएको छु ।’

गृहमन्त्री गुरुङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिएको पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?