५ असार, तेह्रथुम । पहाडी जिल्लाका ग्रामीण बस्तीहरूमा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्नु अझै पनि चुनौतीपूर्ण विषय बनेको छ ।
सामान्य उपचारका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता कायमै छ । गाउँपालिकामा रहेका स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रहरूमा पर्याप्त सुविधा नहुँदा जिल्ला सदरमुकाम, धनकुटा वा धरानसम्म पुग्नुपर्ने अवस्थाले स्थानीय बासिन्दाले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । तर, अब तेह्रथुमको छथर गाउँपालिकावासीका लागि त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ ।
गाउँपालिकामा निर्माणाधीन १५ शैयाको छथर अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेसँगै स्थानीयवासी उत्साहित बनेका छन् ।
२०७८ साल असोजबाट निर्माण सुरु गरिएको अस्पताल भवन स्वास्थ्य मन्त्रालयको १३ करोड ९२ लाख रुपैयाँ र छथर गाउँपालिकाको ३ करोड १० लाख रुपैयाँ गरी करिब १७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।
आधुनिक सुविधासहितको अस्पताल भवनले गाउँपालिकाभित्रै प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ । निर्माणको प्रारम्भिक चरणमा जग्गासम्बन्धी विवादका कारण काम प्रभावित भए पनि पछि विवाद समाधान गरी निर्माण कार्यलाई तीव्रता दिइएको थियो ।
छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार अस्पताल भवन निर्माण कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । ‘भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यसै आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ’, अध्यक्ष तिगेलाले भने ।
उनका अनुसार आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन तथा परिचालनका लागि संघीय सरकारसँग अनुरोध गरिएको छ । साथै अस्पताल सञ्चालनसम्बन्धी आवश्यक ऐन जारी गरी गाउँपालिकाले आफैँ जनशक्ति व्यवस्थापन गर्ने योजना बनाएको छ ।
अस्पताल निर्माणको जिम्मा लिएको रसुवा सफल जेभीले विभिन्न चुनौतीका बीच निर्माण कार्यलाई अन्तिम चरणसम्म पुर्याएकको जनाएको छ । कम्पनीका प्रतिनिधि देव नारायण गजुरेलका अनुसार समयमा बजेट भुक्तानी नहुनु, निर्माण सामग्रीको मूल्यवृद्धि, मौसमजन्य समस्या तथा अन्य प्राविधिक कठिनाइका कारण निर्माण कार्य प्रभावित भएको थियो । ‘विभिन्न समस्याका बाबजुद अहिले काम अन्तिम चरणमा पुगेको छ । यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य राखेका छौं’, उनले बताए ।
कम्पनीका इन्जिनियर रोशन बरालका अनुसार २०७८ साल असार ६ गते निर्माण सम्झौता भएको थियो । तर, निर्माण अवधिमा जग्गा विवादलगायत विभिन्न समस्याका कारण निर्धारित समयमै काम सम्पन्न गर्न कठिनाइ भएको उनले बताए ।
निर्माणाधीन अस्पतालले स्थानीय बासिन्दामा ठूलो आशा जगाएको छ । अहिले सामान्य उपचार यहाँ रहेको स्वास्थ्य केन्द्रमा पाए पनि मध्यम स्तरका स्वास्थ्य समस्याका लागि धनकुटा, धरान वा अन्य ठाउँ धाउनुपर्ने बाध्यता रहेको छ । अस्पताल सञ्चालनमा आएपछि यो समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ ।
स्थानीयवासी नारान रुचाल भन्छन, ‘अहिले पाइरहेको सेवाभन्दा राम्रो स्वास्थ्य सेवा गाउँमै पाइने आशा छ । सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्नेछ ।’ छथर गाउँपालिकाका बासिन्दा मात्र नभई छिमेकी स्थानीय तह तथा जिल्लाका नागरिकले समेत यस अस्पतालबाट सेवा लिन सक्नेछन् । स्वास्थ्य सेवाको पहुँच विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको यो अस्पताल सञ्चालनमा आएपछि मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक सेवा, आधारभूत उपचार तथा अन्य स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ ।
विकासका धेरै सूचकहरूमध्ये स्वास्थ्यलाई आधारभूत आवश्यकता मानिन्छ । छथरमा निर्माणाधीन यो अस्पताल केवल एउटा भवन मात्र नभई ग्रामीण नागरिकको स्वास्थ्य सुरक्षाको आधार, सहज उपचारको माध्यम र स्थानीय विकासको महत्वपूर्ण उपलब्धि पनि हो । वर्षौँदेखि गाउँमै स्तरीय स्वास्थ्य सेवाको प्रतीक्षा गरिरहेका स्थानीयका लागि यो अस्पताल आशाको नयाँ केन्द्र बनेको छ । अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकावासीले गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4