६ असार, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले पाथीभरा केबलकार परियोजनाको अध्ययन कार्यदल बनाएकामा स्वागत गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णयको स्वागत गरेका हुन् ।
‘मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको अध्ययन गर्न प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्वहाङ राईको संयोजकत्वमा गठित अध्ययन कार्यदलको निर्णयप्रति म हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु,’ महतोले भनेका छन् ।
मुक्कुमलुङ केवल एउटा भौगोलिक क्षेत्र मात्र नभई किरात सभ्यता, मुन्धुमी दर्शन, आदिवासी–जनजाति समुदायको ऐतिहासिक स्मृति, सांस्कृतिक अस्तित्व र आध्यात्मिक आस्थाको जीवित केन्द्र रहेको उनले विज्ञप्तिमा भनेका छन् ।
‘त्यसैले विकासका नाममा कुनै पनि समुदायको इतिहास, पहिचान, संस्कृति र सभ्यतामाथि अतिक्रमण हुनु स्वीकार्य हुन सक्दैन भन्ने मान्यता सुरुदेखि नै मेरो रहेको छ,’ उनले भनेका छन् ।
मुक्कुमलुङ संरक्षण आन्दोलनमा सहभागी शक्तिहरूको दृढता, त्याग र प्रतिबद्धताका कारण सरकारले कार्यदल गठन गरेको उनले भनेका छन् ।
‘सरकारद्वारा गठित अध्ययन कार्यदलले केवल केबलकार परियोजना रोक्ने वा खारेज गर्ने विषयमा मात्र सीमित नरही, यस परियोजनाका नाममा भएका सम्भावित अनियमितता, प्रक्रियागत त्रुटि, कानुनी कमजोरी, ऐतिहासिक तथा सांस्कृतिक सम्पदामाथि गरिएको अतिक्रमण, स्थानीय समुदायको अधिकारमाथि भएको बेवास्ता तथा मुन्धुमी सभ्यताको सम्मानमा पुगेको क्षतिको समग्र अध्ययन गरी वस्तुगत प्रतिवेदन प्रस्तुत गर्नुपर्दछ भन्ने मेरो अपेक्षा छ,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4