+
+
Shares

पोखराका मेयरलाई विदेश भ्रमणमा भ्याइनभ्याइ : हतारमा बजेट ल्याउँछन्, कुुदिहाल्छन्

मेयर आचार्य भन्छन्– विदेशसँग अत्यधिक सम्बन्ध पनि पोखरामा जति अन्त छैन

मेयर हुनुभन्दा पहिले नै ४० भन्दा बढी देश घुमिसकेका आचार्य मेयर भइसकेपछि करिब डेढ दर्जन पटक विदेश भ्रमणमा गइसकेका छन् । अहिले उनी इजरायल गएका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ असार ७ गते ८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बजेट पारित नगरीकनै नगर सभा स्थगित गरेर शनिबार इजरायल प्रस्थान गरे ।
  • आफ्नो कार्यकालमा करिब डेढ दर्जन देशको भ्रमण गरिसकेका मेयर आचार्यले यसलाई वैदेशिक लगानी भित्र्याउने माध्यमका रूपमा बचाउ गरे ।
  • मेयर आचार्यले पछिल्लो समय पोखराका सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना हटाउन र बसपार्क निर्माण प्रक्रिया अघि बढाउन सफलता पाए ।

७ असार, पोखरा । २०८२ साल असार ८ गते हतारमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि पर्याप्त छलफलसमेत नगरी पारित गरेर पोखरा महानगरका मेयर धनराज आचार्य चीन भ्रमणमा निस्किए । विदेश भ्रमणको हतारोले बजेटमा यतिसम्म हेलचेक्राइँ भयो कि उपमेयर मञ्जुदेवी गुरुङले नगर सभामा पेश गरेको वक्तव्यमा आर्थिक विकास महाशाखाको कार्यक्रम नै छुट्यो ।

त्योभन्दा अगाडि मेयर आचार्य चार्टर जहाजमार्फत् २०२५ मा मार्चको १८ देखि २५ सम्म चीनको सिचुवान प्रान्तका विभिन्न सहरहरू, विशेष गरी छेन्दु, लुझाउ, छोङछिङ, इमी र लिसानलगायत भ्रमण गरेका थिए । मे २०२५ मा लायन्स क्लबको अन्तर्राष्ट्रिय टोलीसँग सामाजिक तथा संस्थागत सम्बन्ध सुदृढीकरणका लागि भन्दै उनी चीन गएका थिए ।

चीनबाट फर्किएको एक महिना पनि नबित्दै त्रुटि नै त्रुटि भएको बजेट पर्याप्त छलफलै नगरी उनी फेरि चीनतर्फ लागेका थिए ।

अघिल्लो वर्ष हतारमा बजेट पारित गरेर चीन गएका मेयर आचार्यले यसपटक पनि त्यस्तै गरेका छन् । ५ गते नीति तथा कार्यक्रम र ५ गते १९ औं नगर सभामा बजेट प्रस्तुत भएपछि उनी विदेश यात्रामा निस्किएका हुन् ।

७ अर्ब १५ करोड रुपैयाँ बजेट ल्याएका पोखरा महानगरका मेयर आचार्य शनिबार इजरायल प्रस्थान गरेका हुन् । जुन २३ र २४ मा आयोजना हुने मिनी एक्स्पोमा सहभागी हुन उनी इजरायल गएका हुन् ।

आफ्नो विदेश भ्रमणको समय मिलाउन मेयर आचार्यले शुक्रबार नै बजेट पारित गर्न प्रस्ताव गरेका थिए । तर, सभा सदस्यहरुले पर्याप्त छलफलसमेत गर्नुपर्ने भएकाले तत्काल पारित नगर्न भन्दै रोकेका थिए ।

‘हामीलाई यो बजेटमा छलफल गर्न २/४ चाहिन्छ भने अर्को दिन तोक्छु । होइन टाइट/टाइट नै भएको बेला छ, बुझिएकै छ विषय पनि, यही वर्षको पेमेन्ट गर्न गाह्रो भएको विषय छ भनेर यसमा भएका सुझावहरुलाई लिखित रुपमा पठाउँछौं भनेर म्याण्डेट दिनुहुन्छ भने यसलाई आजै पारित आजै टुंग्याउने गरी साथीहरुको म्याण्डेट लिउँ,’ नगरसभाको अध्यक्षता गरेका मेयर आचार्यको प्रस्ताव थियो ।

पढ्नलाई २/४ दिन चाहिन्छ भने अर्को मिति उनले तोक्दै उनले भरसक शुक्रबारै पारित गर्न जोड गरेका थिए । ‘त्यति हो कि आज हामीले पास गर्‍यौं भने ७५३ पालिकामध्ये सबैभन्दा छिटो बजेट पास गरेको पालिका बन्छौं । हामी यो वर्ष सर्वोत्कृष्ट पनि भएका छौं,’ मेयर आचार्यको जोड थियो, ‘आकासै खस्ने चिज छैन, सुझावहरु लेखेर दिनुभयो भने । जसले राम्रोसँग पढ्नुभाछ उहाँहरुले छलफलमा भाग लिन सक्नुहुन्छ । अरुले सुझाव लेखेर भोलि पर्सिसम्म पठाइदिनु भयो भने रातो किताब निकाल्नु अगाडि इनकर्पोरेट गर्नेछौं ।’

नगर सभामा सदस्यहरुले पढ्दै नपढी पास नगर्ने अडान कायम राखे । अगाडि पुग्ने नाममा हतारमा पास गर्न नहुने नगर सभा सदस्यले बताए । तर मेयर आचार्यले आर्थिक ऐन र बजेटका सन्दर्भमा थप समय मागिएकाले २०८३ साल असार १७ गते २ बजे नगरसभा बस्ने गरी सभा स्थगित भएको घोषणा गरे । अनि इजरायल प्रस्थान गरे ।

करिब डेढ दर्जन विदेश भ्रमण

मेयर आचार्यलाई विदेश भ्रमण नै प्यारो देखिएको यसपटकमात्रै होइन । कार्यकालको अन्तिम वर्षसम्म आइपुग्दा उनले करिब डेढ दर्जन देशको भ्रमण गरिसकेका छन् ।

‘अर्बान डेभलपमेन्टसम्बन्धी मेयर डायलग फोरममा सहभागी हुन इजरायल जान लागेको हुँ । नेपालबाट पोखरा, काठमाडौं र जनकपुर सहभागी हुँदैछ । पोहोर यस्तै कार्यक्रम इजिप्टमा भएको थियो । मलाई पोहोर पनि बोलाएको थियो, अहिले पनि बोलायो,’ मेयर आचार्यले अनलाइनखबरसँग भने, ‘धेरै त होइन, १६ औं/१७ औं भ्रमण भयो होला ।’

पालिकाका प्रमुखहरुमध्ये सबैभन्दा धेरै विदेश भ्रमण गर्ने मेयरका रुपमा इतिहास लेखाउन खोज्नुभएको हो ? भन्ने प्रश्नमा मेयर आचार्यले भने, ‘अत्यधिक विदेश गएर अत्यधिक सम्बन्ध पनि पोखरामा जति अन्त छैन नि त ।’ वैदेशिक सम्बन्धकै कारण पोखरामा लगानी भित्रिएको मेयर आचार्यको भनाइ थियो ।

मेयर आचार्यले पोखराका विभिन्न परियोजनामा दातृ निकायमार्फत भएको लगानीलाई आफूले ल्याएको दाबी गर्ने गरेका छन् । मेयर आचार्यले अहिलेसम्म गरेका विदेश भ्रमणमा सरकारी पैसा खर्च नगरेको दाबी गरे ।

मेयर निर्वाचित हुनुभन्दा पहिले नै लायन्स क्लबको गभर्नर र विभिन्न कार्यक्रममा गरेर ४० भन्दा बढी देश घुमिसकेका आचार्य मेयर भइसकेपछि पनि विदेश भ्रमणको मोह घटेको छैन । सामान्य कार्यक्रममा पनि उनी आफैं विदेश भ्रमणमा जाने गरेका छन् ।

जेनजी आन्दोलनका बेला युएईमा थिए मेयर आचार्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट  भुटानको पारोमा सिधा उडान भर्ने भन्दै २०८२ मंसिर ३ गते मेयर आचार्य आफैं भुटान एयरलायन्सको जहाजमा थिम्पु गएका थिए ।

युनिभर्सल टुर्स एण्ड ट्राभल्स (यूटीटी)ले गरेको चार्टर जहाजमार्फत् थिम्पु पुगेका मेयर आचार्य चार दिनपछि  फर्किएका थिए । जबकि प्रतिनिधि वा पर्यटन क्षेत्रका अभियन्तालाई पठाए पनि हुने कार्यक्रममा मेयर आफैं जहाज चढेर थिम्पु पुगेको भन्दै आलोचनासमेत भएको थियो ।

मेयर आचार्यले विदेश भ्रमण, दातृ निकाय, विदेशी कूटनीतिज्ञहरुसँग बढी नै रुचि राख्ने र प्राथमिकता दिने गरेको देखिएको छ । कामभन्दा बढी प्रचारमा रमाइरहेको आरोप खेपिरहेका मेयर आचार्यले कूटनीतिज्ञ भेट, भ्रमण र छलफललाई पनि आफ्नो उपलब्धिका रुपमा सुनाउने गरेका छन् ।

एकपटक गइसकेको देशमा पनि २/३ महिनाकै बीचमा दोहोर्‍याएरसमेत उनी विदेश जाने गरेका छन् । २०८० वैशाखमा भगिनी सम्बन्ध, पर्यटन तथा सहकार्य सम्बन्धी भ्रमण भन्दै जापान गएका थिए । जाइकासँगको सहकार्य खोज्दै जापान गएका मेयर आचार्यले त्यसलगत्तै पोखराको भगिनी सम्बन्ध र पर्यटन कूटनीतिसम्बन्धी गतिविधि गर्ने भन्दै चीनका नगरहरूको भ्रमण गरेका थिए ।

जुलाई २०२५ मा अमेरिका गएर फर्किएका मेयर आचार्य ३ महिनापछि फेरि अमेरिका नै पुगेका थिए । त्योबेला अमेरिकाको १५ दिने भ्रमण सकेर फर्किएको मेयर आचार्य आफैंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । डिसेम्बर २०२४ मा उनी दक्षिण कोरिया गएका थिए ।

देशमा जेनजी आन्दोलन भएर भदौ २३ र २४ को घटना हुँदा पनि मेयर आचार्य युएईमा थिए । आफ्नै घर र पोखरा महानगरपालिकाको कार्यालयलगायत अधिकांश सरकारी कार्यालय ध्वस्त हुँदा उनी कास्की समाजले गरेको कार्यक्रममा दुबईमा थिए ।

मेयर आचार्य आफैं पनि विदेश भ्रमण गर्न सक्ने व्यक्ति हुन् । लायन्स क्लबको अभियन्ता र व्यवसायीका रुपमा विश्वका धेरै देशहरु घुमेका मेयर आचार्यलाई सार्वजनिक पद धारण गरिसकेपछि पनि विदेश भ्रमणको मोहमा दौडादौड देखिएको छ ।

कस्तो रह्यो कार्यकाल ?

अनेरास्ववियुबाट पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति हुँदै स्टेसनरी, प्रकाशन गृह, जलविद्युत आयोजनालगायत व्यवसायमा लागेका आचार्य एमाले टुंक्रिएर गठित माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेका थिए । उनी एकीकृत समाजवादीबाट फेरि राजनीतिमा सक्रिय हुँदै कांग्रेस, माओवादीसहितको गठबन्धनको भागबण्डामा पोखराको मेयरको टिकट हात पार्न सफल भएका थिए ।

व्यावसायिक हिसाबमा सफल, लायन्स क्लबको गभर्नरसमेत भइसकेका र बोल्नमा माहिर आचार्यलाई पोखराको उपयुक्तका पात्रका रुपमा छान्दै एमालेका पूर्वमेयर कृष्ण थापालाई हराउँदै पोखरेलीले धनराजलाई जिताइदिएका थिए । फूल र रुख रोपेर पदभार ग्रहण गरेका मेयर आचार्यले केही अभियानहरु थाले पनि सुरुमा अधिकांश असफल भए ।

फोहोर व्यवस्थापनको प्रमुख दायित्वसहित कुर्चीमा बसेका आचार्यले टिकट काटेर हेर्ने बनाउँछु भनेको प्रशोधन केन्द्र निर्माणको कामलाई अझै टुंग्याउन सकेका छैनन् । पार्किङ व्यवस्थापन, अन्डरग्राउण्ड खाली गर्ने, सार्वजनिक शौचालयको व्यवस्थित र नीति व्यवसायीहरुबाट पनि होटल, रेस्टुरेन्ट, घरका शौचालय प्रयोग गर्न आह्वान गर्दै थालेका अभियानहरु सबै असफल जस्तै बनेका थिए ।

विकास साझेदार दातृ निकायले पोखराका सडक र विभिन्न परियोजनाहरुमा गरेको लगानीलाई मेयर आचार्यले आफ्नो पहलबाट आएको भन्दै प्रमुख उपलब्धिका रुपमा प्रस्तुत गर्ने गरेका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सफल भए पनि त्यसको व्यवस्थापनमा भने मेयर आचार्यले नतिजा देखाउन सकेनन् ।

फेवाताल किनारमा बनेका संरचनामा एकाबिहानै डोजर चलाउनु पनि महानगरको अर्को असफल कदम बन्न पुगेको छ । जेनजी आन्दोलनपछि संघमा बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि उनीप्रति नागरिकहरुले देखाएको उत्साह र सहानुभूतिलाईसमेत प्रयोग गर्दै पोखराका मेयर आचार्यले पछिल्लो समय पनि केही ऐतिहासिक काम गरेका छन् ।

बर्षौंदेखि समस्या बनेको पोखराको अमरसिंह स्कुलको स्वामित्वमा रहेको चौरको जग्गामा बनेका संरचना हटाउन उनी सफल भए । पृथ्वीचोकमा कांग्रेस, एमाले, माओवादीलगायत दल निकट मजदुर संगठन र विभिन्न संघसंस्थाले हडपेर बनाएर संरचना भत्काउन पनि मेयर आचार्य सफल भएका छन् ।

राजनीति स्वार्थको सिकार बन्दै आइरहेको फिर्के खोलामा बनेका संरचनामा डोजर लगाउने काममा पनि उनी सफल देखिएका छन् । तर, भत्काइएका ठाउँको व्यवस्थापन र त्यसको उपयोग तथा व्यवस्थापनमा मेयर आचार्यले ध्यान दिनुपर्ने आवाज उठिरहेको छ ।

उनले अब अर्जुनदृष्टि पोखरा बसपार्कमा लगाएका छन् । ५ दशकभन्दा लामो समयदेखि विवाद र चर्चाको केन्द्रमा रहेको पोखरा बसपार्क बनाउन मेयर आचार्यले सहमतिमै प्रयास गरिरहेका छन् ।

अहिले लालपूर्जा भएका व्यवसायी र घरहरुले धमाधम खाली गरिरहेका छन् भने सुकुमवासीलाई जग्गा व्यवस्थापन गर्न समिति बनाएका छन् । २०३१ सालमा २ सय ५ रोपनी जग्गा अधिग्रहण भएर अहिले करिब २६ रोपनीमा खुम्चिन आइपुग्नका पछाडि किनबेच, सट्टापट्टा भएका जग्गाको छानबिन गर्न अर्को समिति बनाएका छन् भने सुकुमवासीहरुकै पहिचान गर्न पनि समिति बनाएर काम गरिरहेका छन् । सर्वपक्षीय, सर्वदलीय सहमति गराएरै बसपार्क निर्माणको अभियान चलाइरहेका मेयर आचार्य यो काममा मात्रै सफल भए भने पनि त्यो ऐतिहासिक हुने भएकाले हौसिएका पनि छन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?