News Summary
Generated by OK AI. Editorially reviewed.- इजी हेल्थकेयर १०१ ले सहज र किफायती स्वास्थ्य सेवाका लागि 'इजीकेयर ३६५' नामक डिजिटल स्वास्थ्य सदस्यता प्लेटफर्म सार्वजनिक गरेको छ ।
- विशेषगरी विदेशमा रहेका नेपालीका अभिभावकलाई लक्षित यस सेवामा घरमै स्वास्थ्य परीक्षण, टेलिकन्सल्टेसन र औषधि डेलिभरीसहितका सुविधा उपलब्ध हुनेछन् ।
- वार्षिक ३६५ अमेरिकी डलर शुल्क तोकिएको यस कम्पनीमा ८० प्रतिशत चिकित्सक र २० प्रतिशत कर्पोरेट क्षेत्रको लगानी रहेको छ ।
७ असार, काठमाडौं। स्वास्थ्य सेवालाई थप सहज, पहुँचयोग्य र किफायती बनाउने उद्देश्यसहित इजी हेल्थकेयर १०१ ले ‘इजीकेयर ३६५’ नामक स्वास्थ्य सदस्यता (मेम्बरसिप) प्लेटफर्म सार्वजनिक गरेको छ।
जुन १९ मा आयोजित कार्यक्रममा कम्पनीले डिजिटल स्वास्थ्य सेवा प्लेटफर्मको औपचारिक शुभारम्भ गर्दै नेपालभरका व्यक्ति तथा परिवारलाई गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
कम्पनीका अनुसार स्वास्थ्य सेवा पहुँचको कमी, बढ्दो स्वास्थ्य खर्च तथा नियमित स्वास्थ्य निगरानीको अभावलाई सम्बोधन गर्न ‘इजीकेयर ३६५’ विकास गरिएको हो। यस प्लेटफर्ममार्फत चिकित्सक परामर्श, प्रयोगशाला परीक्षण, औषधि सेवा, स्वास्थ्य परीक्षण, दीर्घरोग व्यवस्थापन, घरमै स्वास्थ्य सेवा तथा गैर–आपतकालीन स्वास्थ्य यातायात सेवा एकीकृत रूपमा उपलब्ध गराइनेछ।
विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै ल्याइएको यस सेवाअन्तर्गत नेपालमा रहेका अभिभावक तथा ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य परीक्षण, टेलिकन्सल्टेसन, औषधि डेलिभरी, ल्याब परीक्षण, स्वास्थ्य यातायात तथा व्यक्तिगत केयर कोअर्डिनेटरमार्फत स्वास्थ्य व्यवस्थापन सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।
साथै नियमित स्वास्थ्य प्रतिवेदन, डिजिटल स्वास्थ्य अभिलेख तथा प्रारम्भिक स्वास्थ्य मूल्याङ्कनको सुविधा पनि रहनेछ।
कम्पनीका अनुसार सदस्यहरूले विशेषज्ञ चिकित्सक सेवामा सहज पहुँच, नियमित स्वास्थ्य निगरानी, रोगको प्रारम्भिक पहिचान तथा समन्वित स्वास्थ्य सेवाको लाभ लिन सक्नेछन्। विभिन्न प्याकेजमा उपलब्ध ‘इजीकेयर ३६५’ को वार्षिक सदस्यता शुल्क ३६५ अमेरिकी डलरदेखि सुरु हुने जनाएको छ।
इजी हेल्थकेयर १०१ ले आगामी दिनमा देशका प्रमुख सहरहरूमा सेवा विस्तार गर्दै राष्ट्रिय स्तरको एकीकृत स्वास्थ्य सेवा सञ्जाल निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।
यस ८० प्रतिशत चिकित्सकहरू कै लगानी छ भने २० प्रतिशत कर्पोरेट क्षेत्रको लगानी छ । यसलाई पब्लिक लिमिटेड बनाउने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4