News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताइन् ।
- उनले सन् १८५७ को विद्रोह दमनमा सहयोग गरेबापत नेपालले नयाँ मुलुक फिर्ता पाउनु जंगबहादुरको कार्यकालको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरिन् ।
- विक्रम संवत् १९१० मा जारी मुलुकी ऐन र सती प्रथा निरुत्साहित गर्ने जंगबहादुरको प्रयास प्रशंसनीय रहेको उनले बताइन् ।
७ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताएकी छन् ।
आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जंगबहादुर राणा’ प्रवचन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
१९औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न जंगबहादुर राणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
दक्षिण एसियाको अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधिनमा गइसकेको अवस्थामा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भएको उल्लेख गर्दै उनले त्यसको श्रेय तत्कालीन नेतृत्वका रूपमा जंगबहादुर राणालाई दिनुपर्ने बताइन् ।
उनकाअनुसार जंगबहादुरले बेलायत भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेका थिए । त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिस साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्याएको उनले बताइन् ।
नेपाल–ब्रिटिस भारत सीमाको व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जंगे पिलर’ हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कूटनीतिक स्थिरतामा समेत ठूलो भूमिका खेलेको उनले बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले सन् १८५७ को भारतीय विद्रोह दमनमा सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको ‘नयाँ मुलुक’ फिर्ता प्राप्त गर्नु उनको शासनकालसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय उपलब्धि भएको बताइन् ।
उनले वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको अवधारणा अब केवल भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा मात्र सीमित नरही लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता तथा नागरिक अधिकारको प्रवद्र्धनसँग समेत जोडिएको बताइन् ।
राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हुने उनको भनाइ थियो ।
उनले भनिन्, ‘जंगबहादुरको महत्वपूर्ण पक्ष नेपालको स्वतन्त्र अस्तित्वको रक्षासँग सम्बन्धित छ । १९औँ शताब्दी विश्वव्यापी रूपमा औपनिवेशिक विस्तारको युग थियो । त्यस समयमा दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिस साम्राज्यको अधिनमा गइसकेको थियो । यस्तो परिस्थितिमा पनि नेपाल आफ्नो सार्वभौम अस्तित्व कायम राख्न सफल भयो । यस उपलब्धिको श्रेय हामीले तत्कालीन नेतृत्वका रूपमा जंगबहादुर राणालाई दिनुपर्दछ ।’
उनले अगाडि भनिन्, ‘उहाँ (जंगबहादुर) ले बेलायतको भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुभयो । त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिस साम्राज्यबीचको सम्बन्धलाई केही हदसम्म व्यवस्थित बनायो । यसै सन्दर्भमा नेपाल र ब्रिटिस भारत सीमाको व्यवस्थाका क्रममा निर्माण गरिएका जंगे पिलर पनि उल्लेखनीय मानिन्छ, जसले सीमा स्पष्टता र प्रशासनिक तथा कूटनीतिक स्थिरतामा ठूलो योगदान पुर्याएको छ ।’
आजको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको भन्दै उनले आज राष्ट्रियताको अवधारणा भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारको प्रवद्र्धनसँग पनि जोडिएको बताइन् ।
उनले भनिन्, ‘इतिहासका विभिन्न कालखण्डका अनुभवहरूबाट सिक्दै हामीले अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्दछ । जंगबहादुरको जीवन र कार्यको अध्ययनले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाउँछ । राष्ट्रको हित र स्वतन्त्रताको रक्षा आवश्यक छ, तर त्यससँगसँगै लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विस्तार पनि उत्तिकै आवश्यक छ। राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हो ।’
उनले जंगबहादुरले नेपालमा मुलुकी ऐन बनाउन सुरुवात गरेको पनि बताइन् । राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप विक्रम संवत् १९१० मा जारी गरिएको मुलुकी ऐनलाई नेपालको पहिलो कानूनी संहिताका रूपमा लिन सकिने उनको भनाइ छ । यद्यपि उक्त ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिबिम्बित भएको र आजको मूल्य–मान्यताका दृष्टिले ती स्वीकार्य नरहेको बताइन् । त्यसलाई सोही समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतनास्तरलाई समेत सँगसँगै बुझ्न आवश्यक रहेको उनको भनाइ थियो ।
भण्डारीले जंगबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरू पनि उल्लेखनीय रहेको बताइन् । तत्कालीन समाजमा गहिरोसँग जरा गाडेर बसेको सती प्रथालाई निरुत्साहित गर्ने पहल जंगबहादुरले नै गरेको उनको भनाइ छ ।
उनले इतिहासका विभिन्न कालखण्डका अनुभवबाट शिक्षा लिँदै अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
प्रतिक्रिया 4