+
+
Shares

कसरी अगाडि बढ्छ रास्वपाको निर्वाचन कार्यक्रम ?

रास्वपाको बन्दसत्र भोलि बिहान ८ बजेबाट सुरु गर्ने भनिएपनि प्रतिनिधिहरूको उपस्थिति र ब्रेकफास्टका कारणले केही ढिला गरी मात्रै सुरु हुने देखिएको छ । बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संसोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन,आर्थिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छ ।

सुवास पण्डित सुवास पण्डित
२०८३ असार ७ गते २२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्र र दिउँसो १ बजेबाट निर्वाचनका कार्यक्रम शुरू हुने भएका छन् ।
  • महाधिवेशनमा सहभागी चार हजारभन्दा बढी प्रतिनिधिले विद्युतीय मेसिन र मोबाइल एपमार्फत एक सभापति र ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान गर्नेछन् ।
  • रास्वपाको प्रस्तावित विधान अनुसार १५१ सदस्यीय केन्द्रीय कमिटीमा पार्टी सभापतिले ५० जना केन्द्रीय सदस्य र सात जना पदाधिकारी मनोनीत गर्ने व्यवस्था छ ।

७, असार, चितवन । रास्वपा चितवनको पहिलो केन्द्रीय महाधिवेशनको उद्घाटन सकिएसँगै अब बन्दसत्रको कार्यक्रमतर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ ।

रास्वपाको बन्दसत्र भोलि बिहान ८ बजेबाट सुरु गर्ने भनिएपनि प्रतिनिधिहरूको उपस्थिति र ब्रेकफास्टका कारणले केही ढिला गरी मात्रै सुरु हुने देखिएको छ ।

बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संसोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छ ।

रास्वपाको निर्वाचन आयोगले भोलि दिउँसो १ बजेदेखि मात्रै औपचारिक निर्वाचनको कार्यक्रम थाल्ने तयारी गरेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले अनलाइखबरलाई जानकारी दिए ।

केन्द्रीय निर्वाचन आयोगले महाविधेशन प्रतिनिधीहरूको नामबली पार्टीको वेभसाइटमा प्रकाशन गरेको जनाएको छ ।

आयोगका प्रमुख केसीले आज आइतबार बिहान ९ बजेदेखि भोलि बिहान ९ बजेसम्म प्रतिनिधिहरूको नामबलीमा दाबीविरोध, भएका गल्ती सच्चाउनका लागि २४ घण्टाको समय उपलब्ध गराएको छ ।

बिहान १० बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गर्ने र त्यसपछि निर्वाचनका थप कार्यक्रम अगाडि बढाउने तयारी गरिएको आयोगका प्रमुख केसीले जानकारी दिए ।

भोलि नै केन्द्रीय सदस्यहरुको उम्मेदवारी मनोनयन, प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरुद्ध दाबीविरोध, मनोनयन फिर्ता र अन्तिम नामावली प्रकाशनसम्मका कार्यक्रम तय हुने कार्य तालिका छ।

रास्वपाका महाधिवेशनमा उपस्थित भएका र प्रवासमा रहेका गरेर ४ हजार भन्दा बढी प्रतिनिधि छन् । प्रवासमा रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत र प्रतिनिधिहरूले इलेक्ट्रोनिक्स भोटिङ मेशिन-इभिएम) का माध्यमबाट मतदान गर्नेछन् ।

पहिलो चरणमा १ जना पार्टी सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछन् । ९९ जना निर्वाचित प्रतिनिधिहरुबाट सभापति बाहेकका बाँकी पदाधिकारी पदमा उम्मेदवारी दिन सक्नेछन् ।

निर्वाचन आयोगका प्रमुख केसीले प्रस्तावित विधान हलमा केही परिमार्जनसहित पारित भएमा सोही बमोजिम गर्नुपर्ने भएकोले आयोगले त्यसमा पनि ध्यान केन्द्रित गरेको बताए ।

अहिले प्रस्तावित विधानमा हरेक प्रदेशबाट दुई महिलासहित ५ जनाले उम्मेदवारी दिन सक्ने व्यवस्था गरिएको छ । पदाधिकारीमा सभापतिले मनोनीत गर्ने बाहेकका पदमा महाविधेशन प्रतिनिधिहरूले मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोग प्रमुख केसीले जानकारी दिए ।

रास्वपाको १५१ सदस्यीय केन्द्रीय कमिटीमा सभापतिले ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधान प्रस्ताव गरिएको छ । पार्टी सभापतिले उपसभापति १, महामन्त्री १, सहमहामन्त्री १, कोषाध्यष १, सहकोषाध्यक्ष १, प्रवक्ता १ र सहप्रवक्ता १ जना मनोनीत गर्नेछन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?