+
+
Shares

राप्रपाका ३ पूर्वअध्यक्षको सन्देश : पार्टी नछाड्ने, मूकदर्शक नबन्ने

केन्द्रीय समिति बैठक बहिष्कार ‘साङ्केतिक विरोध’ भएको दाबी, निष्पक्ष महाधिवेशनका लागि स्टेरिङ कमिटी गठनको प्रस्ताव ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते ७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका वरिष्ठ नेताहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीभित्रको बेथिति सुधारका लागि केन्द्रीय समिति बैठक बहिष्कार गरेको बताएका छन् ।
  • नेताहरूले पार्टीभित्रको अविश्वास अन्त्य गर्न अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न सुझाव दिएका छन् ।
  • उनीहरूले २०८३ मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने निर्णयको स्वागत गर्दै यसलाई निष्पक्ष र विश्वसनीय बनाउन माग गरेका छन् ।

८ असार, काठमाडौं । राप्रपाका बरिष्ठ नेताहरु पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीभित्र लामो समयदेखि देखिँदै आएका बेथिति सुधारका लागि निरन्तर प्रयास गरे पनि अपेक्षित परिणाम ननिस्किएपछि केन्द्रीय समिति बैठक बहिष्कार गरेको बताएका छन् ।

असार ५ र ६ गते काठमाडौंमा सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा आफूहरुको अनुपस्थिति पार्टीप्रतिको असन्तुष्टि नभई ‘सांकेतिक विरोध’ भएको उनीहरुले बताएका छन् । तीन नेताले सोमबार संयुक्त वक्तव्य जारी गर्दै सो जानकारी दिएका हुन् ।

पार्टी नछाड्ने स्पष्ट सन्देश दिँदै उनीहरुले वक्तव्यक्त लेखेका छन्, ‘राप्रपा तथा यसको विचार, आदर्श र लक्ष्यप्रतिको हाम्रो प्रतिबद्धता सधैँ अटल र अविचल छ ।’

अनुशासनका नाममा पूर्वाग्रह र प्रतिशोधपूर्ण कारबाही नगर्न तथा केन्द्रीय कार्यसमितिको बैठकमा कार्यसमितिबाहिरका व्यक्तिलाई सहभागी गराउने अभ्यास अन्त्य गर्न उनीहरुले माग गरेका छन् ।

पार्टी अध्यक्षको संयोजकत्वमा ‘स्टेरिङ कमिटी’ प्रस्ताव

पार्टीभित्रको अविश्वास र निराशा अन्त्य गर्न यथाशीघ्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोडसमेत दिइएको छ ।

महाधिवेशन समयमै नहुने वा निष्पक्ष नहुने आशंकाका कारण केही नेता–कार्यकर्ता पार्टी छाडिसकेको उल्लेख गर्दै उनीहरूले पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ गठन गर्न सुझाव दिएका छन् ।

‘महाधिवेशन समयमै नहुने वा निष्पक्ष रूपमा सम्पन्न नहुने आशङ्काका कारण केही साथीहरूले पार्टी परित्याग गरिसकेका छन् भने अन्य कतिपयमा पनि निराशा बढिरहेको छ,’ संयुक्त वक्तव्यमा लेखिएको छ, ‘यस्तो परिस्थितिको समाधानका लागि पार्टी अध्यक्षको संयोजकत्वमा पूर्वअध्यक्षहरू समेत रहने गरी एक उच्चस्तरीय ‘स्टेरिङ कमिटी’ (मार्गदर्शन समिति) गठन गर्नु उपयुक्त हुनेछ भन्ने हाम्रो सुझाव हो ।’

तर यस्ता सुझावलाई आत्मसात् गर्नुको सट्टा पूर्वअध्यक्षहरूमाथि आरोप र लाञ्छना लगाउने प्रवृत्ति देखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् ।

यद्यपि बैठकले २०८३ मङ्सिर २६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेकोमा भने तीन नेताले स्वागत गरेका छन् । महाधिवेशन स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन यसअघि प्रस्तुत सुझावहरू कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

मुकदर्शक बनेर नबस्ने

वक्तव्यमा पार्टी कमजोर बन्दै गएको र कार्यकर्तामा निराशा बढिरहेको अवस्थामा आफूहरू मूकदर्शक बनेर बस्न नसक्ने उल्लेख गर्दै उनीहरुले कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटगत राजनीति नगर्ने दाबी गरेका छन् ।

‘पार्टी कमजोर बन्दै गएको र कार्यकर्तामा निराशा बढिरहेको वर्तमान अवस्थामा हामी मूकदर्शक बनेर बस्न वा पलायन हुन सक्दैनौँ’ वक्तव्यमा लेखिएको छ, ‘हाम्रो कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा पूर्वाग्रह छैन; हामी कुनै गुट वा समूहको राजनीतिमा पनि संलग्न छैनौँ ।’

उनीहरुले थप लेखेका छन्, ‘हाम्रो एक मात्र चाहना र चिन्ता भनेको हाम्रो जीवनकालमै पार्टी कमजोर वा पतन भएको देख्न नपरोस् भन्ने हो ।’

साथै पार्टी छाडेर गएका नेता–कार्यकर्तालाई पुन: फर्किन र अन्योलमा रहेका कार्यकर्तालाई महाधिवेशन तयारीमा जुट्न आह्वान गरिएको छ । आगामी महाधिवेशनले ‘हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र’ को वैचारिक आधारमा सुशासन, राजनीतिक स्थिरता, राष्ट्रिय एकता र आर्थिक समृद्धिको स्पष्ट कार्यदिशा प्रस्तुत गर्नुपर्ने उनीहरूको धारणा छ ।

तीन नेताले राप्रपाले जनविश्वास पुन: प्राप्त गरी राष्ट्रिय राजनीतिको केन्द्रमा भूमिका स्थापित गर्न आन्तरिक सुधार, लोकतान्त्रिक अभ्यास र एकताबद्ध नेतृत्व आवश्यक रहेको निष्कर्ष पनि प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?