News Summary
Generated by OK AI. Editorially reviewed.- बेलायतको काउन्टी क्रिकेट प्रणालीमा १५ वर्षीय नेपाली किशोर दिपेश सापकोटा उदाउँदो प्रतिभाका रूपमा अघि बढेका छन् ।
- उनले चौध वर्षको उमेरमा १०० बलमा १६३ रनको उत्कृष्ट व्यक्तिगत स्कोर बनाएको बताए ।
- उनले भविष्यमा बेलायतको अन्डर–१९ टोलीसँगै नेपाल प्रिमियर लिग खेल्ने लक्ष्य रहेको बताए ।
८ असार, लन्डन । १५ वर्षीय नेपाली किशोर दिपेश सापकोटा बेलायतको काउन्टी क्रिकेट प्रणालीमा उदाउँदो प्रतिभाका रूपमा अघि बढिरहेका छन् ।
हाल डार्बीसायरस्थित निजी विद्यालय ट्रेन्ट कलेजमा कक्षा १० मा अध्ययनरत उनी नटिङ्घमसायर इमर्जिङ प्लेयर प्रोग्राम (इपीपी) अन्तर्गत प्रशिक्षण लिँदै नटिङ्घमसायर काउन्टी क्रिकेटको एकेडेमी स्तरमा सक्रिय छन् ।
नटिङ्घममै जन्मिएका दिपेशले ६ वर्षको उमेरमै क्रिकेट खेल्न सुरु गरेका थिए । आठ वर्षको उमेरमै उनी नटिङ्घमसायर काउन्टी क्रिकेटको अन्डर–१० टोलीमा छनोट भए ।
सन् २०१९ मा अन्डर–१० मा छनोट भएपछि उनले त्यही वर्ष पाँच खेल खेलेका थिए । त्यसयता उनले विभिन्न स्तरका खेलमा झन्डै पाँच हजार ५० रन बनाइसकेका छन् ।
१४ वर्षको उमेरमा उनले १०० बलमा १६३ रनको उत्कृष्ट व्यक्तिगत स्कोर बनाएका थिए । उक्त प्रदर्शन लेष्टरसायर एन्ड रुटल्यान्ड क्रिकेट फाउन्डेसन र नटिङ्घमसायरबीच भएको खेलमा आएको थियो ।
यसै वर्ष मे महिनामा नटिङ्घमको प्रिमियर डिभिजनमा क्याभिलियर्स एन्ड क्यारिङ्टन क्रिकेट क्लबको प्रतिनिधित्व गर्दै दिपेशले १४३ रनको अविजित इनिङ खेलेर टोलीलाई जित दिलाए । उक्त स्तरमा यती कम उमेरमै यस्तो प्रदर्शन गर्ने उनी सम्भवत: नेपालीमात्र नभई बेलायतकै कान्छा खेलाडीमध्ये एक मानिन्छन् ।

दिपेशको पारिवारिक पृष्ठभूमि पनि क्रिकेटसँग जोडिएको छ । उनका बुबा दीपक सापकोटा नटिङ्घम नेपाली समाजका पूर्वअध्यक्ष हुन् । गुल्मी जिल्लाको मुसीकोट नगरपालिका–वामी टक्सार मूल घर भएका दीपक सन् २००५ मा सेफ भिसामा बेलायत आएका थिए ।
हाल चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका उनी मिडल्यान्ड नेपाली क्रिकेट लिगका संस्थापक संयोजक तथा नटिङ्घम गोर्खा क्रिकेट क्लबका पूर्वकप्तान पनि हुन् ।
बुबाको प्रेरणा र पारिवारिक वातावरणले आफूलाई क्रिकेटप्रति आकर्षित गरेको दिपेश बताउँछन् । आमा सीता सापकोटा र दिदी दीपिकासँग नटिङ्घममा बस्दै आएका दिपेश अहिले पढाइ र क्रिकेट दुवैमा उत्तिकै सक्रिय छन् ।
हाल उनी नटिङ्घमसायर इमर्जिङ प्लेयर प्रोग्राम (इपीपी) अन्तर्गत सातामा दुई दिन नटिङ्घमको ट्रेन्ट ब्रिज अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा प्रशिक्षण लिन्छन् । त्यसबाहेक उनी सातामा एक दिन जिम गर्छन् भने विद्यालयमा पनि दुई दिन छुट्टै क्रिकेट प्रशिक्षण लिन्छन् ।
दिपेशको लक्ष्य नटिङ्घमसायर काउन्टी क्लबको पहिलो टोलीबाट खेल्ने र इंग्ल्यान्ड अन्डर–१९ टोलीसम्म पुग्ने छ । दीर्घकालीन रूपमा उनले नेपाल प्रिमियर लिग, एनपीएल हुँदै आइपीएलसम्म खेल्ने सपना बोकेका छन् ।
नेपाल आउजाउ गरिरहने दिपेश नेपाली भाषा पनि राम्रोसँग बोल्न सक्छन् । पछिल्लो समय उनी बेलायतमा प्रतिष्ठित मानिने बनबरी फेस्टिभलका लागि समेत छनोट भएका छन्, जसले उनको क्रिकेट यात्रामा थप सम्भावनाको ढोका खोलेको छ ।
प्रतिक्रिया 4