News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह नेतृत्वको सरकारले हालै ८५ दिन पूरा गरेको छ ।
- सरकारले काठमाडौं उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती खाली गराउँदै वास्तविक सुकुमवासी पहिचान र व्यवस्थापनको काम अघि बढाएको छ ।
- विपक्षी दलहरूले सुकुमवासीलाई अमानवीय तवरले हटाएको र प्रधानमन्त्री निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै विरोध गरेका छन् ।
गत २०८२ साल भदौ २३ र २४ मा जेनजी पुस्ताले आन्दोलन मार्फत देशमा परिवर्तनको बीउ छर्यो। फागुन २१ मा निर्वाचन गराउन अन्तरिम सरकार गठन भयो। निर्वाचन सम्पन्न भयो र राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ नजिकको जनमत प्राप्त गर्यो। उक्त पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री बनेका छन्।
शासनशैली बदलिएको छ। पहिला प्रधानमन्त्रीले बालुवाटारमा गर्ने भेटवार्ता र बाहिर गरेका भाषणबाट सत्ता सञ्चालन भएको अनुभूति हुन्थ्यो भने अहिले प्रधानमन्त्रीले आफ्ना कुरा सामाजिक सञ्जालमा राख्ने, बाहिर राजनीतिक भाषण नगर्ने र बालुवाटारलाई निजी निवासमा सीमित गरी भेटघाट लगायत सत्ता सञ्चालनका काम सिंहदरबार केन्द्रित भएर गरेको देखिन्छ। चौतर्फी राजनीतीकरणको ढोका बन्द गर्दै द्रुत गतिमा जनअपेक्षा सम्बोधन गर्ने भनी अध्यादेशको बाटोबाट कानून जारी गरिएको छ।
जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबाट काम शुरु गरेको वर्तमान सरकारले आरोग्य पर्यटन लगायत १०० बुँदे सुधार कार्यक्रम घोषणा गर्यो। काठमाडौं उपत्यकाका नदी किनारका सुकुमवासी बस्तीमा डोजर चलाएर खाली गराउँदै, वास्तविक सुकुमवासीको पहिचान गरी तत्कालीन गाँस-बासको प्रबन्ध र दीर्घकालीन समाधानमा सरकार जुटेको छ।
राजनीतिक नियुक्तिलाई प्रतिस्पर्धात्मक बनाउने सुरुआत गर्दै प्रधानन्यायाधीशको सिफारिसमा क्रमभङ्ग गरी नीति तथा कार्यक्रम ल्याएको छ। सरकारका यी कामले जेनजी पुस्ताले देशमा छरेको परिवर्तनको बीउ गर्भको भ्रूण बनेको प्रतीत हुन्छ। भ्रूण पूर्ण विकसित हुन बाँकी नै छ। तर, धेरैजसो विपक्षी दलहरूले सुकुमवासीलाई अमानवीय तवरबाट हटाएको र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभई निरङ्कुशतातर्फ उन्मुख भएको भन्दै विरोधमा उत्रिएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्षले राजीनामा माग्दै संसद्भित्रै प्लेकार्ड सहित विरोध र संसद् बहिष्कार गरेका छन्। अगुवा नागरिकमध्ये कसैले ‘क्रान्ति करुणा केन्द्रित हुनुपर्छ, ज्ञानको घमण्ड नदेखाऊ’ भनेका छन् भने कसैले ‘जेनजी आन्दोलनमा मान्छेलाई र अहिले नदी किनारलाई प्राथमिकता दिने विरोधाभास देखियो’ भन्दै आलोचना गरेका छन्। प्रस्तुत लेखमा अहिलेको देशको अवस्थालाई आध्यात्मिक दृष्टिबाट विश्लेषण गर्ने प्रयास गरिएको छ।
लोकतान्त्रिक सरकारको १०० दिनलाई हनिमुन पिरियड मानिन्छ। ठूलो जन, धन र समय खर्च गरी ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पञ्चायतको ३० वर्षे अवधिभन्दा बढी समय सञ्चालन गरेका पुराना दलले लोकतान्त्रिक मूल्य-मान्यता र संविधानप्रति नै खेलबाड गरिदिंदा थुप्रिएको विकृति-विसङ्गति लयमा फर्काउने सन्देश सहित वर्तमान सरकारले ८५ दिन पूरा गरेको छ।
दलीयकरणको आवरणमा चौतर्फी मौलाएको गुटबन्दी, जो लोकतन्त्रको धमिरा बनेको छ, त्यसको स्रोतमाथि सरकारले राजनीतीकरणको अपरेसन गर्ने कानून ल्याएको छ। संविधान संशोधनको बहस पनि व्यवस्थित ढङ्गले उठाएको छ।
लोकतन्त्रको खम्बा मानिने अर्को दल फुटाउन संसद् छलेर अध्यादेश ल्याउने र पटक-पटक संसद् विघटन गरेर संविधानमा प्वाल पार्ने पुराना दलले युग परिवर्तन गरेको निर्वाचनबाट दुईतिहाइ नजिकको जनमत प्राप्त सरकारलाई अध्यादेशका नाममा विरोध गर्नु कुनै पनि कोणबाट सुहाउने देखिन्न। त्यसमाथि बजेटका लागि छिट्टै बस्ने संसद् अधिवेशनमा पेश गर्नैपर्ने र पारित नभए स्वतः खारेज हुने अध्यादेशको विरोधमा आन्दोलन आवश्यक छैन। यो केवल पुराना दलहरू आ-आफ्नै अतीतको छायाँबाट झस्किएको अवस्था हो। जसलाई वेदान्त र गीताले ‘माया’ भनेको छ।
समस्याको चुरो समाधान गर्ने काममा सरकार प्रवेश गरेको छ, तर कामले आकार लिइनसकेको अवस्थामा सरकारलाई भड्काउन खोज्नु ‘माया’ को खेल नै हो। पुराना दलहरूले पुरानै प्रवृत्तिको पुनरावृत्ति गरेबाट जानेर वा अन्जानमा मायाको खेलमा फसेको स्पष्ट देखिन्छ। सत्तारुढ वा विपक्षी दलहरूले यो मायालाई बेलैमा बुझ्न सके देशका समस्या स्वयम् समाधान हुन सक्छन्। बेलैमा नबुझेमा देशै माया (भ्रम) मा फस्छ र देशको अस्तित्व समाप्त हुने जोखिम बढ्छ।
भारतीय आध्यात्मिक गुरु आचार्य प्रशान्त मायाको बारेमा भन्छन्, ‘हामीले देखे, सुने, चिन्तन गरेर अनुभव गरेका कुरा नै माया हो।’ मायाको सम्बन्ध विषयसँग हुँदैन; हुने भए कुनै न कुनै विषय मायाभन्दा बाहिर हुन्थ्यो र भेद थाहा हुन्थ्यो। मायाको सम्बन्ध अनुभोक्ता (उपभोक्ता) सँग हुन्छ।
अनुभोक्ता हामी नै हौं। त्यो अनुभव एकक्षणमा एउटा र अर्को क्षणमा अर्कै भएर बदलिने हुँदा निष्पक्ष र विश्वासयोग्य हुँदैन। विषय राम्रो वा नराम्रो हुँदैन। मायामा आधारभूत तथ्य नहुने हुँदा अनुभवमा आएको कुरालाई हामी विकृत गरिदिन्छौं। जे छ त्यसलाई मात्र होइन, नभएको कुरालाई पनि हामी विकृत गरिदिन्छौं। अर्थात्, कल्पना नै माया हो।
द्रष्टा दृश्यबाट बनेको हुन्छ। दृश्य कल्पित हुन्छ। व्यक्तिगत कल्पना कल्पना मात्र हो, सामूहिक कल्पना तथ्य बन्छ। तथ्य लोकतान्त्रिक र सामाजिक हुन्छ। विज्ञान पनि सामूहिक कल्पना नै हो।
सन्त कबीरले मायालाई रोचक ढङ्गले दोहा बनाएर बुझाएका छन् :
‘माया माया सब कहे, माया लखे न कोय
जो मन से न उत्रे, माया कहिए सोय।’
अर्थात् संसारै माया हो भन्ने कुरा बुझ्न सकिएको छैन, माया आफ्नै मनको कल्पना हो।
भगवान् बुद्धले मायालाई मनसँग जोड्दै भनेका छन्, ‘मनले अक्सर त्यही देख्छ, जो उसले चाहेको हुन्छ। आफ्नो कल्पनालाई सत्य मान्ने मन त्यसैमा उल्झिन्छ, अनि भ्रम पैदा हुन्छ।’
सन्त कबीरले मायाका दुई प्रकार हुने भन्दै लेखेका छन् :
‘माया दो प्रकारके, जो जाने सो खाय
एक मिलावे राम से, दूजी नर्क ले जाय।’
बुद्धले पनि जसले आफ्नो मनलाई हेर्छ, उसमा ‘सबै विचार सत्य हुँदैनन्’ भन्ने समझको विकास हुन्छ र भ्रम टुट्न शुरु हुन्छ भनी साक्षी भावले अवलोकन गर्ने सन्देश दिएका छन्। चार आर्य सत्य (दुःख छ, दुःखको कारण आसक्ति हो, समयकता समाधान हो) भन्दै दृष्टि, सङ्कल्प, वाणी, कर्म, आजीविका, व्यायाम (प्रयास), स्मृति (सजगता) र समाधि (ध्यान) सम्यक् भए दुःख निवारण हुन्छ भन्ने उपदेश दिए।
आफ्नै अनुभव मात्र सत्य हो र म नै निर्विकल्प हुँ भन्ने सोच र चिन्तनले गर्दा हिजो कफन बाँधेर सशस्त्र आन्दोलनको नेतृत्व गर्दै संवाद, सहमति र सहकार्य गरेर देशलाई गणतन्त्र जस्तो महान् उपहार दिनेहरू आफैंले निर्माण गरेको सुनौलो इतिहासमा दाग मात्र लगाएनन्, जेनजी आन्दोलनको भुङ्ग्रोमा सिङ्गो देश र युवा परे।
एउटा सूर्यको बिहान, दिउँसो र साँझको अनुभव फरक-फरक हुन्छ, यो नै माया हो। नेकपाका संयोजक प्रचण्डको निर्वाचन अघि र पछिको बोलाइ फरक छ। कांग्रेस सभापति र उपसभापतिको बोली पनि फेरिने छाँटकाँट देखिन्छ।
एमाले महासचिव दुई तिहाइ बहुमत नजिकको सरकार देखेर छटपटीमा छन् भने श्रम संस्कृति पार्टीका अध्यक्षको पछिल्ला अभिव्यक्तिमा पनि छटपटी देखिन्छ। यो सबै मायाको जालमा परेको सङ्केत हो। किनकि, अहङ्कारले आफ्नो अनुभवलाई मात्र सत्य मान्छ र त्यो नै माया हो।
ईश्वर पनि अहङ्कारको कल्पना हो भनी ऋषिहरूले ब्रह्मको ज्ञान दिए। ‘तिम्रो जे होइन (इन्द्रियहरूले देख्ने, अनुभव गर्ने सबैखाले पदार्थलाई हामी हाम्रो भन्छौं) त्यही ब्रह्म हो।’ त्यसैले ब्रह्म निराकार, निर्गुण, कालातीत, अजन्मा, अप्रमेय, निर्दोष, निर्मम, सार्वभौमिक, सर्वत्र, नित्य र अनन्त छ भन्दै आत्मा, सत्य, परम, ब्रह्म र बोध एउटै बताए। जोड दिएर भन्नको लागि मात्र परमात्मा, परब्रह्म, परमसत्य भनिएको हो; आत्मा र परमात्मा अलग होइनन्।
अध्यात्म हामी जीवलाई हाम्रै भित्र विराजमान आत्मामा पुर्याउने भर्याङ हो। तर अहिले कसैले ‘जमिनका दुनियाँदारी कुरा नै अध्यात्म हो’ भनेर इन्द्रियमा सीमित गरिदिने, कसैले ‘यो आकाशको कुरा हो’ भनेर जमिनसँग कटअफ गर्दै पारलौकिक बनाइदिंदा समाजमा मायाको जाल विस्तार हुँदै गएको छ।
पहिला प्रेम, अनि प्रेमबाट ज्ञान आउँछ किनकि ज्ञान प्रेममा आश्रित छ। प्रेम नभएकाले ज्ञानलाई गाली मात्र दिन्छ। प्रेम भनेको संवेदनशीलता हो। संवेदनशीलता भनेको दुःख बुझ्नु हो। दुःख त पहिलेदेखि मौजुद नै हुन्छ।
सुकुमवासीका नाममा वास्तविक सुकुमवासी पहिलेदेखि पीडामा थिए र देशको राजनीति नै प्रदूषित थियो। राजनीतिको हतियार बनाइएका सुकुमवासी र अव्यवस्थित बसोवास तथा सर्वत्र दलीयकरणको समस्या समाधान गर्न लागेको बेला कुनै पनि बहानामा आलोचना गर्नु ‘मायाग्रस्तता’ (भ्रम) हो।
‘म’ र ‘मेरो’ भावमा प्रकट हुने अहङ्कार कसैले देखेको छैन, देख्न पनि सकिंदैन। अहङ्कार जगतप्रति कामुक र लिप्त रहने हुँदा उसले जगतलाई जान्दै जान्दैन। अहङ्कारको काल्पनिक अनुभवबाट मनमा उठ्ने विचार र भावना नै अहङ्कार हो, जो झुटो छ। अहङ्कार शरीरको उत्पादन हो र मनको केन्द्रमा बस्छ। त्यसैले वेदान्तले ‘आफ्नै विचारधारासँग सावधान रहू’ भन्दै ‘स्पष्टसँग आफूलाई हेर’ भनेको छ। अन्धविश्वास अहङ्कारको निसानी हो भने वैज्ञानिक दृष्टि आध्यात्मिकताको सङ्केत। धेरै सवाल गर्नेलाई रुखो भन्छन् अहङ्कारीहरू।
अन्त्यमा, नेपाली जनताको सामूहिक कल्पना भोटको रूपमा व्यक्त भएकाले अहिलेको सरकार ‘तथ्य’ हो भन्ने सबैले स्वीकार्नुपर्छ। पुराना दलले निर्माण गरेको जगमा सरकार बनेको तथ्य सत्तारूढ पार्टी र प्रधानमन्त्रीले आत्मसात् गर्दै उपयुक्त व्यक्ति, संस्था र आफ्नै पार्टीभित्र समेत प्रत्यक्ष सम्यक् संवाद गर्दै आफ्नै विचार र भावनाप्रति स्वयं सजग रही परीक्षण गर्नै पर्छ। तब मात्र माया जोखिम बन्दैन, रामसँग मिलाउने साधन र साध्य दुवै बन्छ। अनि नेपाल ‘रामराज्य’ मा परिणत हुँदै नयाँ–पुराना दल र सबै नेपालीको हित हुनेछ ।
प्रतिक्रिया 4