+
+
Shares

११ महिनामै ३८ अर्बको धानचामल आयात

यो तथ्यांकले स्वदेशमै धान कुटेर चामल बनाउनु भन्दा विदेशबाटै तयारी चामल किन्ने प्रवृत्ति बढेको देखाउँछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले चालु आर्थिक वर्षको ११ महिनामा ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ ।
  • गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्ष धानचामलको आयात परिमाण र बाहिरिने रकम दुवैमा सामान्य गिरावट आएको छ ।
  • स्वदेशमा कच्चा धानको आयात घटे पनि तयारी बासमती र अन्य चामलको आयात भने गत वर्षभन्दा बढेको भन्सार विभागले जनाएको छ ।

८ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो ।

गत आव २०८१/८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात परिमाण र बाहिरिने रकम दुवैमा सामान्य गिरावट आएको देखिन्छ ।

गत आव ११ महिनामा ३८ अर्ब ९४ करोड २८ लाख बराबरको ७ लाख ५३ हजार ३ सय ५ टन धानचामल नेपाल भित्रिएको थियो ।

त्यस्तै सोही अवधिमा १९ अर्ब ९९ करोड ९ लाखभन्दा बढी मूल्यको ५ लाख २१ हजार २ सय ६९ टन कच्चा धान आयात भएको थियो ।

तर, चालु आव भने यो परिमाण घटेर ४ लाख ६१ हजार १ सय ८ टनमा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ बाहिरिएको छ ।

कच्चा धान आयात घटे पनि धानको बिउ आयात भने केही बढेको छ । गत वर्ष १ अर्ब १६ करोड ६२ लाख बराबरको २ हजार ५ सय ७० टन बिउ आयात भएकोमा यस वर्ष १ अर्ब २९ करोड ९४ लाख बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात भएको छ ।

तथ्यांक अनुसार बासमती चामल आयात गत वर्षको ७ अर्ब २६ करोड ८४ लाख रुपैयाँ (६६ हजार ३ सय ९७ टन) बाट वृद्धि भई चालु आव ७ अर्ब ८६ करोड ३१ लाख (६७ हजार ६ सय ६७ टन) पुगेको छ ।

त्यसैगरी अन्य सामान्य चामल आयात अघिल्लो वर्ष १० अर्ब २३ करोड ५९ लाख (१ लाख ५६ हजार २ सय ६१ टन) रहेकोमा यस वर्ष बढेर ११ अर्ब ८ करोड ८४ लाख (१ लाख ७१ हजार ५४ टन) पुगेको छ ।

यो तथ्यांकले स्वदेशमै धान कुटेर चामल बनाउनु भन्दा विदेशबाटै तयारी चामल किन्ने प्रवृत्ति बढेको देखाउँछ ।

यस्तै कनिका र ब्राउन राइस आयात पनि वृद्धि भएको छ । गत वर्ष २८ करोड ५ लाख बराबर ६ हजार ८ सय २ टन कनिका आयात भएकोमा चालु वर्ष बढेर ३५ करोड १ लाख बराबरको ८ हजार ६ सय ८९ टन भित्रिएको छ । त्यस्तै ब्राउन राइस आयात पनि ४.३५ टनबाट बढेर ७.०७ टन पुगेको छ ।

गत आव ११ महिनामा यी वस्तु आयातबाट सरकारले ३ अर्ब ५३ करोड ६१ लाख राजस्व संकलन गरेको थियो । तर, चालु आव सोही अवधिमा यस्तो राजस्व घटेर २ अर्ब ६१ करोड ६२ लाखमा सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?