+
+
Shares

कटारी नगरपालिकाको बजेट : स्टार्टअप कर्जादेखि, नगर अस्पताल सञ्चालनसम्म

नगरपालिकाले डिजिटल सुशासनलाई पनि विशेष प्राथमिकतामा राखेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १५:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ४६ लाख पाँच हजार ८५६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
  • नगरपालिकाले युवा स्वरोजगारका लागि ‘स्टार्टअप अनुदान’ र स्वास्थ्य क्षेत्र सुधारअन्तर्गत पाँच शय्याको नगर अस्पताल निर्माणलाई बजेटमा प्राथमिकता दिएको छ ।
  • कटारी नगरपालिकाले इतिहासमै सबैभन्दा बढी ४ करोड ७७ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ ।

८ असार, उदयपुर । युवालाई उद्यमशीलतामा जोड्ने, स्वास्थ्य सेवालाई स्थानीयस्तरमै सुदृढ बनाउने र दुर्गम बस्तीलाई बाह्रै महिना सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।

आइतबार सम्पन्न १७औँ नगरसभामा नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले प्रस्तुत गरेको बजेटले परम्परागत पूर्वाधार निर्माणलाई मात्र होइन, आर्थिक अवसर सिर्जना, डिजिटल सुशासन र गुणस्तरीय सेवा प्रवाहलाई समेत प्राथमिकतामा राखेको छ।

नगरपालिकाले यो बजेटलाई नागरिकको जीवनस्तर सुधार, आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण र दिगो विकासको आधारका रूपमा प्रस्तुत गरेको छ।

नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपैयाँको बजेट सार्वजनिक गरिएको हो।

जसमा पुँजीगततर्फ १९ करोड ३९ लाख र चालूतर्फ २५ करोड ५१ लाख ४६ हजार ८५६ रुपैयाँ छ। जिल्लाका आठ स्थानीय तहमध्ये आगामी आर्थिक वर्षको बजेट ल्याउने कटारी पहिलो पालिका हो।

बजेटका प्रमुख स्रोतमा संघीय सरकारको ससर्त तथा वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी तथा राजस्व बाँडफाँट रहेका छन्।

नगरपालिकाले आफ्नो तर्फबाट चालू र पुँजीगत खर्चका लागि ४४ करोड ९० लाखभन्दा बढी विनियोजन गरेको छ भने संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान ४५ करोड १२ लाख रहेको छ।

यस वर्षको बजेटको सबैभन्दा चर्चित कार्यक्रम ‘स्टार्ट–अप अनुदान’ बनेको छ। नगरभित्र रहेका युवा तथा नवप्रवर्तनशील उद्यमीलाई प्रोत्साहन गर्न कार्यविधि बनाएर अनुदान उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ। यसले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवालाई स्थानीय स्तरमै अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य क्षेत्र पनि बजेटको केन्द्रमा परेको छ। हाल सञ्चालनमा रहेको आयुर्वेद सेवालाई स्तरोन्नति गरी आयुर्वेद अस्पतालका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। त्यस्तै वडा नं. ११ गहुँबारीमा पाँच शैय्याको कटारी नगर अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरिने भएको छ। यसले सामान्य स्वास्थ्य सेवाका लागि जिल्लाबाहिर धाउनुपर्ने बाध्यता घटाउने विश्वास गरिएको छ।

पूर्वाधार विकासतर्फ महाभारत क्षेत्रका वडा नं. ९, १० र १३ लाई वर्षभरि यातायात पहुँचमा ल्याउने गरी करिब तीन करोड रुपैयाँको सडक योजना अघि बढाइएको छ। कटारी बहुउद्देश्यीय पार्क सम्पन्न गर्ने, बसपार्कलाई आधुनिक टर्मिनलका रूपमा विस्तार गर्ने तथा अधुरा वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने योजनाले नगरको भौतिक विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

नगरपालिकाले डिजिटल सुशासनलाई पनि विशेष प्राथमिकतामा राखेको छ। सूचना प्रविधिको विस्तारमार्फत सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने योजना बजेटमा समेटिएको छ।

अभिलेख व्यवस्थापन, कर्मचारी क्षमता विकास तथा जिम्मेवारी स्पष्टिकरणमार्फत संस्थागत सुधारलाई पनि निरन्तरता दिइने भएको छ।

गत वर्षका उपलब्धिलाई निरन्तरता दिने क्रममा सडक स्तरोन्नति, सिँचाइ कुलो निर्माण, विद्यालय भवन निर्माण, वैकल्पिक ऊर्जा प्रवर्द्धन, खानेपानी योजना तथा नदी नियन्त्रणका कार्यक्रमलाई समेत विस्तार गरिने भएको छ।

नगर सभामा बोल्दै प्रमुख प्रशासकिय अधिकृत राजन थापाले कटारी नगरपालिकाले इतिहासमै सबैभन्दा बढी ४ करोड ७७ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको उल्लेख गर्दै आगामी दिनमा यो क्षमता अझ बढ्ने विश्वास व्यक्त गरे।

संघीय र प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँट तथा आन्तरिक आम्दानीलाई मुख्य स्रोतका रूपमा आधार बनाइएको यो बजेटले कटारीलाई पूर्वाधारमै सीमित विकासबाट सेवा, सुशासन र उत्पादनमुखी अर्थतन्त्रतर्फ उन्मुख गर्न मद्दत मिल्ने बजेटमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?