+

मेस्सी कि रोनाल्डो : राजनीतिक विचारधारा र स्वभावले पनि गर्छ निर्धारण

२०८३ असार  ८ गते १९:०२ २०८३ असार ८ गते १९:०२

सोसल मिडियामा छोटा भिडियो तथा छोटा समाचारहरू बढी हेर्ने उत्तरदाताले रोनाल्डोलाई प्राथमिकतामा राखे ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगापुरको नान्याङ टेक्नोलोजिकल विश्वविद्यालयको सर्वेक्षण अनुसार लियोनल मेस्सीका समर्थकहरू उदारवादी र क्रिस्टियानो रोनाल्डोका समर्थकहरू बढी रूढिवादी विचारका पाइएका छन्।

अहिले उत्तर अमेरिकामा फुटबलको महामेला चलिरहेको छ– फिफा विश्वकप २०२६ । अनि सबैभन्दा चर्चाको शिखरमा छन्– विश्वका दुई महान फुटबलर लियोनल मेस्सीर क्रिस्टियानो रोनाल्डो।

उमेरले करिब २ वर्षको अन्तरमा रहेका यी फुटबलर सम्भवत: अन्तिम विश्वकप खेलिरहेका छन्।

अहिले संसारभर सबैभन्दा बढी समर्थक पनि यिनै दुई खेलाडीका छन् । दुई दशकसम्म विश्व फुटबलमा राज गरेका मेस्सी र रोनाल्डोलाई एक–अर्काका प्रतिस्पर्धीको रूपमा पनि हेरिन्छ । फुटबलको दुनियाँमा को महान र कसको उपलब्धि धेरै भनेर समर्थकबीच चर्चा, बहस र घोचपेच निकै हुने गर्छ।

यस्तै बहसका बीच मेस्सी र रोनाल्डोका समर्थकको राजनीतिक दृष्टिकोण तथा व्यक्तिगत स्वभावको विषयमा गरिएको सर्वेक्षण सार्वजनिक गरिएको छ।

जसमा मेस्सीका समर्थकले प्रगतिशिल तथा उदारवादी विचार राख्ने र रोनाल्डोका समर्थकहरू बढी कट्टर तथा रूढिवादी विचारका पक्षपाती हुने निष्कर्ष निकालिएको छ।

यो नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी (एनटीयू), सिंगापुरले सर्वेक्षण गरेको हो । एनटीयूका सूचना तथा सञ्चार विषयका एसोसिएट प्रोफेसर सैफुद्दीन अहमदले यस अध्ययनको नेतृत्व गरेका थिए ।

यस अध्ययनमा २६ देशका १० हजार भन्दा बढी उत्तरदाताहरूको अनलाइन सर्वेक्षण गरिएको थियो । आफूलाई बढी उदारवादी भनेर पहिचान गर्ने व्यक्तिहरूले मेस्सीप्रति झुकाव राखेका थिए भने बढी रूढिवादी भनेर पहिचान गर्नेहरूले रोनाल्डोतर्फ झुकाव देखाए ।

यो प्रवृत्ति युवा उत्तरदातामा धेरै रहेको अध्ययनले देखाएको छ ।

११ देशका उत्तरदाताहरूले औषतमा रोनाल्डोलाई बढी समर्थन देखाए । यसमा सिंगापुर पनि समावेश छ । ८ देशका उत्तरदाताहरूले मेस्सीलाई धेरै समर्थन गरे । बाँकी ७ देशका उत्तरदाताले भने दुवैमा स्पष्ट रूपमा प्राथमिकता देखाएनन् ।

मेस्सीर रोनाल्डोले सार्वजनिक रूपमा अगल व्यक्तित्व प्रस्तुत गर्ने गरेको एसोसिएट प्रोफेसर सैफुद्दीन बताउँछन् ।

‘मेस्सी र रोनाल्डोले स्पष्ट रूपमा फरक सार्वजनिक व्यक्तित्व प्रस्तुत गर्छन् । मेस्सी सामान्यतया शान्त, टोली-उन्मुख छविसँग सम्बन्धित छन्, जबकि रोनाल्डो आफ्नो महत्वाकांक्षा खुला रूपमा व्यक्त गर्ने र व्यक्तिगत उपलब्धिमा ध्यान दिनका लागि परिचित छन् ।’

आफ्नो स्वभाव तथा मूल्य, मान्यतासँग मिल्दो खेलाडीप्रति व्यक्तिहरू बढी आकर्षित हुन सक्छन् भन्ने निष्कर्ष उनको छ ।

उनका अनुसार राजनीतिक पहिचान र सांस्कृतिक प्राथमिकताहरू बीचको खेलाडीलाई गर्ने समर्थनसँगको सम्बन्ध अमेरिकामा सबैभन्दा व्यापक रूपमा अध्ययन गरिएको सैफुद्दीनले बताएका छन् ।

तर सर्वेक्षणका निष्कर्षहरूले यो ढाँचा अमेरिकी सन्दर्भमा मात्र सीमित नहुन सक्छ भन्ने सुझाव दिएको उनको दावी छ ।

‘तिनीहरूले राजनीतिक पहिचान कसरी विभिन्न समाजहरूमा लोकप्रिय संस्कृति र दैनिक छनौटहरूसँग बढ्दो रूपमा मिल्न सक्छ भनेर जाँच गर्ने सुरुवात बिन्दु प्रदान गर्छन्’ उनले भने।

अन्य कारक

अनुसन्धानकर्ताहरूले अन्य व्यक्तिगत विशेषतासँग जोडेर पनि खेलाडीलाई दिइने प्राथमिकताहरू त्यो सँग कत्तिको सम्बन्धित छन् भनेर जाँच गरेको थियो । जसअनुसार सोसल मिडियामा छोटा भिडियो तथा छोटा समाचारहरू बढी हेर्ने उत्तरदाताले रोनाल्डोलाई प्राथमिकतामा राखे ।

सोसल मिडियामा रोनाल्डोको उपस्थिति बलियो छ । छोटा भिडियो तथा समाचारहरू हेर्ने व्यक्ति रोनाल्डोको व्यक्तित्वसँग बढी साक्षात्कार हुने भएकाले पनि यस खालको धारणा बनेको तर्क अनुसन्धानकर्ताहरूको छ ।

उच्च आत्मसम्मान भएका उत्तरदाताहरूले पनि रोनाल्डोलाई समर्थन गर्ने सम्भावना बढी थियो । उच्च आत्मसम्मान भएका व्यक्तिहरू महत्वाकांक्षी र प्रभावशाली सार्वजनिक व्यक्तित्वहरूतर्फ बढी झुकाव राख्न सक्छन् भन्ने दृष्टिकोण यसमा दिइएको छ ।

‘उच्च आत्मसम्मान भएका व्यक्तिहरूले उत्कृष्टता, आत्मविश्वास र उपलब्धिलाई मूर्त रूप दिने व्यक्तितर्फ आकर्षित हुन सक्छन्’ एसोसिएट प्रोफेसर सैफुद्दीन भन्छन्, ‘किनकी यी गुणहरू उनीहरूले आफैंभित्र पनि देखिरहेका हुन्छन् ।’

देशअनुसार प्राथमिक 

मेस्सीले अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, क्यानडा, फिनल्याण्ड, स्पेन, नर्वे र दक्षिण कोरियामा बलियो मूल्यांकन प्राप्त गरे ।

दक्षिण कोरियाले अर्जेन्टिना भन्दा पनि अगाडि बढेर मेस्सीका लागि सबैभन्दा बलियो प्राथमिकताको मूल्यांकन अंक दियो । यहाँ मेसीको तुलनामा रोनाल्डोले निकै कम मूल्यांकन पाए । मूल्यांकनका लागि तोकिएको उच्चतम ७ अंकमा यहाँ रोनाल्डोले औसतमा ४ भन्दा कम अंक पाए । रोनाल्डोलाई यति कम मूल्यांकन दिने देश कोरिया मात्रै रह्यो ।

कोरियाका समर्थक‍ले रोनाल्डोलाई यति कम मूल्यांकन गर्नुमा २०१९ मा सियोलमा भएको घटना कारक रहेको अनुसन्धानकर्ताहरूको आँकलन छ ।

रोनाल्डो इटालियन क्लब युभेन्टसमा रहेका बेला २०१९ जुलाइमा युभेन्टसले सियोल भ्रमण गरेको थिय । उक्त समय कोरियाली क्लब के लिग अल-स्टार्ससँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यहाँ रोनाल्डोको खेल हेर्न पाउने अपेक्षा कोरियाली समर्थकहरूको थियो । तर रोनाल्डोले उक्त खेल खेलनन् । त्यसमा कोरियाली फुटबलप्रेमीहरू निकै असन्तुष्टि भएका थिए ।

यसमा फूटबल प्रशंसकहरूले खेल आयोजकविरुद्ध क्षतिपूर्ति माग्दै मुद्दा समेत हालेका थिए ।

उत्तर अफ्रिका, मध्य पूर्व र दक्षिणपूर्व एशियाका धेरै देशहरूमा रोनाल्डोले बलियो औसत मूल्यांकन पाए । मेक्सिको, पोर्चुगल, इन्डोनेसिया, भारत, टर्की, चीन र नाइजेरिया जस्ता देशहरू रोनाल्डोले औषत बढी मूल्यांकन पाए ।

अनुसन्धानकर्ताहरूले देशको फिफा वरीयता र यसको उत्तरदाताहरूको समग्र खेलाडी प्राथमिकता बीच कुनै सम्बन्ध फेला पारेनन् ।

राजनीतिक विचारधारा र खेलाडी प्राथमिकता बीचको सम्बन्ध उमेरसँगै किन फरक हुन्छ भनेर थप अनुसन्धान गर्ने योजना अनुसन्धानकर्ताहरूले बनाएका छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६ मेस्सी रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय